-जानुका धमाला
म जीवनको यो बिन्दुमा उभिएर मेरो विगतलाई नियाल्छु जीवनका हजारौँ आरोह अबरोहहरुलाई पार गर्दै आजको दिनलाई सम्झन्छु । त्यती कष्टकर दिन र आँधीहुरीका दिनलाई सहज रुपमा पार गरेर यो अवस्थामा आउनको लागि निकै कठिन थियो नै । त्यो ज्वालामुखी विस्फोटन भएको बेला थियो जता टेकेपनि क्रान्तिको राप र ताप । हिजो बडेमानको क्रान्तिकारी बनेकाहरुको हालत पनि देखेको छु आज । बिगतको आँधिमय दिनलाई पार गरेर यो अवस्थामा आउने कुरा सजिलो छैन । यो अवस्थामा आइपुग्नको लागि पक्कैपनि महान मान्छेको साथ त छ नै । त्यो आँधिमय दिनलाई सहजीकरण गरेर मलाई पाइला पाइलामा अगाडी बढ्न प्रोत्साहन गर्ने मेरो सासुआमा मैया थापा हुनुहुन्नथियो भने म त्यो बिषम परिस्थितिसँग हारेर बीच बाटोमै सकिने थिए कि ? गद्दारको बिल्ला भिरेको हुने थिए की ? यो प्रश्न म आफुसँग पनि गर्छु । आज जहाँ छु त्यो स्वर्गीय सासुआमाको देन हो ।
हृदयको असिम पीडालाई तपाइँको काखमा पोख्न नपाएको पनि ६ बर्ष पुगेछ आज । एक्लै हुदाँ सम्झन्छु झन् धेरै म । सायद त्यो दुःख र संघर्षको समयमा तपाइँको साथ थिएन भने म यो अवस्थामा आइपुग्थे होला र ? पक्कै पनि सम्भव थिएन । संघर्षको बाटो रोज्दै गर्दा पाइला पाइलामा छिर्के हानेर पाइलैपिछ्छे लडाउनेहरुको कहाँ कमी थियो र त्यो समयमा पनि । तपाइँसँगको पहिलो भेटपछि एउटा प्रण त्यहिबेला गरेको थिए, दुनियाँको सारा मान्छे एकातिर र म एक्लो भएपनि लड्ने छु मेरो न्यायको लागि र कायरको विल्ला भिरेर युद्धबाट भाग्ने छैन् । त्यो वाचा त पुरा पनि गरे मैंले । मैंले मलाई नै गर्ने प्रश्नले रोप्छ मुटुमा आजकाल । तपाइँको विछोडमा मुटुले रगत प्रवाह गर्न पनि छोडेको आभास गर्छु म । तपाइँ छँदा मेरो समस्या निर्धक्क भन्न सक्थें । तपाइँको काखमा निर्धक्क रुन सक्थें । तर आजकाल हजारौँ चुनौती आएपनि एक्लै सामना गर्नुको बिकल्प छैन मसँग । तर पनि जीवनले लिने हरेक परिक्षासँग हारेको छैन म अझैपनि । यो मेरो साहस र आँट नै तपाइँको महान देन हो ।
काँचो माटो जस्तो थियो जीवन कहाँबाट आफुलाई पूर्ण बनाउन शुरु गर्ने केही थाहा थिएन । जीवन भोगाइको क्रममा पाइलैपिछ्छे ठेस लागेर पछारिदाँ पनि तिमी उठ्न सक्छ्यौ उठ भनेर तपाइँले प्रोत्साहन र हौसला नदिएको भए त्यो संर्घषपूर्ण र कहालीलाग्दो जीवनबाट म भागिसकेको हुन्थें वा त्यो यात्रालाई बीचैमा अरुले जस्तैगरी बिसर्जन गरिसकेको हुन्थें सायद । अहिले सम्झँदा त्यही आभास हुन्छ मलाई । जीवनमा परिवर्तनको बाटो रोजेको थिएँ । रोज्नु महत्वपूर्ण कुरा होइनरहेछ हरेक यात्रालाई गन्तव्यमा पुर्याउने कुराले खास अर्थ राख्दोरहेछ जीवनमा । त्यो यात्राको सारथीलाई बीचबाटोमा छोडेर अगाडि बढ्ने कुरापनि कम संघर्षपूर्ण थिएन मेरो लागि । जतिसुकै परिवर्तन भनेपनि पितृसत्तात्मक सोचको अवयवका अस्तित्व परिवर्तन गर्छु भन्नेहरुको ठाउँमा पनि थियो । कयौँ ठाउँमा एकल महिला भएको कारणले अपमान भोगेँ । कयौँ ठाउँमा निडर र साहसी भएर पनि अपमानित भएँ । यो सबै कुराले झन् स्पात बनायो आगामी दिनमा आउने हजारौ चुनौतिलाई सजिलै आत्मसाथ गरेर अगाडी बढ्ने साहस आँट प्रदान गर्यो ।
