काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले वेवास्ता गरेका कारण मुलुक दोस्रो चरणमा पुगेको आरोप लगाएको छ। पार्टी महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ती जारी गरी विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा संक्रमण देखिएसँगै नेपाल अव भयावह स्थिति तर्फ उन्मुख भएको जनाएका छन् ।
विदेशबाट नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्ने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सुझाव दिँदा पनि सरकारले पूरै बेवास्ता गरेको वैद्यको आरोप छ ।
उनले स्वास्थ्यकर्मीलाई निजी सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था मिलाई परिचालन गर्नुपर्नेमा सरकार स्वास्थ्य सामग्रीबाट कमिशन प्रकरणमा लागिपरेको बताएका छन् ।
“संक्रमित विरामीहरुको सम्पर्कमा रहने सबै प्रकारका स्वास्थ्यकर्मीहरुका लागि निजी सुरक्षाका उपकरणको पर्याप्त व्यवस्था मिलाई सरकारी तथा निजी दुवैथरी अस्पतालहरुलाई सरकारले परिचालन गर्नु पर्दछ भनी हाम्रो पार्टीले यसभन्दा अगाडिका वक्तव्यहरुमा जोडदार माग राख्दै आएको थियो । तर सरकारले यसलाई गंभीर रुपमा कहिल्यै लिएन बरु कमिशनको पछाडि दौडियो ।” विज्ञप्तीमा भनिएको छ ।
क्रान्तिकारीले सरकारका कारण स्वास्थ्यकर्मीहरुमा आतंक मच्चिएको आरोप लगाएको छ । “मोटो रकम लिएर ओम्नी विजनेस कर्पोरेट इन्टरनेशनल मार्फत सरकारले चीनबाट केही उपकरण ल्यायो र विश्व स्वास्थ्य संगठन र नेपाली डक्टरहरुले तिनको विश्वसनीयता माथि प्रश्न उठाए । यसरी सुरक्षा उपकरणहरु नभएको र भएका पनि विश्वसनीय नभएको स्थितिले देशैभरी सम्बन्धित स्वास्थ्यकर्मीहरुमा एक प्रकारको आतंक पैदा गराएको छ ।” महासचिव किरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तिमा ‘हाम्रो पार्टी नेपाल सरकारको यस्तो लापरबाही र गैरजिम्मेवारीपूर्ण रवैयाको घोर भ्रत्सना गर्दछ’ भनिएको छ ।
Recent Comments