रतन भण्डारी
सुगौली सन्धिबारे दिग्भ्रमित ‘अध्येता’को अल्पज्ञान छचल्किँदा जनतामा गलत सूचना!? ‘होचो कदको मान्छे हुँ’, भन्दै यूट्युवतिर सुगौली सन्धिबारे बोल्दै आएका नापीका एकजना पूर्वकर्मचारी-अध्येता यतिबेला आम जनमानसमा गलत सूचना सम्प्रेषण गरेर भ्रम सिर्जना गरिरहेका छन् । सुगौली सन्धिमा हस्ताक्षर गर्ने को थिए ? र सुगौली कहाँ पर्छ ? भन्ने नै थाहा नभएका उनले सुगौली सन्धिमा गजराज मिश्रको हस्ताक्षर नै छैन मैले हेरेको छु भनिरहेका छन् । सुगौली भारतमा होइन, नेपालको मकवानपुरमा पर्छ भनिरहेका छन् । आफ्नो पुस्तकमा समेत सुगौली मकवानपुरमै पर्छ भनेर लेखेका छन् ।
भूगोलमा एमए गरेका भनिने यी अध्येताले सुगौली भारतमा नभइ नेपालको मकवानपुरमा पर्छ भनेर लेखे बोलेको देख्दा यिनले आर्जन गरेको भूगोल विद्या र प्रवचन दिने गरेको कथ्य इतिहासमाथि प्रश्न उठेको छ । जबकि यी यी विद्वानले भन्ने गरेझैँ सुगौली सन्धि मकवानपुरमा हस्ताक्षर भएको थिएन र होइन । साथै सुगौली पनि मकवानपुर र हेटौँडामा पर्दैन । सुगौली रक्सौलदेखि ५६ किमी दक्षिण, भारतको बिहारमा पर्छ । सुगौली बेतियादेखि २२ किमी पूर्व र मोतिहारिदेखि २३.२ किमी पश्चिममा रहेको छ ।
इष्ट इण्डिया कम्पनीद्वारा प्रस्तावित घोखाघडीपूर्ण सुगौली सन्धिमा नेपाल सरकारको पत्र लिएर सुगौली पुगेका गजराज मिश्र र टक्सारी चन्द्रशेखर उपाध्यायले सन् १८१५ डिसेम्बर २ का दिन सुगौली मै हस्ताक्षर गरेका थिए । चन्द्रशेखर उपाध्याय र गजराज मिश्रलाई सन्धिमा हस्ताक्षर गर्ने निशाद (अख्तियार) नहुँदा पनि उनीहरुले अँग्रेजद्वारा एकतर्फीरुपमा प्रस्तावित सन्धिमा हस्ताक्षर गरेका थिए । उक्त सन्धि अनुमोदनका लागि अँग्रेजले नेपाललाई समय सीमा तोकेको थियो । तर नेपालले मानेको थिएन । अनुमोदनका लागि सन्धि बोकेर गजराज मिश्र काठमाडौँ आएका थिए ।
तर, मुलुकको ठूलो हिस्सा गुमाउने गरी गजराज मिश्र र चन्द्रशेखर उपाध्यायद्वारा हस्ताक्षरित सन्धि मान्नुभन्दा नेपालले अँग्रेजसँग फेरि लड्ने निर्णय गरेको थियो । त्यसपछि इष्ट इण्डिया कम्पनी र नेपालबीच पुनः लडाइ भएको थियो । सन् १८१६ फेब्रुअरीमा २० हजार सेनालिएर अक्टरलोनी काठमाडौँ हान्न भिच्छाखोरी (अमलेखगञ्ज) पुगेका थिए । सन् १८१६ फेबु्रअरी २७ मा अँग्रेज सेना मकवानपुरगढी पुगेको थियो । त्यहाँ नेपाली सेना र अँग्रेज सेनाबीच लडाइँ हुँदा ८ शय नेपाली २ शय सेना हताहत भएका थिए । सोही बीचमा हरिहरपुरमा युद्ध भएको थियो । त्यसपछि नेपाल चन्द्रशेखर उपाध्याय र गजराज मिश्रद्वारा १८१५ डिसेम्बर १० का दिन सुगौलीमा हस्ताक्षरित सन्धि मान्न बाध्य भएको थियो र उक्त सन्धि १८१६ मार्च ४ का दिन गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दिउँसो २ः३० बजे मकवानपुर पुगी कम्पनी सरकारका प्रतिनिधिलाई त्यसअघि नै अर्थात १८१५ डिसेम्बर १० का दिन सुगौलीमा हस्ताक्षरित सन्धि बुझाएका थिए ।
यसरी बुझाइएको सन्धिमा पनि तत्कालीन राजाको लाल मोहर थिएन । सन्धिप्रति नेपालको असन्तुष्टि कायमै रहेकोले पछि १८१६ डिसेम्बर ८ मा सुगौली सन्धि पुनरवलोकन भइ राप्ती देखि मेचीसम्मको मुलुकको समथर भूभाग अँग्रेजले नेपाललाई फिर्ता गरेका थिए । तर उल्लिखित अध्येता भने हटौडा मकवानपुरमै उक्त सन्धिमा हस्ताक्षर भएको गलत अर्थ निकाली रहेका छन् र जनतालाई गलत सूचना सम्प्रेषण गरेर दिग्भ्रमित पारिरहेका छन् ।
ब्रिटिशहरुले नेपाल युद्धबारे लेखेका पुस्तकमा हेटौडा, सुगौली, बेतिया, मोतिहारी, बनारस, कानपुर, बरेली, मुरादावादलगायतका क्याम्प आफ्ना तालुकवाला निकाय र पदाधिकारीहरुलाई लेखेका पत्र संकलनसहित प्रकाशन गरेका छन् । तीमध्ये प्रमाणको रुपमा हेटौडा र सुगौली बाट लेखिएका दुईटा पत्रको पत्र अनि गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले फारसी (पर्सियन) भाषामा समेत रहेको सुगौली सन्धिमा गरेको हस्ताक्षर उनीहरुको छापसहित ।
होचो कदका अध्येताले भने गजराज मिश्रको यस हस्ताक्षरलाई हस्ताक्षर मानेका छैनन्, सुगौलीलाई सुगौली नमानेर मकवानपुरलाई सुगौली मानेका छन् ।
पदमा हुँदा यी अध्येता र यी अघिका अर्जुनबहादुर बस्नेतले सीमा स्तम्भ रिलोकेसन (स्थानान्तरण) गर्ने भनेर भारतसँग भएको संयुक्त सहमतिपत्रमा राष्ट्रविरुद्ध हस्ताक्षर गरेका छन् । त्यसै सम्झौताका आधारमा भारतले सयौँ सीमा स्तम्भ नेपाल तिर सारेर नेपाली भूमि मिचानमा पारेको छ ।
यी आफूलाई होचो कदको मानिस हुँ (भन्न खोजेको चाहिँ अर्कै हो) भन्ने यी अध्येताले लिम्पियाधुरा लिपुलेक प्रकरणमा पनि गलत भिडियो बनाएर, गलत अर्थ लाग्ने हुने लेख लेखेर जनतालाई दिग्भ्रमित पारेका थिए । राष्ट्रियताको मुद्दालाई घुमाउरो पाराले ओझेलमा पार्ने प्रयास गरेका थिए ।