नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भारत र चिनलाइ चिठी पठाएका छन् । दुवै देशलाइ पठाइएको चिठीमा नेपालको अतिक्रमित भूमी फिर्ता गराउन चेतावनी दिइएको छ ।
विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साम्राज्यवादी हमला बन्द गरी अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रबाट तत्काल फिर्ता जान चेतावनीपूर्ण आग्रह गरेका छन् ।
यस्तै चीनका राष्ट्रपति सी जिनपिङलाई पनि ज्ञापनपत्र पठाउँदै भारतद्वारा अतिक्रमित भूमि नेपाललाई फिर्ता गराउँदै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय राजदूतावासमार्फत र चिनियाँ राष्ट्रपतिलाई पनि नेपालस्थित चिनियाँ दूतावासमार्फत महासचिव विप्लवले पत्र पठाएका हुन् ।
भारतीय राजदूतमार्फत मोदीलाई पठाइएको ज्ञापनपत्रमा महासचिव विप्लवले भनेका छन्, ‘नेपालको भूभाग पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारत सरकारद्वारा सडक निर्माण गर्ने कार्यले आम नेपाली जनतालाई क्षुब्ध बनाएको छ । यसका साथै लिम्पियाधुरा, कालापानी क्षेत्र भारतको हो भनेर दाबी गरेका कारण नेपाली र भारतीय जनता आश्चर्यमा परेका छन् । भारत सरकारको यस्तो कार्यले १८१६ को सुगौली सन्धि, १८५० को शान्ति तथा मैत्री सन्धिको उल्लङ्घनका साथै नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने प्रोत्साहनबाहेक केही गर्दैन ।’
उनले भनेका छन्, ‘हाम्रो दृष्टिकोणमा लिम्पियाधुरा, कालापानीलगायत सयौँ स्थानमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु भनेको नेपालमाथि साम्राज्यवादी आक्रमण र हमला हो । हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ– भारत सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाल–भारत सीमामा अतिक्रमित सबै भूभाग तत्काल छोडोस् र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गरियोस् ।’
विप्लवले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पठाएको ज्ञापनपत्रमा भनिएको छ, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभागमा भारतद्वारा भएको अतिक्रमणले आम नेपाली जनता क्रुद्ध भएका छन् । हामीलाई विश्वास छ– भारतको धार्चुलादेखि नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोडिने सडक भारतले भर्खरै उद्घाटन गरेको कुरा चीन सरकारलाई अवगत नै होला ।चीनलाई यो कुरा राम्रोसँग थाहा हुनुपर्छ– यो भूभाग कहिल्यै पनि भारतको मातहत रहेन र यो नेपालको भूभाग हो । यस क्षेत्रमा भारतको उपस्थितिको सुरुआत सन् १९६२ को युद्धमा भएको हारपछि मात्र भएको हो । नेपालको भूभाग काली नदीको मुहान लिम्पियाधुरासम्म रहेको छ । भारतले लिम्पियाधुरा कालापानी क्षेत्रको कालापानीमा सैन्य ब्यारेक स्थापना गरेकाले नेपाली जनताहरू भारतीय अतिक्रमणका विरुद्ध आन्दोलित छन् । भारत र चीनबीच लिपुलेकलाई त्रिपक्षीय सीमा मानेको कुरा समयसमयमा नेपाली तथा भारतीय सञ्चार माध्यमहरूमा आइरहँदा नेपाली जनताहरू आश्चर्यमा पर्ने गर्दछन् ।’
चिनियाँ राष्ट्रपति सीलाई पठाएको ज्ञापनपत्रको अन्त्यमा महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ–भारत सरकारले अतिक्रमित सबै भूभाग तत्काल छोडोस् र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गरोस् । आफ्ना छिमेकी देशहरूको सार्वभौमिकताको पहिचान गर्ने जिम्मेवारीका लागि हामी जोडदार रूपमा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीलाई स्मरण गराउन चाहन्छौँ । तसर्थ हामी हाम्रो पार्टी र नेपाली जनताका तर्फबाट चीन सरकारसँग आग्रह गर्दछौँ– नेपालको भूमि लिपुलेकको प्रयोग गर्ने चीन–भारतबीचको सम्झौता पुनरावलोकन गरियोस् र नेपालको सार्वभौमिकताको सम्मान गरियोस् ।’
यस्तो छ दुई देशलाई पठाएको चिठी
Recent Comments