–पवित्रा पराजुली
बुवा पण्डित, आमा खेतीकिसानी र मेलापात, आफूभन्दा माथिका दिदीहरू आमासँगै मेलापात जाने गर्दा सानैदेखि मेरो साथी घरको भित्तामा अडिएको रेडियो हुन्थ्यो । गाउँका साथीहरूभन्दा पनि नजिकको साथी त्यही भित्ताको रेडियो बनेको थियो । कहिलेकाहीँ रेडियोको ब्याट्री सकिन्थ्यो, एकछिन रेडियो बन्द हुँदा पनि मलाई साथी गुमाएजस्तो लाग्थ्यो । कान्छी छोरी भएकाले होला, घरमा दिदीहरूले भन्दा धेरै सुविधा पाएकी थिएँ । मेरा धेरैजसो माग पूरा हुन्थे । एक दिन घरमा रेडियोमा बोल्छु भनेर सुनाएँ । सानै थिएँ, घरका सबैले हाँसेर उडाए ।
पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि म उत्तिकै सक्रिय हुन्थेँ । जति–जति अतिरिक्त क्रियाकलापमा म सक्रिय हुन्थेँ, उति स्कुलका गुरुमा–गुरुबाहरूले फुर्क्याउनुहुन्थ्यो– टाठी छौ भन्दै । गुरुहरूले टाठी छौ भन्दा म अब रेडियोमा बोल्न सक्छु होला भन्ने ठानेर फेरि सुनाएँ घरमा, ‘म रेडियोमा बोल्छु नि !’
यसपटक पनि मेरो कुराको कुनै सुनुवाइ भएन, ‘हामीजस्ता मान्छे रेडियोमा बोल्छु भनेर पाइन्छ ?’ बुवाले अलि चर्को स्वर गर्नुभयो ।
घरमा सबैलाई लाग्थ्यो, रेडियो हाम्रो घरमा बज्ने मात्र हो । यहाँ हाम्रा मान्छेहरू बोल्न सक्दैनन् । अर्थात्, रेडियोमा बोल्नु हाम्रो पहुँचभन्दा बाहिरको कुरा हो ।
वादविवाद र वक्तृत्वकला प्रतियोगितामा म थुप्रैपटक आफ्नो स्कुलका तर्फबाट जिल्लास्तरीय र राष्ट्रिय प्रतियोगितामा सहभागी भएँ । कहिले पुरस्कृत भएर फर्किन्थेँ । स्कुल जीवन सकियो । कलेज जीवन सुरु भयो, त्यहाँ पनि मेरो अतिरिक्त क्रियाकलापको सहभागितामा कमी आएन । रेडियोमा बोल्ने मेरो चाहना अझै मरेको थिएन । कलेजका प्रतियोगितामा अब्बल घोषित भएपछि प्राध्यापकहरू भन्नुहुन्थ्यो, तिमी त रेडियोमा बोल्नेजस्तै खरर, प्रस्ट बोल्छ्यौ, टाठी पनि छौ, पत्रकार बन्छौ कि क्या हो ? मलाई स्कुल–कलेजका सरहरूले पत्याए पनि घरमा बाबाआमाले पत्याउनुभएको थिएन ।
मेरो व्यक्तिगत उद्देश्य रेडियोमा काम मात्रै गर्नु नभई अरू धेरै थिए र छन् । मेरा तीन दिदीहरूको छिट्टै विवाह भयो । म कान्छी भएकाले पनि होला, पढाइमै लगनशील हुँदै गएँ । घरमा आएका विवाहका कुरा टार्दै गएँ । सुरुमै रेडियोमा जागिर गर्न अनुमति पाउने अवस्था थिएन । त्यसैले अरू केही जागिर गरेर भए पनि मलाई रेडियोमा बोल्नु थियो । मेरो ध्याउन्न अब पढाइसँगै जागिरतिर गयो ।
अर्को डर पनि थियो, जागिर नखाई पढ्दा घरमा आर्थिक भार थपिन्थ्यो, जसका कारण मेरो छिट्टै विवाह पनि हुन सक्थ्यो । जागिर गरेर कमाउन थालेँ भने मैले छिट्टै बिहे गर्नुपर्दैन ।
दैवले तँ आँट म पुर्याउँछु भन्छ रे, मलाई पनि त्यस्तै भयो । कक्षा ११ मा पढ्दा साथीसँग गैँडाकोटको विजय एफएम घुम्न गएँ । मलाई रेडियोमा काम गर्ने इच्छा यति थियो कि, कुनै दिन मौका पाउँला नि भनेर त्यहाँको नम्बर लिएर आएँ । रेडियोले हरेक वर्ष तालिम पनि दिँदोरहेछ । म बेला–बेला फोन गरेर जागिर वा तालिमको अवसरबारे सोधिरहन्थेँ । रेडियोले तालिम खुलायो । पैसा तिरेर भाग लिएँ । त्यसका लागि दिदीले १ हजार ५ सय रुपैयाँ दिनुभएको थियो ।