तपाइँको मृत्यु भएको २ महिनापछि मात्रै थाहा पाएँ, नारायण दाईमार्फत तपाइँ यो संसारमा हामीलाई टुहुरा बनाएर छोडेर जानु भएको कुरा । जब सुनेँ, मुर्छित भएछु किनकी उषा आनन्दको मृत्युको बेलाभन्दा फरक थियो यो समय । त्यो भएर पनि मन फुकाएर रुन पाएँ, चिच्चाएर रोएँ । चेतमा आउँदा सबैतिर अन्धकार थियो । पराईको देश दिनभरी काम गरेर जब ओछ्यानमा पुग्थें अर्धकल्चो आँखाका सपनाहरुमा जब तपाईसँग भेटेको हुन्थें अनि बेसरी ऐठन भएर ब्युँझिन्थें । निन्द्राबाट ब्युँझिदा हृदय भारी भएर बगेको नुनिलो आँसु आँखाको काप हुँदै सिरानी भिजेको पत्तै हुँदैनथ्यो । कयौँ रातहरु अझ पनि निन्द्राबिहिन हुन्छन् तपाइँको प्यार सम्झेर निदाउन सक्दिनँ ।
तपाइँको मृत्युको सेरोफेरोमा मानसिक सन्तुलन गुमाएर कोमामा लडेको लाससरह जीवन व्यतित भएको थियो । एउटा जीवित मुर्दाले के नै गर्न सक्थें र ? निर्धक्क मन फुकाएर तपाइँको लासमा अंगालो हालेर रुनसमेत सकिनँ । तपाइँको अन्तिम इच्छा त्यही थियो चिहानसम्म पनि सँगै जाँउ जलेको मेरो शरिरबाट नयाँ उर्जा लिएर अर्को साहस र आँट बटुल जीवनको गन्तब्यलाई अझ मजबुत बनाउ । मलाई माफ गर्नुस् आमा जीवनमा तपाइँको सबै आदेशहरुलाई सिरोपर गरें । यही एउटा आदेश कहिल्यै पुरा गर्न सक्ने छैन म अब ।
संयोग कति अचम्मको छ जब तपाइँको पाउमा शिर राखेर बिदा भएको तपाइँको छोरा आनन्द कहिल्यै तपाइँलाई भेट्न नसक्ने गरी परिवर्तनको लागि सहिद भयो । तपाइँ जस्तै आमाहरुको लागि सुनौलो उषा लिएर आउँछु भनेर बिदा भएकी तपाइँकी छोरी उषा सातविसेको एउटा घरमा रातभरी बलत्कारपश्चात खोलाको ढुंगामा उभिन लगाएर सबैले देख्नेगरी गोलिहानी हत्या गरे शाहीसेनाले । र म तपाइँहरुलाई यो संसारबाट बिदा गरेर संघर्षपूर्ण जीवन बाँचिरहेको छु । आज पनि तपाइँको आभास उत्तिकै प्यारो छ मलाई । जब अप्ठेरा बाटोहरु अगाडी आउँछन् दलदलेबाट निस्कन मुस्किल भएको बेलामा बाटो देखाइदिने तपाइँ मेरो समिपमा हुनुहुन्न । तपाइँको अभावमा बीच बाटोमा नै अल्मलिएको पनि छु ।
तपाइँ त्यही महान आमा हो जसले नेपालमा भएको १० वर्षे जनयुद्धको लागि आफ्नो प्राण भन्दा प्यारो छोरा छोरी गुमाउनुभयो । युद्ध र शान्तिकालमा घरीभरी आउने जनमुक्ति सेना, पार्टी कार्यकर्ता र नेतालाई दिनरात नभनी खाना पकाएर खान दिने आमा । आफ्नो सन्तानलाई परिवर्तनको बाटोमा जाउँ वर्गमुक्तिपछि मात्रै सबै जनताको मुक्ति हुन्छ भनेर शिक्षा दिने असल आमा । संकटकालको समयमा प्रत्येक रात आउने शाहीसेनाको लाठी, बुट, गाली खाने आमा । कहिले प्यारो छोरा सहिद भएको खबर त कहिले प्यारी छोरी सहिद भएको खबर सुनेर मुर्छित हुने आमा ।
