– रामहरि रिमाल ‘बाजे’
अदालतलाई धन्यवाद त्यो दिन मात्र दिनुपर्ला जुनदिन ‘अ’नागरिकलाई टिभी च्यानल चलाउनेदेखि चुनाव लडाएर, गृहमन्त्री, उपप्रधानमन्त्री समेत बनाएर राज्यको नियमसमेत दुरुपयोग गराउने नालायक जागिरे सरकारका गृहमन्त्री र निर्वाचन आयुक्त समेतलाई त्यो पदको दुरुपयोग मुद्दामा हतकडी लगाएर सार्वजनिक गराउला । साहस देखाएर त्यो दिनमात्र अदालतलाई मन्दिर र न्यायाधीशलाई देवता मानेर पुजा हुनेछ ।
होइन भने, चितवनको २ नम्बर क्षेत्रको उपनिर्वाचनको मात्र होइन गत ४ गतेको अवैध चुनावको खर्चसमेत जोडेर तत्कालीन गृहमन्त्री र निर्वाचन आयुक्तबाटै असुलउपर गराएर राष्ट्रको ढुकुटीमा दाखिला गराएपछि मात्र देशवासीले ऐन, कानुन, अदालत, न्याय ज्युँदै छ भनेर विश्वास गर्दै न्यायमूर्तिहरूलाई राजा राम र सर्वोच्चलाई न्याय मन्दिर मानेर पुजा गर्नेछन् ।
दुःखका साथ भन्नुपर्छ, सर्वोच्चकै ढोकामा धर्ना बसेका न्यायकर्मीलाई एउटी अबला नारीले आफ्नै जुत्ता प्रहार गर्ने अवस्गा सिर्जना गराउने कारक तत्व को थियो ? यसको जवाफ दिनसक्ने कोही छ ?
अन्त्यमा, यो बहुअर्थ लाग्ने कोसेली पाएको संविधान सबैले बुझ्नै सक्दैनन् । जतिजना वकिल छन् । सबैले आफ्नै अर्थ लगाएर व्याख्या गर्छन् । त्यो सेक्सपियरको साहित्य हो र मनपरि अर्थ लगाउने ?
जब उम्मेदवार बनेर आउने व्यक्तिलाई उसको आधिकारिक प्रमाण नै नहेरेर चुनाव अगाडि नै उनको विपक्षमा दिएको उजुरीसमेत लत्याएर चुनावी हिरो बनाउने को को हो ? सबैको निजी सम्पत्ति रोक्का गरेर यो मुद्दामा जे जे हानी नोक्सानी फजुल कोट कचहरी भयो त्यो सबै अनैतिक सत्तासिनहरूबाटै ढुकुटी (राजश्व)मा दाखिला गराउने साहस गरेन र निरीहहरूलाई मात्र कथित ऐनले जेलनेल गरिरहने हो भने देशको सार्वभौमसत्ता के हुन्छ ? सत्ताधारी अभिभावकले कानुन मिच्ने सेवाग्राहीले जेलनेल, जरिवाना तिरिरहने ? यसकै लागि मुलुकमा यत्रा क्रान्ती आन्दोलन र विद्रोह भएको हो ? जनताले जवाफ खोज्ने बेला आएजस्तो छ ।