रेडियोमा बोल्ने पुरानो हुट्हुटीले तालिममा सक्रियतापूर्वक भाग लिएँ । तालिम सकिएको १५ दिनपछि कामको अवसर आयो । पत्यार लागेकै थिएन । उमेर बल्ल १६ वर्ष तर मैले साँच्चै जागिर पाएँ, त्यो पनि रेडियोमा ! यतिखेर भने मैले घरमा आमाबाबालाई राम्रोसँग बुझाएँ, आफ्नो रहर र पाएको अवसरबारे धेरै कुरा भनेँ ।
विजय एफएमसँग
रेडियोमा मान्छे बोल्ने छुट्टै कोठा हुँदोरहेछ । त्यहाँ राखिएको माइक्रोफोन स्कुल–कलेजका कार्यक्रममा हुने माइकभन्दा फरक, कोठा पनि अर्कै । यी र यस्तै केही नयाँ अनुभवसहित काम सुरु भयो । तर काम के गर्ने ? पहिलो दिन रेडियो घुमेँ, सबैसँग परिचय गरेँ । दोस्रो दिन एउटा संस्थाको साधारणसभामा समाचार सङ्कलनका लागि पुगेँ । साथीसँगै गएकी थिएँ तर उहाँ पनि नयाँ, कार्यक्रममा पत्रकारलाई अतिथिका रूपमा पो आसन ग्रहण गराए । आश्चर्य, लाज, अप्ठ्यारो सबै एकैचोटि आइलाग्यो । कार्यक्रम सकियो । समाचार बनाउन जान्ने कुरा थिएन । कार्यक्रममा स्टेजमा बसेका अतिथिहरूको नाम टिपेर वार्षिक प्रतिवेदन बोकेर कार्यालय आयौँ । त्यही प्रतिवेदन हेरेर समाचार बनाउन कार्यालयमा नै सिकाउनुभयो । पत्रकारिता त सिक्दै गर्ने ठाउँ रहेछ । मैले यही बुझेँ ।
त्यसपछि म फिल्डमै पुगेर समाचार सङ्कलन गर्न थालेँ । औपचारिक कार्यक्रम मात्र होइन; विस्तारै रेडियो रिपोर्ट र खोजी समाचारमा ध्यान दिएँ । म मात्रै होइन, हरकोही सायद प्रायः सबै रेडियोमा काम सुरु गर्दा जनआवाज लिने काम गर्छन् । अरूले कसरी बुझ्छन् थाहा भएन, म जनआवाजलाई एकदम गज्जबको अवसरका रूपमा बुझ्छु । सार्वजनिक चासोका विषयमा सर्वसाधारणको धारणा लिने मात्र होइन, मान्छेसँग दोहोरो कुराकानी हुने हुनाले म आफूलाई निर्धक्क बोल्न मात्र होइन, जनआवाज सङ्कलन गर्नाले समाज बुझ्न पाइन्छ ।
म विस्तारै पत्रकारका रूपमा चिनिन थालेँ । गाउँघरमा केही घटना भए वा कार्यक्रमहरू आयोजना हुँदा मान्छेहरूले अब मलाई सम्झिन थालेका थिए । काम गर्दै जाँदा जिम्मेवारी थपिँदै गयो । महिना दिनमा म रेडियो कार्यक्रम सञ्चालनका लागि तयार भएँ । पहिलो रेडियो कार्यक्रम सवाल–जवाफ हुने, समाचार बनाउनु, रिपोर्ट बनाउनु र जनबोली सङ्कलन गर्नुभन्दा पनि गाह्रो काम आइलाग्यो मलाई । म कार्यक्रम गर्नुभन्दा एक साताअघिदेखि ऐनामा आफैँलाई हेर्दै कार्यक्रम चलाएको अभिनय गर्थें । अतिथि आफैँले खोजेकी थिएँ । कार्यक्रम प्रसारण भयो ।
आफैँलाई मन चङ्गा बनाएको कार्यक्रमको प्रतिक्रिया पर्खिरहेकी थिएँ म । अघिल्लो दिन रेकर्ड गरेको कार्यक्रम शुक्रबार बेलुका ५ बजे प्रसारण भयो । म रेडियोमै बसेर कार्यक्रम सुनेँ । र, सम्सा“झैमा घर पुगेँ । आँगनमा बुवा हुनुहुन्थ्यो । ‘छोरी त ठूली भइछे’ भन्दै गोठतिर लाग्नुभयो ।
अन्य दिनभन्दा फरक तरिकाले आमाले पनि मलाई एकोहोरो हेरिरहनुभएको थियो ।
‘तेरो कार्यक्रम सुनेर आज बुवा रुनुभयो,’ आमाले भन्नुभयो ।
‘किन ?’
