लकडाउनको समयमा पनि भारतबाट धमाधम तरकारी भित्रिने क्रम नरोकिएपछि नेपाली तरकारीले बजार पाउन सकेको छैन् । भारतबाट विषादीयुक्त तरकारी भित्रने क्रम नरोकिएपछि नेपाली अर्गानिक तरकारीले समेत बजार नपाएको हो ।
नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् ।
लकडाउन सुरु भएपछि नेपालगन्जमा भारतबाट पाँच करोडको तरकारी आयात भएको समाचार आाजको नयाँ पत्रिका दैनिकमा छ । व्यापारीले स्थानीय किसानको तरकारी उठाउन मानेका छैनन् । त्यसैले किसानको तरकारी खेतमै सुकेको छ । नेपालगन्ज उपमहानगर–१६ जयसपुरका मुनिर अहमद राहिनको करिब पाँच सय क्विन्टल बन्दागोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भइसकेको छ ।
लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन् ।
नेपाली तरकारी बजारको आधा तरकारी भारतबाट मात्र आउने गर्छ । गत फागुनमा मात्र पनि कुल खपतको ४८.२७ प्रतिशत तरकारी भारतबाट आयात भएको थियो । लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।
चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए ।
चालू आर्थिक वर्षको नौ महिनामा अर्थात् चैत मसान्तसम्म मुलुकमा कुल २३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । त्यसअघि फागुनसम्ममा २० अर्ब ५८ करोड १३ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
सामान्य अवस्थामा देशभर दैनिक करिब १७ सय मेट्रिक टन तरकारी आयात हुने गरेको छ । त्यसमध्ये आलु, प्याज मात्र एक हजार मेट्रिक टन आयात हुन्छ । भन्सार विभागको तथ्यांकले लकडाउनपछि तरकारीको आयात सामान्य मात्र घटेको देखाउँछ । ११ चैतमा लकडाउन सुरु भएयता २० वैशाखसम्म ५३ हजार पाँच सय ६९ मेट्रिक टन तरकारी आयात भएको छ । यो हिसाबले अहिले पनि दैनिक औसत एक हजार तीन सय ४० मेट्रिक टन तरकारी आयात भइरहेको छ ।
व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो मान्ने गरेका छन् । काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुग्ने तरकारी संकलनका लागि व्यवसायीले निश्चित ‘च्यानल’ प्रयोग गर्छन् । पहिले नै तय भएका ‘च्यानल’ भत्किएका छन् भने नयाँ ‘च्यानल’ बनेका छैनन् । त्यसैले विभिन्न जिल्लामा उत्पादित तरकारी बजारसम्म आउन सकेको छैन ।
चितवनको किसानले उत्पादन गर्ने तरकारी भरतपुरको तरकारी तथा फलफूल बजारमा जान्छ । अहिले सो बजार बन्द छ, तर त्यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी काठमाडौं ल्याउन कुनै पहल भएको छैन ।
राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले थोक मात्र कारोबार भइरहेको छ । भिडभाड कम गर्न महानगरपालिकासँगको समन्वयमा खुद्राको पसल अन्यत्र सारिएको छ । यसले आपूर्तिमा झन् समस्या भएको व्यवसायीको भनाइ छ ।
रुपैडिया, सुनौली, रक्सौल र जोगबनी नाका मात्र होइन, महोत्तरीको जलेश्वर भन्सारमार्फत पनि भारतीय तरकारीका ट्रकहरू लाइन लागेर आइरहेका छन् ।
लकडाउन भएयताका ४२ दिनमा नेपालगन्ज नाकाबाट पाँच करोड दुई लाखको भारतीय तरकारी नेपाल भित्रिएको छ । तर, नेपालगन्जआसपासकै गाउँका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन नसकेर नष्ट गर्न बाध्य छन् ।
नेपालगन्ज भन्सार कार्यालयका आइटी अफिसर पवन थापाका अनुसार लकडाउनयता १९ लाख ६४ हजार एक सय २५ किलो विभिन्न जातका भारतीय तरकारी भित्रिएको छ ।
काँकडभिट्टा नाका भने २६ चैतदेखि पूर्ण रूपमा ठप्प छ । भारतको पश्चिम बंगाल सरकारले नेपाल, बंगलादेश र भुटानसँगको नाका पूर्ण रूपमा ठप्प बनाउँदा यो नाकाबाट आउने सम्पूर्ण सामग्री रोकिएको छ ।
दुवै देशमा लकडाउन भए पनि २५ चैतसम्म पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलफूल, तरकारीलगायत अत्यावश्यक सामग्री भने आयात भइरहेको थियो ।
भारतबाट महोत्तरीमा आउने तरकारी लकडाउनमा निर्वाध आइरहेको छ । बरु, नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार पाएको छैन ।
सहकारी वा त्यस्तै अन्य माध्यमबाट आफ्नो उत्पादन सोझै उपभोक्तासम्म पुर्याउन सके मूल्य केही सस्तो पर्ने कृषकहरू बताउँछन् ।