सधैँ समस्याका रुपमा रहेको काठमाडौँको फोहोर व्यवस्थापनमा सिसडोलबासीसँग फेरि नयाँ सम्झौता भएको छ । एक साता भन्दा लामाे समयदेखि फोहोर उठ्न नसकेपछि आज डम्पिङ क्षेत्रका प्रभावितहरु र काठमाडौँ महानगरबिच सात बुँदे सम्झौता भएको हो । अब फोहोर उठ्ने भएको छ ।
फोहोरमैला विसर्जनस्थल सिसडोल ल्याण्डफिल साइट र आसपातका प्रभावित धुनिवेंश र ककनी गाउँपालिकाका बासिन्दा तथा काठमाडौं महानगरपालिकाबिच बुधबार र बिहीबार वार्ता भए पनि सहमति हुन सकेको थिएन् ।
प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौंको फोहोरका कारण आफूहरूको स्वास्थ्यमा गम्भीर असर गर्दा पनि उनीहरूप्रति सरकार र काठमाडौं उपत्यकाका स्थानीय निकायहरू गम्भीर नभएको भन्दै आफूहरूले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएका थिए । आज भएको सहमतिमा अति प्रभावित क्षेत्रमा शिक्षक अभाव लगायतका समस्या समाधानका लागि ककनी र धुनिबेसीमा आवश्यक शिक्षक नियुक्त गर्ने, स्वास्थ्य उपचारको व्यवस्थाका लागि १० दिनभित्र योजनाबारे छलफल गरेर निष्कर्ष निकाल्ने लगायतका बुँदा छन् ।










