‘छोरीको प्रगति देखेर खुसीले होला नि !’ आमाले आफ्ना आँखामा आएका आँसु लुकाउँदै भान्सातिर पस्नुभयो । हुन पनि बिहे गरेर दिन खोजेकी छोरीले रेडियोमा बोलेको सुन्दा बाआमा यति खुसी हुनुहुँदो रहेछ । त्यो दिनदेखि मलाई झनै आफ्नो जिम्मेवारी बढेको महसुस भयो ।
शारीरिक रूपमा पनि सानै म धेरैले रिपोर्टिङमा जाँदा रेडियोबाट आएको, पत्रकार हो भन्दा पत्याउनुहुन्थेन । कहिलेकाहीँ कार्यालयले दिएको रिपोर्टिङको काम राम्रोसँग गर्न नसक्दा काम गर्न सक्दिनँ कि भन्ने पनि लाग्थ्यो । तर फेरि अग्रजले कति सानै उमेरमा काम गरेकी, कति राम्रो गरेकी भनेर हौसला दिनुहुन्थ्यो र यसले मेरो आँट बढाउँथ्यो । मैले रेडियोमा बोलेको सुनेको छु नि नानीलाई, तिम्रो समाचार सुनेको थिएँ, पढेको थिएँ भन्नेहरू भेट्दा आफूले ठिक बाटो रोजिएछ भन्ने आत्मविश्वास पलाउँछ ।
रिपोर्टिङका किस्सा
मेरो घरबाट रेडियो पुग्न ४५ मिनेट लाग्छ । रेडियो÷घर गर्दा सार्वजनिक यातायातको प्रयोग मेरो बाध्यता हो । साइकलमा सधैँ रेडियो जान सम्भव नभएकाले म दैनिक ९० रुपैया“ खर्च गरेर कार्यालय जाने/आउने गर्छु । तर सधैँ भनेको बेला सार्वजनिक गाडी कहाँ पाइन्छ र ?
तीन हजार मासिक तलबबाट सुरु गरेको जागिरले मलाई घरबाट आउन/जानबाहेकको अर्को खर्च पुग्दैनथ्यो । कलेजको अन्तिम पिरियडको विषय छुटाएर बिहान १० बजे घर आएर हतार–हतार खाना खाएर ११ बजे अफिस पुग्थेँ । कहिलेकाहीँ घरमा खाना ढिलो पाक्दा म भोकै अफिस हानिन्थेँ । पढाइको समेत माया मारेर भोकभोकै कुद्नु मेरो रहर कि बाध्यता ? मैले अझै पनि खुट्याउन सकेको छैन ।
रेडियोमा काम सुरु गरेपछि रिपोर्टिङमा हिँड्दा मोबाइल अनिवार्यजस्तै रहेछ । घरी कार्यक्रम आयोजकसँग सम्पर्क गर्नुपर्ने घरी समाचार स्रोतसँग । कुनै आपत्कालीन घटना भए, बिच बाटोबाटै डेक्समा समाचार टिपाउनुपर्ने । मैले घरमा आमाले प्रयोग गरिरहनुभएको मोबाइल बोकेर हिँड्न थालेँ, पछि फिर्ता गर्ने सर्तमा । रेडियोमा काम गरे पनि रेडियोको अनलाइन पत्रिकामा समाचारसँगै फोटो राख्नुपर्ने थियो । कार्यालयबाट अब कार्यक्रममा जाँदा फोटो ल्याउनु है भन्नुहुन्थ्यो । मैले चलाउने आमाको मोबाइलमा फोन गर्न र उठाउन मात्र मिल्थ्यो । अनि कसरी खिच्नु फोटो ? यस्तो समस्या त कति भोगियो कति !
