– अनिल शर्मा
सहिद भरतराज ढुंगानाको व्यक्तित्व र कृतित्वको चर्चा भइरहेको थियो । त्यसैबिच नारायण नेपालले “पोखर सरको छोरीले अनिल अंकल भनेको को हो ? भेट्न सकिन्छ ? भनेकी छन् । भेट्न सकिन्छ ?” भनेका थिए । नेपालको त्यो सूचनासँगै एकाएक २०५५÷०५८ सालतिर पुगेको थिएँ । ठिमीका लागकू, नगदेश, चित्रपुर, सुडाल, च्यामासिंह गल्ली, चोक, डबलीतिर पुगेँ । जनताको रोपाईं गरेको, गरिब विद्यार्थीहरूलाई कोचिङको व्यवस्था गरेको अभियानहरू सबै सबै भर्खरैजस्तो लाग्यो । तर बैकुण्ठ श्रेष्ठ, पोखर सर, भक्तपुरका सेक्रेटरी मिलन नेपाली सत्यनारायण, रेनुका दुलाल सबै सबै अनुहारहरू ताजा बनेर आए । भरतप्रसाद ढुंगानाको व्यक्तित्व र कृतित्वको चर्चा समारोहमा छोरी सुजितासँग भेट्ने तीव्र इच्छा लिएर कार्यक्रम स्थलमा पुगेको थिएँ, तर त्यो दिन भेट्न सकिएन ।

जनवादी विवाहको क्रममा क.पोखरराज र क.रक्तिमा
चैत महिनाको अन्तिमतिरको एक दिन । डिल्लीबजार पिपलबोट नजिकको रामेछाप चिया पसल थियो । पसलको नाम पनि झापाली कलाकार तथा कवि अरापले राखिदिएका । चियाभन्दा आतिथ्य मिठो लाग्यो । समय आफैँ स्मृति बिम्ब बन्दोरहेछ । इतिहास बनेर ठडिँदो रहेछ । स्मृति र इतिहास सबै सबै लेखिन्नन् । अशोक, अरापसहित चिया तान्दै गफिँदै थियौँ । त्यस्तो अवसर सत्ताले दुई वर्षदेखि खोसेको थियो । त्यसैबीच नारायणसँगै एउटी किशोरी आएको देखेँ । चिनजान भयो । पोखर सर, रक्तिमा र साथीहरू, पेचिलो समय र आजको कोठीवालहरूले नियन्त्रण गरेको देशको राजनीतिले उद्धेलित थिएँ । विपिन भण्डारी, कौशिल्या पोखरेल, सुचेन्द्र, निश्चल सबै सबै छोरी सुजितासँगै आएझैँ लाग्यो । के भनेर हामीलाई हिँडायौ ? के गरिरहेका छौ ? सोधेझैँ लाग्यो । म धेरै बोल्न सकिरहेको थिइनँ । सुजिता नारी आकृतिकी तर काटीकुटी पोखरराज सरजस्तै । २०५८ को सङ्कटकालभन्दा अगाडि म भक्तपुरबाट ललितपुर जिल्लाको इन्चार्ज भएर गएको थिएँ । पोखर सर बेपत्ता भएपछि २०५९ मा क. रक्तिमालाई भेट्न उहाँको कोठामा गएको थिएँ ।

बाल्यकालमा सुजिता
सुजिता काखमा थिइन् । रातो नानीलाई तेल मालिस गरिरहेकै बेला पुगेको थिएँ । हामीहरूको टाउकोको मुल्य तोकेका थिए नराधमहरूले, पूर्णबहादुर र शेरबहादुरहरूले । शेरबहादुरको संकटकालविरुद्ध उभिएका माधवकुमार नेपाल काठमाडौँस्थित भारतीय राजदुतावासमा भेटघाट गरेर फर्केपछि संकटकालरूपी फाँसीवादको पक्षमा उभिएका थिए । सुझाव, गुनासा र परिस्थितिको विषयमा छलफल गरेर फर्किएँ । तत्काल सकेको छलफल र सहयोग गरेँ । माथिल्लो समितिमा ‘रिपोर्ट’ गरेँ । तर त्यसको एक वर्ष जतिमै म विहारको पटनामा गिरफ्तार भएँ । पोखर सर गिरफ्तार भएपछि क. रक्तिमा माछापोखरीस्थित दाजु–भाउजुको घरमा छोरी सुजितालाई छोडेर नुवाकोट फर्कनुभयो । उतै उहाँ पनि सहिद हुनुभयो । जेलमा नै मैले त्यो दुःखद खबर सुन्नुपर्यो ।

