सेयर
काठमाडौं (रासस)
मुलुकका विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् ।
यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताए ।
यससँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना सङ्क्रमित भेटिएका थिए ।
सहप्रवक्ता डा अधिकारीका अनुसार सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ३३ जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्किसकेका छन् । सहप्रवक्ता डा अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको बताए ।
‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उनले भने । ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका हुन् ।” उनले धमाधम सङ्क्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताए । मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ ।
shere this