काठमाडौँ ।
पत्रकार आचारसंहिताको उल्लङ्घन गरी समाचार लेख्ने ७ वटा समाचार अनलाइनले सार्वजनिक रुपमा माफी मागेका छन् । अब ति अनलाइनलाई प्रेस काउन्सिल नेपालले आचारसंहिताको कक्षा दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख बिच भएको सहमती भन्दै समाचार छाप्ने अनलाइनले माफी मागेका हुन् । ति अनलाइनलाई काउन्सिलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।
२४ घण्टे स्पष्टिकरण सोधेपछि उज्यालो नेटवर्क, समाचार दैनिक, नेपाली गाथा, पर्दाफास, पिएलए खबर, कान्तिपथ र सुदर्शनखबर डटकमले प्रेस काउन्सिल नेपालमै आएर क्षमा मागेका हुन् । ती अनलाइनले भुलसुधार गरी, आगामी दिनमा आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै स्पष्टीकरण पेस गरेको काउन्सिलका सूचना अधिकारी (उपप्रशासकीय अधिकृत) रामशरण बोहराले जानकारी दिनुभयो । ‘अनअफिसियल ट्रान्सलेसन’ डकुमेन्टलाई आधार बनाई ‘प्रधानमन्त्री के.पी. ओली र रअबीच भएको सहमति…’ भनी उल्लेखित अनलाइनले समाचार प्रकाशित गरेका थिए ।
आगामी दिनमा ती समाचार अनलाइनमा प्रकाशित समाचारमा विशेष निगरानी राख्ने र अभिमुखीकरणमा सहभागी गराउने काउन्सिलको विज्ञप्तिमा उल्लेख छ । ‘प्रेस काउन्सिल नेपालले अब उप्रान्त पनि ती न्युज पोर्टलबाट सम्प्रेषण हुने सामग्रीको विशेष अनुगमन गर्ने छ’ सूचना अधिकारी बोहराद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा ७ वटै न्युज पोर्टलका सञ्चालक÷सम्पादकलाई छिट्टै नै पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने छ ।’
काउन्सिलले प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीबाट सम्पादकको घर तथा सञ्चारमाध्यम कार्यालय खानतलासी गरी धम्की दिएको तथा सोसम्बन्धमा पत्रकारसम्बन्ध विभिन्न सङ्घ÷संस्थाबाट विज्ञप्ति जारी भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारमाध्यमबाट सम्पे्रषित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा त्यसको निरुपण गर्ने निकाय प्रेस काउन्सिल नेपाल नै भएको भन्दै काउन्सिलले आचारसंहिता प्रतिकूलका यस्ता समाचार सामग्रीको अध्ययन, अनुसन्धान गर्नुका साथै पत्रकार आचारसंहिताको परिधिभित्र रही कारबाही गर्ने गरेको प्रष्ट पारेको छ ।
‘कहीँकतैबाट प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिनु संविधान, कानुन विपरीत हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन प्रेस काउन्सिल नेपाल सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र एवं मर्यादित पत्रकारिताकर्म गर्न र राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावजस्ता विषयहरूमा कलम चलाउँदा थप संवेदनशील भई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न विभिन्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी एवं सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।








