छोरी उषाको सहादत भएको ८ महिना नपुग्दै छोरा आनन्दको पनि सहादत भएको थियो । जीवनमा कति र कस्तो मात्रै संघर्ष र पीडा भोग्नुपरेको थिएन र युद्धकालमा तपाइँले । जीउँदो म थिएँ तर तपाइँभन्दा कोसौँ टाढा । देशमा संकटकाल थियो । संकटकालमा एउटा छापामार दुश्मनले आफ्नो सुरक्षाका लागि राखेको सयौँ चेकपोष्टहरु पार गर्दे उदयपुरबाट तपाइँको समिपमा आइपुगेको थिएँ । त्यो समय तपाइँको कमजोर शारीरिक अवस्था, छोराछोरीको वियोगमा थलिएको तपाइँको शरीर ओछ्यानबाट उठ्न नसकेर तपाइँको शरिरमा भएको घाउ । यी सबै परिदृश्य मेरो आँखाअगाडी घुमिरहेका छन् । यति कष्ट भोगेर तपाइँहरु जस्ता हजारौँ आमाहरुको काख रित्तिएर आएको गणतन्त्रमा सामन्ती भालेहरुको राज चलेको छ । यति कष्टकर परिस्थितिमा पनि तपाइँले दिनुभएको सान्तवना ले जीवनमा अर्को उर्जा मिल्थ्यो । तपाइँले दिनुभएको जिम्मेवारी त मैले पुरा गरें आमा अन्तिम मोर्चासम्म लडेर विजय हासिल गरें तर तपाइँलाई गुमाएर मैले प्राप्त गरेको विजयमा म खुशी छैन ।
मुटुक्रा टुक्राजस्ता छोराछोरी सहिद भएपछि तपाइँ शारीरिक हिसाबले निकै कमजोर हुनुहुन्थो । रोगले तपाइँलाई सताउदै गयो । पहिला पहिला खुब क्रान्तिकारी बनेर तपाइँको छोराछोरीको सपना हामी पुरा गर्छौं भनेर घरमा आउनेहरु पनि शान्ति प्रकियापछि त शहरको झिलिमिलीमा रमाउन पुगे । तपाइँको छोराछोरीको वलिदानमा आएको गणतन्त्रमा नोकरशाही पुँजीपतिकोजस्तो तामझामका साथ जीवनयापन गर्न थाले । त्यो कुराले तपाइँलाई झन् दुखित बनायो । आफ्नो छोराछोरीको रगतमाथि भएको अपमानले पनि साह्रै पीडा दिन्थ्यो । आन्दोलनको शुरु गर्दा के वाचा गरेर जनताको छोराछोरीलाई युद्धमा जान प्रेरित गरे ? तर अहिले हामी जस्तै छोराछोरी गुमाएका परिवारहरुको अवस्था देखेर निकै दुखी हुनुहुन्थ्यो । त्यो असिम पीडाकोबीचमा भनेका कुराहरु पनि याद छ मलाई ।
संकटकालको बेलामा घरमा लुक्न आउने नेताहरु महिनौंसम्म भूमिगत भएर बुँइगलमा बसेर दिसापिसाब फाल्ने आमाहरुको कथा हो । यस्ता आमाबाबाहरुलाई यो अवस्थामा आएर सम्झन्छन् त कसैले ? सम्झदैनन् अब । हिजो सेल्टर दिएर बचाउने आमाबाबाहरु गाउँले पाखे लाग्छ नेताहरुलाई उनीहरुलाई अत्तरको वास्ना मन पर्छ अचेल । पूर्व माओवादीका नेताहरु अहिले झण्डावाला गाडीमा घरै नजिकबाट धुलो उडाउँदै हुँइकिन्छन् तर न सहिद परिवारलाई चिन्छन् न हिजोको विषम परिस्थितिमा उनीहरुको जीवन रक्षा गरिदिने जनतालाई नै । जब चुनावको बेला आउँछ नी, अनि कर्कष स्वरमा चिच्याउन उद्दत हुन्छन् । म तपाइँको छोराछोरीको सपना पुरा गर्छु भोट दिनुस् । यो कर्कष आवाज चारतारेले पनि निकाले लालतारेले पनि । मेरो आमा जस्तै अरु आमाबाबालाई पनि छोरा छोरीको वियोगमा तड्पाई तड्पाई मार्ने हत्याराहरुको राज्य चलेको छ आजकाल देशमा ।
