रोजीना ढुंगाना
APU, Japan
मलाई थाहा छैन कि, मैले यो मनोवाद लेख्नुपर्ने थियो वा थिएन । तर म आज धेरै नै उकुस मुकुस भएको छु, छट्पटाएको छु, उत्तिकै निराश पनि छु । हुनत म जस्ता नेपाल बाहिर रहनुभएका धेरै विद्यार्थी निराश हुनुहुन्छ होला भन्ने लाग्छ। संसारका धेरै देशहरुले आज सङ्कटको घडीमा लकडाउन गर्दा जापान सरकारले त्यस्तो चासो देखाएको देखिएन । सायद धेरै जनाको मृत्यु नभएको भएर पनि होला । अनि त्यो टोकियो ओलम्पिक २०२० को दबाबको कारणले पनि होला । खैर त्यो म जान्दिनँ । केहीदिन अगाडी प्रधानमन्त्री आबेशानले प्रती परिवार दुईवटा मास्क वितरण गर्ने घोषणा गर्नुभयो जस्को कारण मुलुकमा केही तरंग उत्पन्न भएको थियो । जुन समयमा जापानमा चीन र कोरिया पछि कोरोना सङ्क्रमित भेटिन थाले सरकारले बिद्यालय र विश्वविद्यालयका सम्पुर्ण कार्यक्रम समारोहहरू जुन तरीकाले हुने गरेका थिए त्यो तरिकाले हुन बन्द गराएको थियो । तबसम्म मलाई ब्यक्तिगत रुपमा यो क्बारेन्टाईनवाला कुराको कुनै प्रभाब पारेको थिएन ।
जब कोरोनाको हल्ला सुरु हुन थालेको थियो, मैले टोइलेट पेपर, टिस्यु पेपर, किचेन पेपर, मास्क, केहि समयलाई पुग्दो गरि किनेर राखेको थिएँ । त्यसमाथी नेपालबाट आउँदा ल्याएका तिनओटा कपडाको मास्क बाकी नै थिए । जापानले प्रभावित क्षेत्र हेरेर कतिपय स्कुलहरु बन्द गरेको थियो तर मेरो भने सेमेस्टर ब्रेक चलिरहेको हुनाले पढाईमा असर हुन गएन । म हर्षित थिएँ ।
अन्तराष्ट्रिय उडानहरु देश हेरेर जापानले बन्द गर्न थाल्यो । मैले काम गर्ने क्षेत्र भनेको सर्भिस इन्डस्ट्रीज थियो जुन कोरोना सङ्क्रमणको लागि उच्च जोखिममा पर्ने गर्दछ । जापान आएको लगभग साढे तीन बर्ष भयो र आएदेखि नै काम सुरु गरेको ठाउँमा नै अहिलेसम्म काम गर्दैछु । जहाँ उच्च चापमा अन्र्तराष्ट्रिय पर्यटकहरु आउँछन् । त्यसमा पनि कोरियालीहरु बढि हुने गर्छन् । बिस्तारै आगन्तुकको अग्रीम बुकिङ घट्दै गएको थियो । एक हप्ता जसो त धेरैको काम काटिदियो । सायद पुरानो स्टाफ भएको हुनाले पनि हुनसक्छ मैले भने भाग्यवस काम पाईरहेँ । संसारभरी कोरोनाको त्रास बढ्दै थियो यसैको प्रभावले होला सायद मेरो मनमा पनि अब जापान सरकारले पक्कै लकडाउन गर्नेछ भन्ने लाएको थियो । तर अचम्म भन्नुपर्छ हाम्रो रिसोर्टमा घरेलु गेस्टको सङख्या ह्वात्तै बढेर आयो र काम पहिलाकै स्थितिमा फर्कियो, उस्तै व्यस्त ।
