
नुवाकोट ।
नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेका चन्द्रबहादुर तामाङको घर, गोठ पहिरोले पुरिएपछि भएको क्षतिको अवलोकन गर्न सांसद हितबहादुर तामाङ घटनास्थल पुग्नुभएको छ । पहिरोले तामाङको २ वटा बाख्रा मरेका छ्न् । शुक्रबार राति भारी वर्षापछि गएको पहिरोले घरगोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्स्पेक्टर दिलीपकुमार हुमागाईंले जानकारी दिनुभयो । सोही वडामा ७ वडा घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय पार्टीले आयोजना गरेको कार्यक्रममा जानेक्रममा सांसद तामाङ र पूर्वसांसद बिमला सुवेदीले क्षतिको अवलोकन गरी पीडितको तत्काल उद्दार राहत र पुनर्स्थापनाको काम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।
जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको प्रहरीले जनाएको छ । पहिरोस्थल गुर्जे खोलेगाउँ मोटरबाट करिब ५० मिटर तल रहेको छ ।
पूर्वमन्त्री एंव माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङ तथा पूर्वसभासद तथा केन्द्रीय सदस्य र नुवाकोट जिल्ला इन्चार्ज विमला सुवेदीलगायत स्थानीय जनप्रतिनिधिसहितको टोलीले गुर्जे पहिरोबाट भएको क्षतिको अवलोकन गर्नुभएको माओवादी केन्द्रका पञ्चकन्या गाउँ समिति सदस्य रामहरि भण्डारीले जानकारी दिनुभयो ।
सांसद तामाङले सुरक्षाकर्मी, वडाअध्यक्ष र स्थानीय जनताको साथमा प्रमुख जिल्ला अधिकारी, जिल्ला दैवी उद्धार समिति, विद्युत् प्राधिकरणलगायत निकायलाई जानकारी गराई पीडितलाई तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको हो । पहिरोले विद्युत्को पोलसमेत ढलेको छ ।
शक्रबारको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ककनी, लिखु गाउँपालिकामा पनि १० घरधुरी विस्थापित भएका छन् । ककनी गाउँपालिका ५ ढुंग्यानटोलमा भीर खस्न थालेपछि १० घरधुरी विस्थापित छन् । भारी वर्षाले ढुंग्यानटोलबस्ती माथिको चट्टानेभीर चिरा परेर पहिरो आउन थालेपछि ती गाउँपालिकाले ती घरहरुलाई स्थानान्तरणको प्रक्रिया सुरु गरेको छ ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले टोलवासीलाई जोखिम स्थानबाट २ सय मिटर टाढा खेतको गह्रामा स्थानान्तरण गरिएको बताउनुभयो । ‘बाँस र त्रिपाल हालेर उनीहरुका लागि बस्ने बास बनाउँदैछौं,’ उहाँले भन्नुभयो । स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाका पदाधिकारी, स्थानीय, नेपाल प्रहरी खटिएका छन् ।