जानुका धमला
निश्चल निर्दोष तिम्रो आँखामा सजिएको परिवर्तनका सपनाहरू कति अजर–अमर थिए । सामन्त, घनाढ्यका छोराछोरीहरू तिम्रो उमेरमा हाइस्कुल पढ्दै थिए । तिम्रो त्यो उमेरमा वर्गप्रतिको अघात प्रेमकोसामु मैले व्यक्त गर्ने शब्द पनि फिकाफिका लाग्छ । वर्गप्रेमको लागि मुक्ति गीत गाउने तिमी, आजकाल तिमीले गाउने गीतका शब्दहरू फेरिएका छन् । तिमीले बजाउने मादलको खरी झरेका छन् । तिमीले समाएको हार्माेनियममा आजकल कर्कष आवाज मात्रै सुनिन्छ । सारङ्गीहरू रेटिँदैनन् । तामाङ्ग सेलोमा नाँचेका मैच्याङ्गहरू अहिले श्रृगारविहिन भएका छन् । तिमीले गाएको वर्गीयमुक्तिको भाकाहरू अहिले साससहित मुर्छित छन् ।
तिम्रो बुबालाई पनि आशा थियो, अघिल्लो शासनव्यवस्थाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको कुरा । एउटा असल व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य भएपछि उसले देख्ने सपना पनि परिवर्तन र वर्गमुक्तिको नै हुन्छ ।
प्रिय चन्चला ! आज तिम्रो जन्मदिन । तिमी बाँचिरहेको भए, अहिले आज तिमीले पनि ३६ आँै जन्मउत्सव धुमधामसँग केक काटेर मनाउने थियौ होला । बिडम्वना तिमी तिम्रो आँखाले देखेको सुन्दर सपनाको नजिक पुग्न नपाउँदै कठोर भीमकाय पहाडहरूसँग पौठेजोरी खेल्दै १८ वर्षको कलिलो उमेरमा नै मुक्ति यात्रामा विलिन भयौ, कहिल्यै नर्फकने गरी । तिमी भौतिक रुपमा विछोडिएको दिन पनि याद थियो मलाई । तर मलाई त्यो दिन भन्दा तिमी जन्मिएको यो दिन प्यारो लाग्यो । तिम्रो महान वलिदानीलाई शब्दले मात्रै त सम्मान हुँदैन तै पनि यो राजनैतिक वृतबाट हराउँदै गएको तिम्रो त्याग र वलिदानलाई सम्झने चेष्टामात्रै गरेको हुँ ।
तिमीसँगको सहयात्राका यादहरूमा तिमीलाई सम्झिएँ । यदि तिमी आजकै दिन नजन्मिएको भए हाम्रो भेट हुने थिएन र मैले तिम्रो बारेमा लेख्ने अवसर पनि पाउने थिइनँ । त्यसैले विछोडिएको दिन भन्दा पनि तिम्रो जन्मले सार्थकता पाएको दिन सम्झेको हुँ ।
साउनको महिना, एक हप्ता भएको थियो झरी पर्ने थालेको । किसानहरू खेतीपाती लगाउनमै व्यस्त थिए । सुनसान मध्यरात भाते निन्द्रा पातलिँदै थियो, सायद म तन्द्रमा उत्रेको थिए । कोल्टे फेर्न लाग्दा ढोकामा ढकढकाएको आवाज आइरहेको थियो । को होला त्यो ? चोर पो आयो कि ? कुकुर बेसरी भुक्यो । आ… जोसुकै होस, म निदाउँन खोजेँ । कोल्टे फर्किएँ । तर ढोकाबाट फेरि पनि आवाज आयो आमा ढोका खोल्नुस् न ! यतिबेलासम्म आमा ओछ्यानबाट उठेर बार्दलीको मेरो ओछयानछेऊ आइपुगिसक्नु भएको थियो । लस्कर मान्छेहरूकोबीचमा करिब १४, १५ वर्षकोजस्तो देखिने गोलो मिलेको अनुहार भएको सानो मान्छेलाई पनि देखँे । अचम्मित भएँ, यति सानोमान्छे पनि सर्वहारावर्गको मुक्तिको लागि व्यवस्था परिवर्तन गर्ने भनेर हिँडेको रे ! त्यो रात सानो मान्छे हाम्रो घरमा नै बस्ने निधो भयो । रातको करिब ३ बजेको थियो होला, ऊनी सुतिन् ।