जापानीजमा (卒業旅行) ग्र्याजुएसन ट्रीप भन्ने हुँदोरहेछ । अनि युनिभर्सिटी र हाईस्कुलका ग्र्याजुयड बिद्यार्थी घुम्न निस्किने मौसम थियो । त्यसैले मेरो कामको चाप बढेको थियो । त्यति नै बेला नेपालमा एकजनामा सङ्क्रमण भेटियो । त्यसलगत्तै नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । भाई आफै पत्रकारिता क्षेत्रमा भएको हुँदा सरकारको घोषणापछिका पाँच मिनेटमा समाचार छापेर काठमाडौंबाट रातारात गाँउ गयो । बाइकमा ३ घन्टा यात्रा गर्दा भाइ घर पुग्यो यसपछि म बाहेक घरका सबै सदस्य एकै ठाउँ हुनुभयो । यता म भने एघार घन्टा काम गरेर कोठामा फर्किदै थिएँ ।
भोलीपल्टदेखि सुरु हुन थाले लकडाउन । अघिल्लो रात घरमा चाहिने सबै सरसामानहरु ममिले किनेर जम्मा गर्नुभएको रहेछ । आखिर बाँच्नु त पर्यो नै । भोलिपल्ट भयो, हजुरबुबा, हजुरआमा, फूपूहरु सबै जम्मा भएर फोनमा सबैजना बेग्रल्ती रुन थाल्नुभयो । यो सङ्कटको बेला परिवारसँगै हुन पाइएन भन्दै । भएकी एउटी नातिनि पनि कति डाँडापारी भई न त लिन जान सकिन्छ न त बोलाउन सकिन्छ भन्दै परिवारबाट बिरह पोखियो । टिभी हेर्यो रेडियो सुन्यो खाली यो देशमा यती मर्यो, त्यो देशमा त्यति मर्यो, भनेर मात्र सुन्न हेर्न सक्छन् । आखिर नपढेका परिवारलाई जपान कोरिया अमेरिका चाइना जे भने नि उस्तै लाग्दो हो । अझ नेपाल छिर्यो रे भन्ने खबरपछि त झन् चिन्ताको सिमा नै रहेन । हाम्रो परिवारले उहिले भोगेको थियो संकटकालको सन्त्रास । त्यो र यो बेला देखेर होला तीन बिस हिउँद पचाएकी मेरी हजुरआमा भन्नुहुन्थ्योः उहिल्यै सङ्कटकालको बेला त आयो आयो भन्थे सबै जना घरभित्र पस्थे । आर्मी एकातिरको बाटो भएर आउथ्यो तर्साउथ्यो जान्थ्यो । तर अहिले त के हो यो ? आयो आयो भन्छन् कसरी आयो ? कहाँबाट आयो ? के आयो ? कस्तो आयो ? केही देखिँदैन् तर टिभिले भने देखाको देखाई छ कि मान्छे मरेको मर्यै छन् । घरबाट निस्कन पनि दिँदैनन् ।
देशको राजनीति द्धन्दको अवस्थाले गर्दा हामी सानै हुँदादेखि नै बाबा ममि हामीदेखि टाढा बस्नुपर्यो । अनि म हजुरबुबा-हजुरआमाको रेखदेखमा हुर्किएँ । यसकारण पनि होला परिवारका अरु सदस्यभन्दा धेरै माया गर्नुहुन्छ हजुरबुबा आमाले मलाई । पोहोर साल बिदामा नेपाल गएर फर्किने बेला अर्को साल स्नातक सक्काएर आइहाल्छु नि आमा भनेको थिएँ । हो, आमा आज म घर आउने दिन गन्दै हुनुहुन्थ्यो होला । आमाले सुन्नुभएको रहेछ । कोरोना लाइसकेपछि उपचार नै छैन्, संसारमा औषधि नै बनेको छैन रे भन्ने थाहा पाएपछि पलपलमा भक्कानिनुहुन्छ रे । मेरो मनहरुमा स्नेहको छाल उठ्छ यो सात समुन्द्र पारीबाट कसरी सम्झाउँ म आमालाई ? के भनेर कसरी कुरा बुझाउँ र चाउरी परेको अनुहारमा एक फाँको मुस्कान सिर्जना गरौं ?
