काठमाडौं ।
सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिसन बार्गेनिङ्गको अडियो प्रधानमन्त्री केपि शर्मा ओलीले एक महिना अघि नै सुनेको बताईएको छ । नेपालमै इ–पासपोर्ट छपाई गर्नका लागि सेक्युरिटि प्रेस स्थापना गर्ने बिषयमा भएको अडियो कुराकानीमा मन्त्री बास्कोटाले आफुलाई कति आउछ भन्ने बार्गेनिङ्ग गरेका छन् । सेक्युरिटि प्रेसको काम गर्ने एक स्वीस कम्पनीका नेपाली एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको रातोपाटीले समाचार लेखेको छ ।
जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।
तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए ।
तर बिहिबार (फागुन ८ गते) लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप सार्वजनिक गराएको थियो ।
स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।
अहिले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो । ३७ अर्ब रुपैयाँ सेक्युरिटी प्रेसको सामान तथा सुरक्षा उपाय र करिब ३ अर्ब रुपैयाँ बिल्डिङका लागि खर्ब गर्ने भनिएको थियो ।
आफूले ठेक्का नपाउने स्थिति आएपछि मिश्रले उक्त अडियो बुधबार साँझ विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए ।
रातोपाटीसँगको कुराकानीका क्रममा मिश्रले उक्त रकम घुस नभएर कमिशन भएको र त्यो नियमसंगत तरिकाबाट आउने भन्दै कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बास्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको बताए ।
उनले भने, ‘मन्त्रीलाई त्यति रकमले पनि नपुगेपछि अर्को कम्पनी खोज्न थालियो । र, जर्मन कम्पनीले ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि हामीले उक्त कुराकानी बाहिर ल्याएका हौँ ।’
मिश्रले अगाडि भने, ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेहरुले पनि कमिशन खाने गरी सेटिङ गरिसकेका थिए । त्यसकारण हामीले उक्त अडियो बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौँ ।’