-राधा पाण्डे
गैंडाकोट, नवलपुर
सुनेको छु गणतान्त्रिक देशमा
बोल्ने स्वतन्त्रता हुन्छ
मैले पनि मेरो बाँकी जीवनको
मनोवृत्तिलाई,
मनोमान तरिकाले
नीति तथा कार्यक्रममा
प्रस्तुत गर्न चाहन्छु !
आज मैलें,
अर्धशताब्दी भन्दामाथि
बाँकी जीवन जति रहन्छ
तिनै मनोब्यथाको खाका कोरेको छु
यही जिन्दगी विस्तारको
नीति तथा कार्यक्रम पेश गर्दैछु
मसँग अपरिचित हुँदै गएका सम्पुर्ण साइनोहरु,
भावनात्मक रुपमा सम्बन्ध बिच्छेद भएका
माइती मावलीहरु,
ब्यवहारिक रुपमा पर सरेका कर्म घरतर्फका तेह्र दिनेहरु ,
स्वार्थले नजिकिएका गोत्रीयहरु,
घोडा सवारहरु,
कुकुर मालिकहरु,
सौतानेहरु, मितेरीहरु ,
गोरु बेचेका साइनाहरु
मकै खरिद गरेकाहरु ,
दश दिक्पाल र शेष नागहरु,
मैले मेरो जीवनका मनोब्यथाहरु
यसरी प्रस्तुत गर्दै छु –
मेरो आयु अन्त्यका दिन सम्मको
नीति तथा कार्यक्रम
भोलिका मितिदेखि लागु हुनेगरि
यथास्थितिबाट फट्को मारेर
वैज्ञानिक तवरले परिवर्तन गर्नेछु ।
बिर्सिएर भौतिक सुख सन्तुष्टि,
भोलि बिहानको पहिलो प्रहरदेखि नै,
मनोरम प्रकृतिसँग नाता गाँस्नेछु,
संलग्न नहुने गरी,
कुनै गुट, दल, संगठन, हुल र भिडदेखि विल्कुल टाढिएर
यसेै हप्तादेखि एक्लै बाँच्ने प्रण गरेको छु
फर्किएर पुर्खाको बस्तीमा
यसै महिनाभित्र
बेचेर स्वयम्वरको औँठी,
एक अञ्जुली माटो किन्नेछु
गलाको तिलहरीसँग,
गुँड बनाउने घुरान साट्नेछु
अर्धवार्षिक अवधिभित्रै ,
सपनाका झिंजा र मनोब्यथाका तान्द्रा मिसाएर
मायाको प्रतीक खडा गर्ने लक्ष्य लिएको छु
प्रदेशमा श्रम पसिना बेच्ने
ओ मायालु !
सात समुद्रपारीबाट आजै तिमी रमाना हुनु
मेरो अञ्जुलीको माटोमा
बाजको आँखा गाडिएको छ
छेउछाउबाट हुँडारले ड्वाकी बसेको छ
मायालु !
तिमीलाई यथासिघ्र स्वदेश भित्र्याउने
मेरो महत्वाकांक्षी लक्ष्य रहेको छ
यसै वर्षभित्र ,
हामीले गुँड वरिपरि बार लगाउनु छ
बाँकी जीवन ,
खुल्ला आकाशमा एकै पंक्तिमा उडेर
बिताउने लक्ष्य तय गरेको छु
मेरो मनोवृत्तिको नीति तथा कार्यक्रम
यसरी अन्त्य गर्दै ,
माथि उल्लेखित काम पुरा गर्ने
दृढ सङ्कल्प लिएको छु
जय माटो
जय धर्ती