व्यवस्था परिवर्तनको खातिर भएका हजारौँ वलिदानमध्यको वलिदानी गाथा हो तिम्रो पनि । एक होनहार बहुआयामिक प्रतिभाकी धनी एवं क्रान्तिकारी विचारले ओतप्रोत छोरी तिमी । चन्चला ! तिमीले वर्गीय प्रित लगाएका घ्याङफेदी, शिखरबेसी, गाउँखर्कका गाँउहरू आज पनि तिम्रो वर्गीयमुक्ति धुनको पर्खाइमा छन् । अझै पनि यहाँका दिदीबहिनीहरू यो वा त्यो बहानामा बम्वइको कोठरीमा पुग्छन्, त्यसैले भनेकी नि, तिमीले गाउने वर्गीय मुक्तिको धुनको आवश्यकता छ भनेर ।
नुवाकोट लिखु गाउँपालिका वडा न. ३, कटिछापको विरगाथा लिँदै छु । कटीछापमा फुलेको सुन्दर फुल गणतन्त्रको गर्भमै विलाएको कथा ।
सार्वभौम राष्ट्र नेपालका क्रान्तिकारी भाव भएकी योद्धा हुन् चन्चला आलेमगर क. ‘चेतना’ । उनै वीर सहिद रामबहादुर आलेमगरको जेठी सन्तानको रुपमा जन्मिएकी थिइन् । सहिद रामबहादुर आले मगरको पनि २०५८ चैत २४ गते नुवाकोटको कुमरीमा सेल्टर बसेको घरलाई घेरा हाली समातेर निर्ममतापूर्वक हत्या भएको थियो ।
चन्चला आलेमगर २०५९।०४।१९ गते शाही सेनाद्धारा सेल्टर बसेको घरमै घेरा हालेर भद्रटारबाट गिरफ्तार गरेर सेराको बगरमा लगेर बलत्कारपछि हत्या गरिएकी थिइन् । यो अवस्थालाई नियाल्ने हो भने किन बगाइन् त्यती कलिलो उमेरमा उनले वर्गमुक्तिको लागि रगत र अर्पण गरिन भौतिक शरिर ? उनको वलिदान सिमित मान्छेहरूको लागि रमाउने माध्यम बनेको छ । उनले बगाएको रगतले देशमा गणतन्त्र स्थापना भयो तर यस्तै गणतन्त्रको परिकल्पना गरेर न उनले रगत बगाएकी हुन् न अरु सहिदहरूले नै । जुन उद्देश्यका लागि रगत बग्यो त्यसको अवमुल्याङ्कन भयोभन्दा फरक पर्दैन । अहिलेको तामझाम र राजनैतिक अवस्था देख्दा ।
नुवाकोट जिल्लाको सामान्य किसान परिवारमा २०४१ सालमा जन्मिएकी हुन् चन्चला आलेमगर । उनले २०५२ सालमा जनयुद्धको घोषणा भएपछि नुवाकोट जिल्लाको अनेरास्ववियुमा रहेर विद्यार्थी आन्दोलनको तत्कालीन क्षेत्रपाल मा.वि.को स्कुल इकाई समितिको सदस्य हुँदै नुवाकोट जिल्लामा स्थापना भएको कलाकार टिमको पनि नेतृत्व गरिन ।
२०५८ सालमा नेपाल कम्युनिष्ट पार्टीको एरिया सदस्य हुँदै एरिया इन्चार्ज र २०५९ सालमा जिल्ला कमिटी सदस्य थिइन् । नुवाकोटमा चन्चला आलेमगरको सहादतलाई सम्मान गर्ने र बाटो उजिल्याउने कुन पार्टीेको नैतिक पुँजी र अधिकार होला र अहिले ? उनी के काविरुद्ध लडेकी थिइन् । ? उनले प्रारम्भ गरेको वर्गीय मुक्तिका सपनाका खाकाहरू कहाँ पुगे होलान् ? उनले गाएको गीतले ब्युझिएका गाँउबस्तीहरू कस्ता होलान् अहिले ? उनले नेता मानेकाको राजनैतिक हकवालाहरूको राजनैतिक हैसियत, सोच र सक्रियता कस्तो छ होला अहिले ?