जति–जति दिन बित्दै जान्थ्यो, जिम्मेवारी थपिँदै जान्थ्यो । हाम्रो रेडियो जिल्लाकै सुगम मानिने गैँडाकोट नगरपालिकामा थियो । पालिका सुगम मानिए पनि अत्यन्त दुर्गम गाउँहरू पनि छन्, गैँडाकोटमा । तिनै दुर्गम गाउँलाई विकासको मूलधारमा ल्याउन रेडियोले नमुना सञ्चारग्राम कार्यक्रम घोषणा गर्यो । अब रिपोर्टिङका लागि घन्टौँ पैदल हिँडेर जानुपर्ने, पानी, बिजुली, स्वास्थ्य चौकीलगायत सामान्य आधारभूत सेवा सुविधा नभएका गाउँमा ।
मुख्य बजारदेखि केहीमाथि गाउँसम्म जाने जीप पाइयो तर सिट पाइएन । छतमै बसेर भए पनि गइयोे । त्यसो त छतमा म मात्र होइन, अरू पनि हुन्थे । जङ्गलको बाटो कतै–कतै पहिरो खसेर बगाएको हुन्थ्यो । त्यो बेला जीवन आजैसम्मलाई हो कि क्या हो जस्तो लाग्थ्यो, अनि आँखा चिम्म पारेपछि मृत्युलाई जितिन्छजस्तो लाग्थ्यो । जीवनको माया मारेर आँखा चिम्म गरेर भए पनि रिपोर्टिङमा खटिएको हुन्थेँ । यसरी रिपोर्टिङमा जाँदा पटक–पटक मोबाइल खसेर फुटेको छ, रेकर्डर खसेर फुटेको छ ।
त्यस क्षेत्रका स्थानीयका समस्या सुनेर, बुझेर लेखेर रेडियोबाट सुनाउनु थियो । उनीहरूका समस्यामा सम्बन्धित सरोकारवाला र जनप्रतिनिधिलाई पटक–पटक जिम्मेवार बनाउन पहल गरिन्थ्यो । एकबर्षे अभियानमा त्यस्ता विकट क्षेत्रका जनताका गुनासा र समस्यालाई तारन्तार रेडियोबाट बजाइरह्यौँ । जनताको समस्याबारे बोल्न र अरूलाई घच्घच्याउन पाउँदा छुट्टै आनन्द लाग्दोरहेछ । पैदलै हिँडेर पुग्न पनि गाह्रो हुने गाउँमा बाटो पुगेको दिन, साँझमा बाल्नलाई बिजुली पुगेको दिन, खानलाई पानी पुगेको दिन र स–साना केटाकेटी पढ्नलाई गाउँमै स्कुल बनेको दिन मेरो रिपोर्टिङको सार्थकता होला भन्दै समाचार लेखिन्थ्यो । पत्रकारिता पेसाभन्दा बढी सेवा हो भन्ने बुझेको मैले यस्तै रिपोर्टिङका बेला हो ।
रिपोर्टिङमा जाँदा कार्यालयले दिने खर्च हात्तीको मुखमा जीराजस्तै थियो । खाजा खाऊँ गाडी भाडा हुँदैन, गाडी भाडा तिरौँ, पेट भोकै हुने । यही कारण कतिपटक त भोकलाई दबाएर पनि रिपोर्टिङ गरियो ।
मजस्तै ग्रामीण भेगमा पत्रकारिता गर्नेहरूका लागि यो समस्या सबैको होला । तर महिला हुनुका केही शारीरिक समस्या, आफ्नो साधन नहुनुको बाध्यताले रिपोर्टिङमा केही हदसम्म असर गरेकै छ ।
असारको महिना खोलामा पुल नहुँदा स्थानीयलाई परेको समस्याका बारेमा रिपोर्ट बनाउन गएँ । जाँदा खोला सानै थियो । सजिलै खोला तरेर गाउँमा गएर रिपोर्टिङ गरेँ । तर फर्किंदा त तर्नै नसक्ने बाढी आएछ । स्थानीयले मलाई भनेको समस्याको साक्षी म आफैँ बनेँ । एक्लै गएको म खोला तर्न नसकेर अड्किए । पछि त्यहीँका स्थानीयको सहारामा खोला तरेँ ।
