मिना वाइवा
दशवर्षे जनयुद्धमा युद्धको मोर्चा सम्हाल्दै गर्दा नुवाकोटको सातविशेमा २०५७ साल मंसिर ५ गतेका दिन सहादत प्राप्त गर्ने योद्धा हुन् कमरेड प्रविण अर्थात गजेन्द्र वाइवा । जनयुद्धमा पश्चिमको रुकुमजस्तै गर्विलो इतिहास बोकेको नुवाकोटको युद्धमोर्चामा अग्रपंक्तिमा रहेर दुस्मनसँग लडेका उनै सहिदकी बहिनि हुन् अर्की योद्धा मिना वाइवा । आफ्ना सहिद दाजुको स्मृतीमा वाइवाले सामाजिक सञ्जालमा लेखेकी छन्, बहादुरीपूर्वक लड्दा कतै हारेका त कतै जितेका कहालीलाग्दा मोर्चाका प्रतिबिम्बहरु र उनले संगालेका कयौँ तीता मीठा अनुभूतिहरु खुल्ला मैदानको कापीमा रातो मसिले “सहिद” शब्द कोरी खडा भएको उनको इतिहास, आज नयाँ पुस्ताको अगाडि जीवन अध्ययनको एक रातो पुस्तक बनि उभिएको छ ।
उनका वीरता, सौर्य र बलिदानका गाथाहरु अन्तरहृदयमा जति सजाएतापनि अपुग नै हुँदोरहेछ । मनका कुनै ठाँउ खाली छैन कोर्नलाई, त्यही पनि कहिल्यै भरिएको अनुभूति भएन । उनका जीवन गाथा कापीका पानाहरुमा उत्तार्ने मेरा रहरहरु कहिल्यै मरेनन् । उनले कोरेका संघर्षमय जीवनका गोरेटोहरुलाई कलमको माध्यमबाट कोर्ने उत्साह पनि कहिल्यै कम भएन । कयाँै रात सम्झनाका अक्षरहरुसँगै दौडिँदा अनिदो बितेका दिनहरु पनि मानसपटलबाट मेट्न सकेन । उनका संघर्षमय जीवनका प्रत्यक्ष भोगाइहरु मेरा सम्झनाका अनन्त भुमरीमा कहिले डुल्दै, कहिले तैरिँदै सधैँ सजीव चित्र बनेर नाचिरहेकै हुन्छ ।
समय आफ्नै रफ्तारमा कुदिरहेको छ । दिनहरु बिते, कयौँ बसन्तहरु ओझेलमा परे त कयौँ बसन्तहरु आगमनको तयारीमा रहे । बिसौँ वसन्तहरु पार भएछ उनीसँग बिछोडिएका दिनहरु स्मरण गर्दा तर थाक्दो रहेनछ मन, मर्दो रहेनछ भेट्ने अधिक इच्छा ।
उनीसँग भेट्ने इच्छा मनका कुना कुनामा झन्–झन् मौलाइरहेको हुन्छ । शरद ऋतुसँगै फक्रिएको सयपत्री फूलजस्तै । हरेक वर्ष शरद ऋतुसँगै फुल्ने मखमली र गोदावरीका मीठो बासनाहरु भित्र उनको ममता खोज्ने मेरो बानी कहिल्यै मेट्न सकेन । उत्साहित मन र फक्रिँदो फूलको वासनाभित्र समाहित भएर उनलाई भेट्न सम्झनाको गहिरो तलाउ भित्र पौडिन पनि कहिल्यै पछि परेन । त्यसैले त स्मृतिका हरेक डोबहरुमा म उनकै साथमा हुन्छु ।
उनको रोजाई र भोगाईका शब्द क्षितिजहरु हाम्रा संस्मरणमा सदैव जीवित भएर उनिएका छन् । उनले बहादुरीपूर्वक लड्दा कतै हारेका त कतै जितेका कहालीलाग्दा मोर्चाका प्रतिबिम्बहरु र उनले संगालेका कयौँ तीता मीठा अनुभूतिहरु खुल्ला मैदानको कापीमा रातो मसिले “सहिद” शब्द कोरी खडा भएको उनको इतिहास, आज नयाँ पुस्ताको अगाडि जीवन अध्ययनको एक रातो पुस्तक बनि उभिएको छ ।
उनले रोजेका संघर्षका हरेक यात्राहरु, उनले तरेका अत्यास लाग्दा जङ्घार र उनले भोगेका जीवनका अनगिन्ती कठिन भोगाइका अनुभूतिहरु इतिहासमा सदैव जीवित रहनेछन् ।
त्यसैले त उनको जीवन बहादुरी र अविजयताले भरिपूर्ण छ । उनका जीवनका अध्यायहरुलाई पल्टाउँदै जाँदा, उनका जीवनभित्र आशा, विश्वास, विचार, शाहस, सपना, आत्मीयता र महान अभिष्टको सौन्दर्यले भरिपूर्ण भेटिन्छन् । उनले सामुहिक स्वार्थको मृत्यु अंगालेर महान जीवन बाँचेका छन् । र बाँच्न सिकाएका छन् । हार्दिक श्रद्धाञ्जली !!!
Recent Comments