नारदप्रसाद आचार्य/अमेरिका ।
अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिस्वर्गमा श्रीमदवाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञ हुने भएको छ । हिन्दुधर्म तथा साँस्कृतिक संगठनले श्रीलक्ष्मीनायारण हरिहर धाममा, यही अप्रिल १२ तारिखदेखि नौ दिने महायज्ञ गर्न लागेको हो । १२ गते कलशयात्रा हुने आयोजकले जनाएको छ । अन्तिम दिन पूर्णाहुती गरि यज्ञ समापन हुने संगठनका अध्यक्ष डा० तुलराम न्यौपानेले बताउनुभयो ।
अनन्त श्रीविभूषित स्वामी श्रीचक्रपाणी महाराज प्रमुख वाचक रहेको यज्ञमा हरेक दिन १५ जाना विद्वान पण्डितहरूबाट वाल्मिकी रामायण लगायत पौराणिक ग्रन्थहरूको पाठपारायण हुने जनाइएको छ ।
संगठनका भूपू अध्यक्ष यादुप्रसाद आचार्यले विश्वाशान्ति हेतु महायज्ञको संयोजन गरिएको जानकारी दिनुभयो । वसुधैव कुटुम्बकलाई आत्मसात गर्दै भातृत्वको भावना वृद्धि गर्न हेरिस्वर्गमा दोस्रोपटक ज्ञान महायज्ञ हुन लागेको हो । संसारभर छरिएका हिन्दुधर्ममा आस्था र विस्वास गर्ने भक्तभागवतहरूबाट प्राप्त सहयोगले संगठनको भवन स्थापनासमेत गरिएको छ ।
प्रत्येक वर्ष २ सय ५० देखि ३ सय बालबालिकाहरू अध्ययन गर्ने यो भवन मन्दिर र नेपाली शिक्षाको प्रयोजनको लागि अमेरिकी डलर १० लाख खर्च गरि खरिद गरिएको संगठनको शिक्षा विभागले जनाएको छ ।









