नुवाकोटे जनताको नजरमा उनी राम्रो कलाकार मात्रै थिइनन् एक असल संगठनकर्ता पनि थिइन्, जनता नभएको पार्टीसँग आफ्नो भन्ने केही पनि हुँदैन् भन्ने मान्यताका साथ उनले गठन गरेका सयाँै जनवर्गीय संगठनहरू थिए । सानै उमेरमा क्रान्तिप्रति समर्पित उनको त्याग, समर्पणप्रति सम्मान छ । खरो स्वाभावको दृढ इच्छाशक्ति भएकी, व्यवहारमा अति सरल, सहयात्रीहरूसँग असल राम्रो व्यवहार गर्र्ने नेतृ हुन् उनी । उनको विश्व दुष्टिकोणमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद थियो । राजनितिमा वर्गसंघर्ष प्रधान हुन्थ्यो । कार्यकर्ता र जनताप्रति अगाध प्रेम थियो । वर्गदुश्मनप्रति तिव्र घृणा पैदा हुन्थ्यो त्यही भएर नै उनले त्यती सानो उमेरदेखि आफ्नो भौतिक सुख सुविधालाई त्यागेर परिवर्तनको बाटो अंगालेकी थिइन् । पाखण्ड खासै मन पर्दैनथियो उनलाई । जिल्लाको अन्तरविरोधको बेलामा पनि आफूलाई खरो रुपमा प्रस्तुत गरेर अन्तरविरोध मिलाउने कार्यदिशा निर्माण गर्थिन् उनी त्यो उमेरमा पनि ।
कुनै पनि ठाउँमा विचार मूल्यरहित हुँदैन, त्यसको मूल्य तिर्न विचारवानहरू सदा तत्पर हुनुपर्छ भन्ने मान्यता थियो उनको ।

लेखक
प्रसंग १८ वर्ष पहिलेको हो । जब उनी पूर्णकालीन भएर माओवादी आन्दोलनमा सहभागी भइन् नुवाकोटको माओवादी आन्दोलनका लागि अर्काे इट्टा थप्ने काम भयो । त्यो बेलाको केही समय उनीसंगै काम गर्ने अवसर पनि प्राप्त भएको थियो । सरल स्वभाव, जनताको दुःख सुखमा रमाउने, जनतालाई के समस्या परेको छ ? जनताहरू के चाहिरहेका छन्, जनताको चासोको विषयलाई कसरी सम्बोधन गर्ने र समस्याको हलतर्फ लैजानेसम्मको ज्ञान थियो उनमा ।
वर्तमानमा आफुले अंगालेको बाटोप्रति निकै खुशी देखिन्थिन । समय मिलेको वेलामा अन्तरक्रियामा भन्ने गर्थिन, ‘परिवर्तन आफंै आउने कुरा होइनरहेछ, यसलाई विभिन्न कोणसँग जोडेर हेर्नुपर्ने हुन्छ यो एक प्रकारको चमत्कार हो । जो कोहिले अनुभव गर्ने सक्दैनन् ।’
साँच्चै अहिले सम्झँदा लाग्छ, परिवर्तन जो कोहीले गर्र्ने सक्ने विषय होइनरहेछ । त्यही भएर त भनेकी रहेछन् उनले त्यो बेला । व्यक्ति स्वयं परिवर्तन हुने कुरा ठूलो होइन, उसको आचरण, व्यवहार, उसले गर्ने नेतृत्वदायी भूमिका हरेक कुरा महत्वपुर्ण हुन जान्छ । अहिलेको सन्दर्भमा नुवाकोटमा खड्किएको विषय पनि यही हो ।
घ्याङ्फेदी, शिखरबेसी, राउतबेसी, बेतिनी कार्यक्षेत्र थियो त्यो बेला हाम्रो । संंकटकाल भए पनि चेलीबेटी बेचविखन प्रकृया रोकिएको थिएन । एक पटक बेतिनीमा सिन्धुपाल्चोकबाट किशोरी लिनको लागि दलाल आएका रहेछन् । त्यो कुरा हामीले थाहा पाएपछि बेतिनीमा गयौँ । उनले त्यो दलाललाई यस्तो तरिकाले सम्झाई बुझाई गरिन् कि, चेली लिन आएको दलाल आफूले गल्ती गरेको र अब उप्रान्त चेलीबेटी बेचबिखन जस्तो जघन्य अपराध नगर्ने कसम खाएर फर्किएको थियो । त्योबेला भनेको एउटा शब्द अहिलेसम्म पनि याद छ । जबसम्म धनी र गरिबबीचको खाडल रहिरहन्छ तबसम्म म नेपाली दिदी बहिनीहरूको अवस्था यस्तै रहनेछ । वर्ग रहुन्जेल सबै कुरा जायज हुन्छ बाँच्नको लागि । जब समाजमा यस्ता विभेदहरू अन्त्य हुँदैनन् तब मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकारबाटै बन्चित भएको हुन्छ । अहिले सम्झँदा लाग्छ, गणतन्त्र आएपछि पनि यही नियती भोगिरहेका छन् । नेपाली जनताहरूले त्यही भएर पनि भनेकी हुँ उनमा विचारमा दुरदर्शिता थियो भनेर ।
