– लक्ष्मी पौडेल
काठमाडौँको व्यस्त सडक, गौशाला क्षेत्रमा सवारीहरुको गति कम हुनासाथ कुदेर झ्याल झ्यालमा पुग्छन् १७ वर्षीय रविराज पटेल । हातमा केही बोत्तल पानी, केही पोका मास्क र केही लहरो करेन्ट लगायतका सुर्तीजन्य पर्दाथ छन् । गाडिमा बसेका मान्छेले उनको हातका सामान किनिदिए भने व्यापार राम्रो हुन्छ । किनिदिएनन् भने अर्कोले किन्ने आसमा उनी फेरि कुद्छन् ।

२०७२ सालको भुकम्पपछि रविराज रौतहटबाट काठमाडौँ आएका हुन् । पढाइ छुट्यो । पैसा कमाउने रहरले पढ्न छोडेका उनलाई अहिले नपढेकोमा पछुतो भने छ । उनलाई त्यतिबेला पैसा नै ठुलो लाग्यो । भन्छन्, ‘मैले त त्यतिबेला पैसा देख्यो के, मेरो बहिनी पढ्छ नि दिदी, फाइभ कलासमा पुग्यो ।’ आफ्नो रहर बहिनीका माध्यमबाट पुरा गरिरहेका छन् उनी । ४ हजारको कोठामा उनी र साथी शिव साह बस्छन् । १ सय २० मा किनेको एक कार्टुन पानी प्रति बोत्तल २० रुपैया बेच्छन् । यसरी उनीहरुको दैनिक कारोबार १५ देखि २० हजार हुन्छ । हरेक महिना घरमा २० हजार खर्च पठाउँछन् । ४२ हजारको मोबाइल आफ्नै पैसाले किनेका छन् । ‘आमालाई पनि यस्तै मोबाइल किन्न पैसा पठाएको नि दिदी, यस्तो फोन भयो भने घरमा बाबा आमासँग बोल्न सजिलो हुन्छ ।’ उनी प्रफुल्ल देखिए ।
पशुपति क्षेत्रमा स–साना ब्रासलेटहरु बेच्ने रोहित कुमार दास १७ वर्षकै भए । गत वर्ष काठमाडौँ आएका उनको घर भारत हो । उनलाई कसैले उमेर सोधे हतार हतार १८/१९ वर्ष भन्दिन्छन् । उनको साथमा भएको भारतीय आधारकार्डले उनको उमेर १७ वर्ष भन्छ । उनी मिडियाका मान्छे वा नगरप्रहरी देखे नजिक पर्दैनन् । ‘कहाँ सानो छु त अब, १८ वर्ष भइसक्यो । यो दाइको पसल हेरिदिएको ।’ उनले सत्य बोल्न चाहेनन् । महानगरपालिकाले केटाकेटीले काम गरेको देखे लखेट्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी रुमालमा बिच्छ्याएको ब्रासलेटमा भन्दा बढी ध्यान वरिपरि हेर्नमा लगाउँछन् ।
गौशाला मात्रै होइन, काठमाडौँका अन्य क्षेत्रमा पनि यसरी पानी, मिठाइ, फलफुलगायतका फुटकर सामग्री बेच्ने तथा पसल र होटलमा काम गर्ने बालबालिकाहरु बग्रेल्ती भेटिन्छन् । संघीय राजधानी भएकाले देशैभरका मान्छे ओइरिने काठमाडौँमा यसरी सडकमा श्रम गर्ने बालबालिका कति छन् ? यकीन तथ्याङ्क छैन ।
काठमाडौँ महानगरपालिकाले गत जेठ २३ गते एउटा सूचना जारी गर्यो । जसमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाभित्र कोही कसैले कानुनविपरीत बालबालिकाहरुलाई श्रममा संलग्न नगराउनुहुन र १४ देखि १८ वर्षसम्म कानुनअनुसार जोखिमपूर्ण श्रमको सूचीबाहिर रहेको अन्य काममा श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरलाई जानकारी गराउनुहुन सूचित गरिन्छ ।’ महानगरपालिकाले कानुनविपरीत बालश्रमिक राखेको पाइए कारबाही हुने चेतावनीसमेत दिएको छ । ‘कानुनविपरीत कसैले होटल, ग्यारेज सवारीसाधन, कारखाना आदिमा बालश्रम गराइएको पाइए महानगर प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।
