–प्रसंशा घिमिरे
भनिन्छ नारी सृष्टिकर्ता हुन्, धर्ती हुन्, देवी हुन् । नारीलाई दिईने उपमाहरु राम्रै भएपनि व्यवहार किन सम्मानित हुन सक्दैन् ? नारी भएर जन्मिएकै कारण पछुताउनुपर्ने अनि नारी भएकै कारण अस्तित्व लिलाम गर्नुपर्ने ?
बन्द कोठा होस् वा खुला मैदान महिलालाई उपभोगको साधन बनाएर आवश्यकता पुरा गर्ने साधन बनाएर अस्तित्व लिलाम हुँदासम्म महिला महिला भएकै कारण आँशु पिएर एक्लै गुम्सिनुपर्ने । नारी पुरुष बिनाको सृष्टी कल्पना पनि गर्न सकिँदैन । यसो भन्दैमा पुरुषको दास बनेर महिलाले अस्तित्व नै गुमाउनुपर्ने किन ?
महिला भएकै कारण स्वतन्त्र हुन नपाउने ? आफ्नो शरिरमाथी के आफ्नो अधिकार हुँदैन ? महिलाको शरिरमा पुरुषको अधिकार पुरुषको शक्ति हावी ? २१ औं शताब्दीको समानता र समताको युगमा यी कुरा अलि नसुहाउने है ? तर अहिले पनि घर अफिस सार्वजनिक स्थान सार्वजनीक यातायात सबै सबैमा महिलामाथी यस्तै व्यवहारहरु त भैरहेका छन् ।
महिलालाई उपभोगको साधन बनाउने पुरुषले एउटीलाई मात्र धोका दिएको हुँदैन् । घरमा आमाको ममता दिदीबहिनीको भरोषा साथीहरुको सम्मान र श्रीमतीको विस्वासमाथी खेलीरहेको हुन्छ ? घरमा श्रीमतीप्रति गैरजिम्मेवार भएर अरु महिलामाथी कुदृष्टी लगाउने श्रीमानलाई भने श्रीमतीले आदर गर्नुपर्ने, भनेको मान्नुपर्ने उसका लागि सधैं तयार हुनुपर्ने ? उसभित्रको कुण्ठा पिडा र वेदना लुकाएर बाँच्नुपर्ने ? हाम्रो सामाजिक संरचना किन यस्तो ?पुरुषको जीवन र नारीको जीवनमा यो विभेद यो चरम शोषण किन ? के महिलालाई अब पनि आवश्कयता पुरा गर्ने साधन शारिरिक भोगको साधनमात्रै बनाउने ?
स्भाविमानसँग बाँच्न खोज्ने महिलालाई कहिले अवसरका नाममा कहिले आफन्तका नाममा कहिले कमजोर छस् भनेर किन उपभोग गरिन्छ ? किन कमजोर पारिन्छ नारीलाई ? के साँच्चै नारी कमजोर हुन्छन् ? हामी नारी के बलियो हुने हो भने यो विभेदका विरुद्ध यो शोषणका विरुद्ध लड्न सकिदैन र ?
अस्मिता लिलाम होईन अस्मिताको रक्षार्थ आफु स्वाभिमान भएर बाँच्नकै लागी म नारी भएकै कारण कसैको खुट्टा छोएर होईन क्षमताले देखाउन सकुँ । अब त ती पुरुषहरुका विरुद्ध बोल्न सकुँ लड्न सकुँ जसले नारीलाई उपभोगको साधन मात्र ठानिरहेका छन् । जसले नारीको शरिरसँग अस्मिता सँग स्वाभिमानसँग खेलिरहेका छन् उनीहरुलाई सबक सिकाउनु छ ।
म सक्छु मेरो अस्मिता जोगाउन ।
मेरो स्वाभिमान जोगाउन ।
मेरो शरिर मेरो अधिकार ।