काठमाडौं ।
काठमाडौंको पुरानो सिनामंगल (पेप्सीकोला) स्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएसँगै काठमाडौं कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सरकारले भोलीबाट सकिने लकडाउन थप एक साता थप गर्ने गरी निर्णय गर्न आजै मन्त्रीपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बसिरहेको बैठकले कम्तिमा एक साता लकडाउन थप्ने निर्णय गर्ने स्रोतले जनाएको छ ।
१७ जना संक्रमितमध्ये १ जनालाई निको भैसकेको छ भने बाँकी १६ जनाको विभिन्न स्थानमा उपचार भैरहेको छ । हिजो संक्रमण पुष्टी भएका सनसिटी अपार्टमेन्टका तीनजनाको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भैरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको कालिदल गणका गणपति लेफ्टिनेन्ट कर्णेल प्रकाश थापालाई कोही आफन्तले सूचना दिएपछि स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा संक्रमित व्यक्ति पहिचान भएको हो । उनीहरु एकै परिवारका आमा, छोरा र बुहारी छन् ।
उनीहरू चैत ५ मा बेलायतबाट कतार एयरलाइन्सको उडानमा काठमाडौं ओर्लेका हुन् । उनीहरु आउनेबित्तिकै सनसिटी अपार्टमेन्टको व्यवस्थापन समिति चुनावमा सक्रियतापूर्वक भाग लिएका थिए ।
त्रिभुवन विमानस्थलको नजिकै रहेको अपार्टमेन्टमा झन्डै १७ सय मानिसको बसोबास छ। तीमध्ये ३० परिवार फ्ल्याट भाडामा लगाएर विदेशमा बस्छन् । प्रहरीले उक्त अपार्टमेन्ट पूर्णतः लकडाउन गरेको छ ।
अपार्टमेन्टमा अर्थमन्त्री डा.युवराज खतिवडाका जेठा छोरासमेत बस्ने गरेको र सनसिटी अपार्टमेन्टको व्यवस्थापन समिति चुनावमा अर्थमन्त्री खतिवडासमेत गएको स्रोतले बताएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि सकिँन लागेकाे छ।