ताप्लेजुङ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा गएराति भिषण आगलागी भएको छ । राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो।
आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।
स्थानीयबासी दुर्गा भट्टराईका अनुसार आगो तीव्र गतिमा बजार क्षेत्रमा फैलिएको थियो । राति मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट समेत भएको छ ।
भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साना–साना आगो निभाउने काम भने आइतबार बिहानसम्म पनि जारी छ ।
आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।
ताप्लेजुङमा मध्यरातमा भिषण आगलागी
Posted by कम्पनपोस्ट डटकम on Friday, May 1, 2020