अहिलेको परिस्थितिमा पार्टी विलयमात्रै भएन, हिजोको मूल्य मान्यता पनि लिलाम भयो भनाँै कुनै रद्दिको टोकरीमा गएर थन्किएका छन् उनका आदर्श र विचारहरू । पार्टी एकिकरणपछि त हिजोको वलिदानको गाथा च्यातिएका छन् । अलि अघिसम्म सहिदहरूको भागबण्डा गर्नेहरू अब त्यो व्यापारबाट पनि टाढा भागेका छन् । अहिले उनीहरूलाई विगतको रगतसँग कुनै पनि सम्बन्ध छैन् । हिजोका लाल क्रान्तिकारीहरू आज सत्तामा पुगेपछि स्वतः लाल स्वयत परिणत भएका छन् ।
आदर्शको नाममा सहादतको संवेदनालाई पनि बजारिकरण गर्छन् कहिलेकाहीँ उनीहरू । कहिले पोष्ट बहादुर बोगटीको नाममा त कहिले गजेन्द्र वाइबाको त कहिले भरत ढुङ्गानाको वा अन्य सहिदहरूको नाममा ।
सहिदको नाममा विलाप गर्नेहरू पनि देखेको छु । उनीहरूले बोल्ने शब्दमा न म आजकाल नयाँपन देख्छु न त उत्साह नै । विलापका नारा लगाइरहेका छन् उनीहरू । विलापमा कुनै नयाँ मार्गचित्र छैन, नयाँ संवेदना छैन, मानवियता पनि छैन । अहिलेको राजनैतिक वृतलाई नियाल्ने हो भने पनि पनि उनको बलिदानीले प्राप्त भएको सत्ताका सरोकारवालाहरूमा उपदेश पाखण्ड निर्दयी समाजमा मृत्युलाई साक्षी राखेर पालना गर्नुपर्ने नैतिकताको लयसम्म पनि र्बििर्सएको पाउँछु । जहाँ विचार लिलामी हुन्छ, त्यहाँ सपनाहरू देख्दै नदेखी सकिएको पनि अनुभव गरेको छु ।
एउटा आन्दोलनले पैदा गरेको आदर्श नैतिक सपनाको मार्गचित्र हुन् उनी मेरो नजरमा । यतिखेर मैले न उनको आदर्शको मार्ग चित्रलाई बिर्सेको छु न त यो वा त्यो वहानामा उनको सपनामाथि कुठारघात नै । क्रान्तिको नाममा जनतालाई धोका भएको छ वा सहिदको रगतको अवमुल्याङ्कन भएको छ । यो सधैँ भनिरहने छु, जबसम्म मुल्य मान्यता एकातिर स्वार्थ अर्कोतिर हुन्छ । जब पार्टीमा गुट मौलाउँछ आफ्नो योग्यता, क्षमता र दक्षताको अभ्यास गर्न कुनै गुटलाई समातेर बैतर्णी तर्नुको अर्थ पनि हुँदैन सायद ।
सबै परिवर्तनलाई मूर्त र व्यवहारिक रुप दिने भनेको राजनिति र नेताहरूले नै हो । उनीहरूको सामाजिक चरित्रले पनि । आवश्यकताअनुसार नैतिक अपेक्षा पक्कै पनि गरेका हुन्छन् जनताले । जब एक इमान्दार नेताको सहादतले वर्तमान अवस्थाको आवश्यकतालाई पक्कै पनि अनुभव गराउँछ । वर्तमानका सपनाहरू सम्झँदा भविष्य गम्दा, तब हृदयका भावहरू कुर्लन थाल्छन आक्रोशको ज्वालामुखी उभिन्छ मनभित्र, हाम्रो इतिहास लास गनेकाहरूको कथा हो । हामी मसानघाटको साक्षी हौं ।
अहिले क्रियाप्रतिक्रिया अनेक तरिकाले व्यक्त भएका छन् । सामान्यतया क्रियाप्रतिक्रिया शक्ति बुझ्न र नारी समाउन चुक्छन् । यति सानो उमेरमा वर्गप्रेमप्रति तिम्रो आत्मालाई स्यालुट छ । तिम्रो भौतिक शरिर गुमेको हो तिम्रो आस्था र वर्गप्रेमको नाता युगौँ युगसम्म बाँचिरहने छ । गोधुली सन्ध्यामा पनि कहिल्यै विलिन नहुने तिम्रा यादहरू । जति सम्झ्यो उति पीडा कथा जिन्दगीको । जति लेख्यो उति निकट कथा प्यारी तिम्रो । प्यारी चन्चला ! तिमी प्रति हार्दिक श्रद्धासुमन अजर अमर सम्झना ।









