महानगरको सामाजिक विकास विभागका अनुसार यसरी सूचना जारी गरिएपछि जोखिम क्षेत्रभन्दा बाहिर श्रममा लगाइएका बालबालिकाबारे कसैले कुनै जानकारी महानगरलाई गराएको छैन ।
महानगरका लागि हालसम्मको चुनौती सडकका बालश्रमिकको व्यवस्थापन नै हो । अभिभावक पनि नभएका र काठमाडौँभन्दा बाहिरबाट आएर श्रम गरिरहेकाहरु महानगरपालिकाले हटाउने डरमा भागी भागी काम गर्छन् । यसको व्यवस्थापनका लागि कार्यविधि बनाउने तयारी भइरहेको बताउनुहुन्छ महानगरकी सहायक निर्देशक शान्ता पहाडी । ‘आवश्यक कार्यविधि नहुँदा सडकका बालश्रमिकलाई व्यवस्थापन गर्न र उनीहरुलाई कारबाही गर्न समस्या भयो । भोलि के आधारमा काम गरियो भन्ने प्रश्न आउने भएकाले अहिले कार्यविधि निर्माणको काम भइरहेको छ । महानगरका लागि ठुलो समस्याका रुपमा रहेको सडक बालश्रमिकको समस्या अब सम्बोधन हुने आसा छ । यसरी काम गर्दा ती बालबालिकालाई पनि सहज हुने खाका बन्दैछ ।’ उहाँले भन्नुभयो ।

कति बालबालिका कुन क्षेत्रमा, कुन जिल्लाबाट आएका र कुन उमेर समुहका छन् भन्ने प्रारम्भिक तथ्यांक समेत नहुँदा महानगरलाई व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । ‘हामी कार्यविधि तत्काल बनाएर पहिलोचरणमा तथ्यांक संकलन गर्छौँ । अवस्था के कस्तो छ भन्ने सामान्य आधारसमेत नहुँदा काम गर्न नसकिएको हो ।’ उहाँले भन्नुभयो । जनसंख्या, क्षेत्रफल र सङ्घीय राजधानी भएकैले जनघनत्व बढी हुँदा महानगरलाई बालश्रमिकको व्यवस्थापन चुनौतिपूर्ण बनेको छ ।
महानगरपालिकाले सडक बालश्रमिकको सुरक्षा र उनीहरुको काम कत्तिको जोखिमयुक्त छ र कुनक्षेत्रमा सबैभन्दा बढी छन् त्यसको खाका तयार गरी पहिलो चरणमा काम गर्ने तयारी गरेको छ । महानगर क्षेत्रमा चल्ने सवारीमा रहेका सहचालक बालबालिका र होटल तथा रेष्टुरेन्टमा काम गर्ने बालबालिका उच्च जोखिममा हुन्छन् । महानगरमै स्थायी बसोबास भएका बालबालिकाको अवस्थाबारे वडाकार्यालयहरुमा जानकारी भए पनि यसरी सडकमा काम गर्नेहरुबारे भने कुनै जानकारी छैन । यद्यपी सडकमा बालबालिका र बृद्धबृद्धा नदेखिउन् भनेर काठमाडौँ महानगरले यसरी बालबालिका र बृद्धबृद्धा देखिए उद्धार गरी मानव सेवा आश्रममा पुर्याउने र व्यवस्थापन गर्नेगरी महानगरले काठमाडौँमा सञ्चालित मानव सेवा आश्रमसँग सहकार्य गरेको छ । काठमाडौँ महानगरभित्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८० प्रतिशत देखि ९० प्रतिशत बालबालिका घरेलु श्रममा आबद्ध भएको महानगरको शिक्षा विभागको तथ्याङ्क छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको सन् २०१७८ को तथ्यांकअनुसार नेपालमा ११ लाख बालश्रमिक छन् । केन्द्रिय तथ्याङ्क विभागको सन् २०२१ को अध्ययनमा पनि देशभर ११ लाख बालश्रमिक रहेको तथ्याङ्क छ । तीमध्ये एक लाख बालश्रमिक काठमाडौं उपत्यकाभित्र कुनै न कुनै श्रम शोषणमा परेको उल्लेख छ ।









































