प्रकाश फुयाल
देखिन्थ्यो पहिले मुनाल वनमा धुपी र सल्लाहरु
फुल्थे फूल नयाँ नयाँ किसिमका झुलीरहेका तरु
गाउँथे बनकुन्जमा डुलिडुली डाँफे र मैनाहरू
उफ्रन्थे मृगका बथान बनमा पाठा र पाठीहरु ।
हाँस्थे ती हिमशैलका पुरहरू हेरेर चारैतिर
देखिन्थे त्यसका गजूर मणिका भै सुन्दरै सुन्दर
शोभा सुन्दरमा समान रहने छन् ती हिमालै हरु
बग्दैथे नदिका समुन्द्र तटमा कोशी र कालीहरु।
पाखा पर्वतमा ढपक्क फुल्ने खै लालुपाते पनि
देखिन्नन् अहिले अगाडि वनमा गाई र ग्वाला पनि
फाट्योकी धरती चरर्र चिरिई बर्षे नी पानी पनि
झुल्दैनन् किन हो परन्तु अहिले खै धान बाला पनि ।
पाखा पर्वतका उडेर मुख त्यो उराठ लाग्दा भए
संसाझै घरका दियो नबल्दिंदा बस्ती अँध्यारा भए
के ले यो जगका समस्त जन यी दुर्नाम बन्दा भए
शोभा सुन्दरता हराई पुरका कूरुप बन्दा भए ।
दु:खी का घरमा अनाज नहुँदा मर्छन् नि भोकै परी
जाली तस्करका घना महलमा द्रव्यादि नाना थरी
भ्रष्टाचार गरी गरी लिन बढे केही नपुगी अरु
त्यै कालो धनले कलंकित बने यी भ्रष्टचारी हरु ।
कोहीका घरमा समस्त सुनका थालै भए ता पनि
कोहीका घरमा पिठोपनि नभै बाँचिरहे तापनि
कस्तो दुर्दिन यो भनेर जनता खुब् दिक्क मानीकन
बढ्दैछन् सहसा अगाडि पथमा यो धर्ति व्युँझाउँन ।