नुवाकोटः
जेठ १५ गते सरकारले बजेट घोषणा गरेपछि त्यसका बारेमा चर्चा सामाजिक सञ्जालमा चर्को भइरहेको छ । सरकारका मन्त्रीसमेत रहेका नुवाकोटबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले नुवाकोटमा परेका विभिन्न शीर्षकका बजेट सामाजिक सञ्जाल फेसबुकमा नभइ रातो किताबमा आउने जवाफ दिनुभएको छ । गृहजिल्लाको बजेटबारे सामाजिक सञ्जाल फेसबुकमा मन्त्री तामाङ तथा अन्य नेतालाई समेत जोडेर टिकाटिप्पणी हुन थालेपछि गृहजिल्लाको एक कार्यक्रममा गएका बेला तामाङले यस्तो जवाफ दिनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङले विगतका वर्षमा कतिपय नेताले आफूखुसी बजेट तर्जुमा गरेर फेसबुकमा बढी हो हल्ला गर्ने गरेको समेत बताउनुभयो । “विगतका वर्षमा सत्तामा रहेका नेतृत्वले आफूखुसी बजेट तर्जुमा गरेर सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउन होहल्ला र प्रचारबाजी धेरै हुने गरेको थियो ।” सूर्यगढी गाँउपालिका–३ चोकदेमा बागेश्वरी माध्यमिक विद्यालयको ७४औँ बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री तामाङले भन्नुभयो “अहिलेको बजेटमा जनताले माग गरेका योजना र राज्यको तर्फबाट न्यायसंगत रुपमा गर्नुपर्ने सम्बोधनका आधारमा तर्जुमा गरिएको छ । बजेटका शीर्षकहरु धेरै छन् । ती विषयहरु सामाजिक सञ्जालमा होइन, रातो किताबबाट सार्वजनिक हुनेछ ।”
मन्त्री तामाङले आर्थिक वर्ष २०८१÷०८२ को बजेट जनताको माग र आवश्यकताको आधारमा विनियोजन गरिएको प्रष्ट पार्नुभएको छ । विगतका वर्षमा माथिबाटै बजेट लाद्ने काम हुने गरेकोमा यो पटक तल्लो तहमा रहेका जनताको माग र देखिएका आवश्यकताको आधारले समावेशी रुपमा बजेट विनियोजन गरिएको बताउनुभएको हो । बजेटको प्राथमिकता जनताको दैनिक जनजीवनसंग जोडिएका विषयदेखि सँस्कृति र धर्मको संरक्षण तथा स्वरोजगार केन्द्रितका विषयहरु प्राथमिकतामा परेको उहाँको भनाइ छ ।
नुवाकोटको ऐतिहासिक महत्वको सूर्यगढी, जीतगढी र दुधेगढी लामाको स्थानको संरक्षण र पर्यटन प्रवद्र्धन, ड्वाचे खानेपानी आयोजना, खेल मैदान र कर्भडहल निर्माणको लागि बजेट विनियोजना गरिएको उहाँले जानकारी दिनुभयो । “वडा कार्यालय, मन्दिर र गुम्बा, पहिरो नियन्त्रण तथा वस्ती संरक्षण, सहिद पार्क निर्माण, चोकदे– मालाभञ्याङ सडक विस्तारलाई बहुवर्षीय योजनामा समावेश गरेका छौँ ।” उहाँले भन्नुभयो, “अपेक्षा अनुसारको सम्बोधन नभए पनि माग र आवश्यकताको आधारमा जनता माझ राज्यको उपस्थिती हुने गरेर बजेट विनियोजना गरिएको छ ।”








































