काठमाडौँ ।
तत्कालीन नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको ऐतिहासिक दिनले सरकारी मान्यता पाएको छ । १० वर्षसम्म चलेको शसस्त्र युद्धपछि माओवादी शान्तिप्रक्रियामा आएको १७ औ वर्षमा जनयुद्ध दिवस सरकारी तवरबाटै मनाइएको हो । माओवादी र यसबाट तितरबितर भएका सम्बद्ध पार्टीहरुले २०५२ सालदेखि नै दिवस मनाउदै आएका थिए । शान्ति प्रक्रियापछि माओवादी नै पटक पटक सरकारको नेतृत्वमा पुगेपनि फागुन १ गतेलाई दिवसका रुपमा सरकारी बिदा दिइ मनाइएको थिएन ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
यसअघि माओवादीले मात्र मनाउदै आएको दिवस यसपटक भने राष्ट्रव्यापी रुपमा मनाइएको छ । देशका विभिन्न भागमा भएका कार्यक्रममा प्रधानमन्त्री, उपराष्ट्रपति र विभिन्न मन्त्रीहरुले सम्बोधन गरेका छन् ।