रिपोर्टिङमा पाएका यस्ता दुःख सबै भुलाउने क्षण त्यो रिपोर्टको प्रभावले पर्दोरहेछ । मेरा पनि सबै रिपोर्टले प्रभाव पारेनन् होला तर केही यस्ता रिपोर्ट छन्, जसले मलाई प्रसव वेदना खपेर सन्तान जन्माएकी आमालाई जस्तै सन्तुष्टि दिएका छन् ।
रातभरि जनावरले खाएको पानी लिन बिहान घन्टौँ लगाएर खोलामा जाने र त्यही धमिलो पानी वर्षौंदेखि खाँदै आएका गैँडाकोट–३, भुजेल गाउँका स्थानीयले अहिले घरअगाडिकै धाराबाट पानी खाँदै आएका छन् । गाउँमा शुद्धपानी खान नपाएको भन्ने विषयको रिपोर्ट रेडियोमा बजेपछि रोटरी क्लब अफ गैँडाकोटले खानेपानीको व्यवस्था गरिदियो । एउटा पत्रकारका रूपमा मैले पेसा गरेकी थिएँ तर जब पत्रकारिता गरेकै कारण गाउँका मान्छेले वर्षौंदेखि खाइरहेको खोलाको फोहोर पानी अब खानु परेन । सायद पत्रकारिता पेसा होइन, सेवा हो भनिएको यस्तैलाई होला । भर्खर पत्रकारितामा ताते–ताते गरेकी मैले दसौँ वर्ष पत्रकारिता गरेकाहरूसँग सुनेका उनीहरूका भोगाइ र मेरो रिपोर्टको प्रभाव उस्तै लाग्दा खुसीको सीमा नाघ्दोरहेछ । यस्ता किस्सा धेरै छन्, मैले लेखेको समाचारका कारण हाटबजारको फोहोर व्यवस्थापन भएको छ ।
रेडियोको जागिर, सिकारू पत्रकार । मलाई पत्रकारिता क्षेत्रमा धेरै सङ्घर्ष गरेर अब्बल बन्नुछ । तर म जे गरिरहेको छु, त्यो पर्याप्त छैन । नयाँ सिक्ने वातावरण नहुँदा म आफूले जे जानेको छु, त्यो मात्र गरेर चित्त बुझाउन बाध्य छु । पत्रकारिताको दुईबर्षे दौरानमा मैले यस क्षेत्रमा आउँदाको समयमा भन्दा नयाँ कुरा सिक्न र फैलाउन सकेको छैन । मलाई नयाँ कुरा सिक्नु छ, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ, नेपाल सरकार मलाई सिकाउनु पर्दैन ?
हिजोआज भने आफू बाँधिएजस्तो लाग्छ । म पत्रकार भएर जागिर खाएको होइन कि, म जागिर खानका लागि पत्रकार भएजस्तो लाग्छ ।
पर्याप्त तालिम र अवसर नपाउँदा मसँग जति पनि क्षमता छ, त्यो देखाउन सकेको छैन कि जस्तो लागिरहेको छ । म रेडियोमा आउ“दा जे सिके“, त्यही गर्दै आएकी छु । न त मलाई कसैले नयाँ कुरा सिक्ने र गर्ने अवसर नै दिनुभयो, न त मैले आफैँ गर्न सकेँ । मोफसलको पत्रकारिता आर्थिक, सामाजिक, पारिवारिक धेरै कारण बाँधिएको पो हो कि भन्ने लाग्छ । आफैँ खर्च जुटाएर क्षमता अभिवृद्धि गर्ने आर्थिक सामथ्र्य मेरो परिवारसँग छैन । पारिश्रमिक दैनिक खर्च जुटाउन पनि धौ–धौ हुने खालको छ । यस्तो अवस्थामा म मात्र होइन, मजस्ता पत्रकारितामा नयाँ पाइला हाल्नेहरू धेरैले भोगिरहेका छन् । धेरै सम्भावना, धेरै अवसर, धेरै जिम्मेवारी रहेको यस क्षेत्रमा मजस्ता सिकारू पत्रकारलाई टिकाइराख्ने उपाय के होला ? लौन, जानकारी पाऊँ !
(सामुदायिक रेडियो विजय एफएम गैँडाकोट, नवलपुरमा कार्यरत पराजुलीको यो लेख हामीले प्रेस काउन्सिल नेपालको त्रैमासिक जर्नल संहिता ५० औँ अंक असोज २०७८ बाट लिएका हौँ । स. )
Recent Comments