उता नेपालमा सबैले मेरो चिन्ता गरिरहनुभएको थियो । फेसबुक, इन्स्टाग्राममा साथिहरु लकडाउनका दोस्रो दिन र पाचौं दिन भन्दै पोस्ट्याउदै थिए । समाचारहरुले हात धोऔं, मान्छेको भिडभाडमा नजाऔं भनिरहेका थिए । तर म भने बिहान छ बजे उठेर पन्ध्र सय मान्छेहरुको हलमा गएर सर्भिस दिंदै थिएँ । कम्तिमा हजार जनासँग त आम्नेसाम्ने भएर अन्तरक्रिया गर्नुपर्ने स्थिती हुन्थ्यो । आफु बसेको प्रिफ़ेक्चरतिर एउटा पनि सङ्क्रमीत भेटिएको थिएन आजसम्म । अहिले काम पाएको बेला काम गरिएन भने भोलि सिफ्ट नपाइएला, जिवन गुजाराको चिन्ता बग्रेल्ति छन् जसोतसो मार्च अन्तिम सम्म काम गरियो भने एक महिना लकडाउन भएपनि आफुलाई व्यवस्थापन गरिन्छ भन्ने तुफानि सोचहरु मनमा कुदिँरहेका थिए । त्यही सोचियो र गरियो । घरमा चिन्तामाथी चिन्ता होला भनेर म घरमै सुतिरहेको छु भन्ने गर्थे ।
मलाई, घरको मेरो पिडा र कष्ट लुकाएर मभित्र दवाउने र परिवार हँसाउने सपनाहरुको भुत सवार थियो जस्तो कि मेरो बाबाको मनमा उम्रिएको समाज परिर्वतनको सपनाहरु बमबारुदको धुँवाका मुस्लोहरु भित्र देखेको सप्तरंगी इन्द्रेणी झैँ परिर्वतनकारी सपनाहरुजस्तै । म मेरो भित्रि मनमा भने जापान हो केही हुन्न भन्नेमा अलिक ढुक्क थिएँ । अप्रिल महिना जब सुरु भयो रिसोर्टमा पाहुनाहरु स्वात्तै घटे । तब म र म जस्ता सयौं पार्टटाइम स्टाफ़को लागी अनिश्चितकालको लागि काम नभएको सुचना दिइयो । रिसोर्ट बन्द भएको त छैन तरपनि आफ्ना पुर्णकालिन कर्मचारीलाई काम भएनि नभएनी तलब दिइराख्नुपर्ने भएकोले यसो गरिएको भन्ने सहजै बुझिन्छ । कामबाट छुट्न पर्दा हामी सबैको ब्यथा उस्तै थियो । तर मेरो सबै साथीभन्दा भिन्न बन्न पुग्यो अब आजका ब्यथा । साथीहरु अन्य ठाउँमा पनि काम गर्न जाने हुनाले उनिहरू खास रुपमा खाली बस्नु परेन । म त त्यहीँमात्र गर्ने हुनाले अब निकै मानसिक झन्झटमा गुज्रनुपर्ने रह्यो । यो तीन वर्षमा जापानले थाहै नपाई रोबोट जस्तै बनाई सकेको रहेछ, धेरैमा एक दिन भन्दा बढ़ी खाली बस्नै नसकीने । काम खोज्दै जाँउ भनेपनि अब दुइ-तिन महिनाको लागि के काम खोज्न जाने ? कैले सिक्ने ? बाहिर कोरोनाको उस्तै त्रास छ । घरबाट ननिस्कन त मलाई मात्र के को कोरोनाको चासो ? सबैले आ-आफ्नो काम धन्दा गरिरहेका छन्, हिँडडुल गरिरहेका छन्, सबै उस्तै त छ । उफ्फ !
घरमा बस्यो न्युज हेर्यो । फेसबुक इस्टाग्राम ट्वीटर, युटुब हेर्यो, नेपाल पुलिसले बाहिर निस्किनेलाई हानेको हेर्यो । पुलिसले बाइक कब्जा गरेको हेर्दा खत्रै लाग्यो । लण्डनमा अँकल सँग कुरा गरें चौबिसै घन्टा ब्यस्त हुने मान्छे घरको कुनामा गुम्सिनु भएको रहेछ । न्युयोर्कमा साथिहरुलाई कल गरेको अन्लाइन क्लास अटेन्ड गर्दै रहीछ रुमबाटै । यहीँ जापानका साथीहरुका इन्स्टाग्रामका स्टोरी हेर्छु साकुरामा रमाउदै गरेको भिडियो, हनामी, नोमिकाई, गोहानक़ाई गएका तस्बिरहरु छन् । मिल्ने साथिलाइ कल गर्यो仕事中!仕事中! भन्छ ! काममै पहिला जस्तै ब्यस्त छ ।
यता भने समाचारको हाहाकार सेलाउदै जाँदैछ भने वेबसाईटहरुमा डाटा हेर्यो, कोरोनाको विश्वव्यापी कहर बढ्दैछ । अमेरिकामा फैलिदैछ हजारौं मरेका खबर छन् तेस्रो विश्व युद्दको झल्को जस्तै लाग्छ समाचार हेर्दा । तर जापानमा बाहिर हेर्दा न लकडाउन घोषणा भएको छ न चहलपहल कमि नै, लाग्छ, के नै भएको छ र सबै उस्तै । म आफैँ जबर्जस्त लकडाउनमा परेकी छु यतिबेला ।
रेस्टुरेन्ट जाम बाहिर निस्किम एक नम्बरमा त्यहि कोरोनाको डर अर्को नम्बरमा पैसाको सत्यानास, एकदिन होईन दुईदिन होईन अनी कती महिना नै पुग्ने पो हो कि अत्तो पत्तो छैन् । घरमै बसुँ एकदिन टिक्न सकिन्न त्यो एक हप्ता कसरी टिक्नु ? ग्रोसरी सपिङ जाँउ सबै सामान छ, मार्केटमा केहिको अभाब छैन्, बाहिर गाडी बाइक सबै गुडेकै छ क्वारेन्टाइनमा केही छैन कसैलाइ देखिदैन् । सुनिदैन् म भने चाहेर नचाहेर जब्बरजस्ती क्वारेन्टाइनमा बस्न बाध्य भएकी छु ।
यो मनको कोलाहलमय शब्दचित्र उतार्दै गर्दा बाबाको सामाजिक सञ्जालमा आएको डायरीतिर नजर ठोकियो । एक श्री ५ महाराजको विरुद्ध बन्दुक बोकेको मेरा बा त फेरि महाराजको नाममा कविता लेख्दै थिए । नियालेर हेरेँ । मनमा चसक्क छोयो यी शब्दहरुले उफ !
