सेयर
-नारायण शर्मा
जब कुनै कुरा सत्यम् अर्थात् सही छ भने त्यो शिवम् अर्थात् कल्याणकारी, उपयोगी र आवस्यक छ, हुन्छ र हुनुपर्छ । जब त्यो सत्य कुरा जीवन र जगतलाई हितकारी हुन्छ, तब त्यो सुन्दर हुन्छ, स्वीकार्य हुन्छ, अजेय हुन्छ, आकर्षक हुन्छ, ग्राह्य हुन्छ, प्रशंसनीय हुन्छ र संग्रहणीय समेत हुन्छ । त्यसैले त्यो सुन्दर कुरा सँगसँगै सत्य र शिवको पनि पक्षपोषण र सम्बर्द्धन गर्दै रक्षा, प्रयोग र विकास गरिन्छ र गर्नु नै पर्दछ ।
सत्य, शिव र सुन्दर कुरालाई चिन्न र बिन्न चेतना चाहिन्छ भने त्यसलाई स्थापित र विकसित वा रक्षा, प्रयोग र विकास गर्न चेतनासहितको संघर्षको आवश्यकता पर्दछ । संघर्ष बिना त्यो सत्य आफैँ स्थापित र विकसित हुँदैन । त्यो संघर्ष भनेको प्रथम, त्यो सत्यलाई चिन्ने र बिन्ने प्रयास हो, त्यस दौरानमा हुने दुखकष्ट सहने र बेहोर्ने हो । साथै सत्यलाई छोप्ने र छेक्ने क्षुद्र र छद्म, भ्रामक र गलत, खुला र ठुला अनि स्वार्थी र अवसरवादी व्यक्ती, शक्ति र प्रवृत्तिहरुका विरुद्धको संघर्ष अर्थात् तिनको आलोचना, विरोध, खन्डन, मण्डन, भर्त्सना र भण्डाफोर गर्दै निस्तेज, निस्प्रभावी र निषेध नै गर्नु पनि हो । साथै, त्यस दौरानमा आउने विपत्ती, खतरा र घातप्रतिघातहरुको सहन र सामना गर्ने पनि संघर्ष नै हो । त्यो संघर्ष पनि एक्लैदुक्लै भन्दा पनि सामूहिक, संगठित र योजनाबद्ध हुनुपर्छ र त्यस्तो संघर्षलाई सफलता प्राप्त नगरुन्जेल संचालन गरिनै रहनुपर्छ । यही कामकुरा मार्क्सवादीहरुले पनि गरिआएका छन्, गर्दछन्, गर्नैपर्छ, गर्नेछन् र गरिनै रहनेछन् ।
त्यसैले सुन्दरम् अर्थात् सुख, शान्ती र सौन्दर्यको प्राप्ती गर्नु-गराउनु छ भने सत्यको अवलम्बन र शिव (कल्याण)को कार्यान्वयन जरुरी छ । यसरी स्पष्ट छ कि सत्यम्, शिवम् र सुन्दरम्को सम्बन्ध एकातिर यिनको आपसमा द्वन्द्वात्मक, अन्वन्याशृत र परिपूरक सम्बन्ध छ भने अर्कातिर मार्क्सवादसँग पनि अभेद्य सम्बन्ध रहेको छ । त्यसैले त भनिन्छ : मार्क्सवादीहरु सत्यम्-शिवम्-सुन्दरम्का हिमायती र पक्षपाती मात्र होइन, अनुयायी र अनुमार्गी समेत हुन् र हुनैपर्छ । यसो भयो भने “सत्यमेव जयते” भनिए र मानिएझैं मार्क्सवादको पनि जय-विजय हुनेछ र मार्क्सवादको अपराजयता थप पुष्टि हुनुका साथै मार्क्सवादको अपरिहार्यता र कल्याणकारिता अनि सुन्दरता, दिव्यता र भव्यताको समेत परिपुष्टी हुनेछ ।
shere this









































