कोरोना महामारीसँगै नगरमा रगत अभाव भएपछि नवलपरासीको सुनवलमा रक्तदान कार्यक्रम गरिएको छ । कोरोना महामारीमा गरिएको लकडाउनका बिच सुनवल जेसिजले आयोजना गरेको कार्यक्रममा १४ जनाले रगत दान गरेका छन् ।
कोरोनाका कारण रगत संकलन कार्य ठप्प भइ अभाव देखिएपछि सुनवल जेसिजले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र सुनवल उपशाखाको प्राविधिक सहयोगमा रगत संकलन गरेको हो । सुनवल ४ रमवापुरस्थित रेडक्रस भवनमा भएको कार्यक्रममा सुनवल जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव पौडेलले संकटका बेला झनै जिम्मेवार हुनुपर्ने भएकाले नै तत्कालको अभाव टार्न रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।
रगत संकलनका क्रममा कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने, रेडक्रस सुनवल उपशाखाका सभापति गोपालप्रसाद शर्मा लामिछाने, सुनवल जेसीजका निवर्तमान अध्यक्ष उत्सव पौडेल, पूर्व अध्यक्षहरु लेखनाथ गौतम, चुडामणि गैरे, जीवन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
Recent Comments