धनगढी ।
सुदुरपश्चिम प्रदेशकामा कार्यरत युवा स्वयम् सेवकका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम धनगढीमा सुरु भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण तथा लैङ्गिक हिंसा न्यूनीकरण कार्यक्रम अन्तरगत उक्त तालिम सुरु भएको हो ।
समुदायमा घटेका महिला तथा बालवालिका विरुद्धका हिंसा तथा अन्य संरक्षणसम्बन्धी घट्नाहरुबारे अनलाइन टुल मार्फत कार्य गर्दै आएका स्वयम् सेवकको क्षमता अभिवृद्धिका लागि उक्त तालिम आयोजना गरिएको हो ।
दुईदिने तालिमको पहिलो दिन बाल संरक्षण र घट्ना व्यवस्थापनका विषयमा प्रशिक्षक जगदिशबहादुर सिंह र लैङ्गिक हिंसा न्यूनीकरणका विभिन्न विषयमा सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका महिला विकास अधिकृत बिन्दु कुमारी चटौतले सहजिकरण गरेका छन् । तालिममा प्रोटेक्सन मोनेटरिङ गाईडिंग प्रिन्सीपलका विषयमा बासका कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेका थिए ।
तालिमको उद्घाटन सत्रमा बोल्दै बासका सुदुरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले कार्यक्रम अन्तरगत महिला तथा बालबालिकाको संरक्षणका लागि स्वयम् सेवकहरुको भूमिका अपरिहार्य भएको बताए । उनले समुदायमा हुने घट्नाहरुको सहि समय र सत्य रुपमा रिपोर्टीग गर्दै समाधानका लागि स्थानीय सरकारलगायत निकायसँगको समन्वयमा काम गर्न अनुरोध गरे ।
उद्घाटनमा बोल्दै कार्यक्रम संयोजक हेमराज भट्टले कार्यक्रमको बारेमा जानकारीसँगै तालिमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । बासका कार्यक्रम अधिकृत रविन्द्र बोहराले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत बास कैलाली शाखाका अध्यक्ष चिरन्जीवी छेडालले गरेका थिए । तालिममा सुदुरपश्चिम प्रदेश अन्तरगत ८८ ओटै पालिकामा कार्यरत युवा स्वयम् सेवकको सहभागिता रहेको छ ।