लेखक अनिल शर्मासँग सुजिता
क. रक्तिमा भक्तपुर जिल्ला पार्टी सदस्य र महिला सङ्गठनकी अध्यक्ष हुुनुहुन्थ्यो । त्यसबेला केही दुष्ट तथा गैरसंवेदनशील मान्छेहरूले पोखर सरको विषयमा नकारात्मक टिप्पणी गरेका थिए । “मेरो श्रीमान् सहिद भएको सुन्न तयार छु । तर आत्मसमर्पण गरेको सुन्न सक्दिनँ । उहाँ त्यस्तो कायर मान्छे पनि होजस्तो लागेको छैन” यसो भन्दा उहाँको आँखाबाट आँशु झर्दै थिए । ‘सुत्केरी आमा, काखमा रातो नानी, भूमिगत अवस्था, बन्दी जीवनसाथी, बेपत्ता अवस्था, आँखाभरी आँशु’ त्यो क्षण सम्झँदा अहिले पनि सास रोकिएझैँ हुन्छ ।
२०५८ सालको अन्तिमतिर भएको नेपाल बन्दको प्रचारको लागि भक्तपुरको पर्चा पोस्टर ललितपुर पठाइएको थियो । त्यही पर्चा लिएर फर्किंदा उहाँ गिरफ्तार भएपछि बेपत्ता हुनुभएको थियो । केही महिनापछि चाँगुनारायणमा दोहोरो भीडन्तकोे नाममा शाही सेनाले सामुहिक हत्याकाण्ड मच्यायो । राती गोली चलेको स्थानीयले सुनेका थिए । सोही सामुहिक हत्याकाण्डमा पोखर सरसमेतको हत्या भएको आशंका भयो । तर राज्यले आजसम्म पनि जिम्मा लिएको छैन । काँग्रेसी नेता कृष्णप्रसाद भट्टराईले एउटा प्रसंगमा ‘दे आर अलरेडी किल्ड’ भनेका थिए ।

हजुरआमाको काखमा सुजिता साथमा क.रक्तिमा
सल्यानबाट काठमाडौँ आएर अमृत साइन्स कलेजमा भर्ना भएका पोखर सर बिचैमा सो कलेज छोडेर भक्तपुर गठ्ठाघरस्थित सानो ठिमी बहुमुखी क्याम्पसमा भर्ना हुनुभएको थियो । त्यही क्याम्पसलाई आधार बनाएर हामीले भक्तपुरमा जनयुद्धको धारालाई विस्तार गर्ने प्रयास गरेका थियौँ । सङ्घर्षको कार्यक्रममा मूलतः सानोठिमी क्याम्पस र सहयोगी भूमिकामा ठिमी र थोरी गाउँहरू मात्र थिए । सङ्गठन विस्तार गर्न पोखर सरले थिमीमा ‘कोचिङ सेन्टर’ चलाउनुभएको थियो । २०५४ जेठ ७ गते अखिल (क्रान्तिकारी) भक्तपुरको अध्यक्ष भएको बेला पनि पोखर सर गिरफ्तार हुनुभएको थियो । उहाँसँग एकजना लेखक पनि हुनुहुन्थ्यो । २०५८ चैत २६ गते पोखर सर ललितपुर–काठमाडौँ जोड्ने मनोहरा पुल आसपासबाट गिरफ्तार भएको अनुमान थियो । तर एकिनसाथ भन्न गाह्रो थियो ।
मसँग भेट्न आउँदा पनि छोरी सुजिताको हातमा ‘त्रिशुली आवाज मासिक’ थियो । २०७० मंसिरको सो अखबारमा ‘कहाँ छन् पोखरराज बुढाथोकी ?’ शीर्षकमा लेख थियो मेरो । राजनीति र जनयुद्धका धेरै छलफल भए । “बाबा आमाको आदर्श छोड्नु भएन । तर कुनै पार्टीमा छैन” सुजिताको भनाई थियो । जनयुद्ध र माओवादी विद्रोहका उतारचढावका कुरा भए । ‘शान्तिपूर्ण रूपले तपाईंहरूले भनेको व्यवस्था आउँदैन ?’ उनको भनाई थियो । ‘सुधारवादी तरिकाबाट क्रान्तिकारी परिणामको अपेक्षा’ उनमा थियो । जसरी आम जनता सोच्ने गर्छन् । संसोधनवाद हुर्कने जमिन त्यही हुन्छ । त्यस विषयमा पनि छलफल भयो । हामी अबेर छुट्टियौँ । तर मन भने भक्तपुरका गल्ली, चोकतिरै फन्को मारिरहेको थियो ।
२०७८ जेठ ३