अहिले जो जनताको रगत वलिदानबाट सत्तामा पुगेका छन् उनीहरुलाई जनताको वा सहिद परिवारको अवस्थाका बारेमा चासो छैन् । देश महामारीमा फसेकै छ, जनप्रतिनिधिहरुलाई चाडवाड खर्चको घोषणा भैसक्यो यस्ताहरुले पो शासनसत्ताको नेतृत्व गर्छन् त आमा ।
अहिले पनि म मेरो विश्वविद्यालयमा जान्छु तपाई बसेको घरभन्दा ठुलो विश्वविद्यालय अहिलेसम्म भेटेको छैन र तपाइँजस्तो असल गुरु पनि । गेट नजिक पुग्छु घरमा तपाइँको बास्ना छैन आजकाल । अनि मलाई चोटासम्म पुग्ने आँट पनि आउँदैन तपाइँको सामीप्यता नै छैन त्यहाँ । तपाइँले राख्ने प्रत्येक धोक्राहरुमा हुने बदाम, मास, भटमास, तिल, बोडी, मस्याङ, अनदीको चामल, गुन्द्रक सिलाम अनि खाटमुनि राखेको हाडे सखर पनि छैन् । घरमा यो सबै खानेकुरा मेरोलागि तपाइँले सुरक्षीत राखिदिनु हुन्थ्यो । जब तपाइँलाई मेरो न्यास्रो लाग्थ्यो आँगनको डिलमा बसेर मलाई फोन गर्ने नोकिया मोबाइल पनि छैन । आँगनमा टेक्नेबित्तिकै मसँग जुध्न आउने सिंगारी बाख्रीको छोराछोरी पनि आउँदैनन् आजकाल । बिहानीको संकेत गर्ने रातो भाले पनि बास्दैन । अनि काली कुखुरीको चल्लाहरु पनि चिः चिः गर्दैनन् ।
म जहाँ छु त्यो सबै तपाइँको देन हो आमा । हाम्रो जस्तो विभेदकारी समाजमा पनि मैंले कहिल्यै पनि बुहारीको आभास गर्न परेन तपाइँबाट । जब तपाइँले स्वतन्त्र चराजस्तै कोसौँसम्म उड्ने पखेटा बनाइदिनुभयो र स्वतन्त्रतापूर्वक आकाशमा उडेर जीवनका हरेक चुनौतीलाई सामना गर्न सक्ने सामर्थ्य राखें । यदि तपाइँबाट असल शिक्षा पाएको थिइँन भने आज आफ्नो मेहनत परिश्रममा रमाउने हैसियत पनि राख्दिनथिएँ । काँचो माटोलाई पूर्ण आकार दिने हैसियत प्रदान त गरीदिनु भयो तर तपाइँको भौतिक शरिरले यो कुरा देख्न पाएन । भौतिक रुपमा मात्रै म तपाइँबाट छुट्टिएको हुँला तपाइँको आत्माले अझ पनि मलाई कहीँबाट निर्देशित गरिरहेको छ जस्तो लाग्छ । जीवन सफलताको खुड्किलो चढ्दै गर्दा समाउने तपाइँको हात भैदिएको भए कति सुन्दर हुन्थ्यो होला मेरा आगामी यात्राहरु । जब मसँग दुख मात्रै थियो तपाइँ मेरो साथमा हुनुहुन्थ्यो हरेक चुनौतीको सामना गर्ने आँट प्रदान गर्नुहुन्थ्यो जब चुनौती सामना गर्न सक्ने भए तपाइँ हुनुहुन्न । तपाइँजस्तो असल गुरुको शिष्य म कहिँकतै खराब गर्न खोजें भने अझैपनि खबरदारी गर्नुहोला । यो दुखद दिनमा तपाइँप्रति लाखौं श्रद्धासुमन अजर अमर सम्झना आमा ।