…..“अझै केही दिन,
न त तिम्रो विकल्प छ
न त तिमी माथी भरोसा
मलाई त आजकल
कोरोना भन्दा पनी ढुलो डर
तिमि संग छ।”
राजाहरु ढालेर आएको नाफाको जीवनमा आफ्नै आखाँले समृद्धिको फुल फुलेको देख्न लागेको बेला मेरो बाबाले देखेको महाराज को होला ? राजा महाराज देख्ने बित्तिक्कै बा बिद्रोहको मशाल बाल्न दगुर्ने गरेका बानी परेको छ । आ ! होस् हुन त बा फेरि बिद्रोहको झिल्को देखेर फिलिली बत्तिन्न थालेजस्तो पनि लाग्ने हुन तर त्यो बालपनको त्रास छैन मेरो मनमा ।
यूनिभर्सिटीले दुई महिनाको लागि क्लासलाई अन्लाईन मार्फत सन्चालन गर्ने भनेको छ । त्यो पनि अबको दुई हप्ता पछिदेखि मात्र सुरु हुनेछ । मेरो युनिभर्सिटी (APU) मा ८५ भन्दा बढी देशका विद्यार्थीले अध्ययन गरीरहेका छन् । अहिले दुई महिना लामो सेमेस्टर ब्रेक छ लगभग धेरै आ-आफ्नो देशमा गएका छन् । कतिपय अरु देशको भ्रमणमा जाँदा अड्किएका छन् । जापानले अहिले स्थगित गरेको अन्तर्रा्ष्ट्रिय उडान सुचारु गर्नासाथ तिनिहरु फर्किने छ्न् । कोरोनाको स्थिती र त्यसले उत्पन्न गराएको त्रास कहाँसम्म पुग्छ त्यसलाई अहिल्यै केही भन्न सक्ने अवस्था रहेको छैन । त्यसमाथी पनि म जस्तै प्राय कति विद्यार्थीको लक्ष्य हुन्छ दुई महिना बिदाको बेला गर्न पाउने ४० घन्टा प्रतीहप्ताको काम गर्ने अनी चार महिना पढ़ाईंमा ध्यान दिने । अनि बिदामा काम गरेर बचेको पैसाले ट्युसन फि तिर्ने अपार्टमेन्ट भाडा तिर्ने इलेक्ट्रिसिटि ट्रास्पोटेन्सनको खर्च व्यवस्थापन गर्ने तर त्यो पनि अहिले काम गर्न नपाएसी सकिँदैन् ।
क्लास सुरु हुनेबित्तिकै कोर्स लोड बडिहाल्छः केसस्टडी, ग्रूपमिटिङ्ग, प्रेज़ेंटेशन, असाइन्मेण्टको भारले काम गर्ने कुरा त सोच्न नि सकिन्न । अझै दुई महिना अन्लाइन क्लास अरे घरमै बसेर । विश्व स्वास्थ संगठन (WHO) भन्छ घरमै बस, के यो विकासशिल देशका मध्यम वर्गीय परिवारका विद्यार्थीले कलेजको फि तिर्न सक्लान त ? होला मेरो छात्रवृत्ति, तपाई आफ्नो देशबाट तिर्न सक्ने हुनुहोला तर सबैको स्थिती यहि तहको हुन्छ र ? छात्रवृत्ति नै भएपनी खान, बस्न, बाँच्न चाहिँ परेन र ? प्रश्न जिवित नै छ । एक़ महिना रूममा बसेर केही क्रियटिभ काम त गरिएला, मैले एउटा आर्टिकल त लेखौँला तर साथी अर्को महिना सहनु पर्ने त्यो पीड़ा हुन्छ नि, त्यही के त बैंक ब्यालेन्स… राम्रैसँग बुझ्छु म । हुन त कोरोनाको त्रासले सृजना गरेको र हामीले आँकलन नगरेको कति विपद्को सामना गर्नुपर्ने छ जिन्दगीले ।