काठमाडौं ।
मन्त्रीपरिषद्को बैठक आज अपरान्ह बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले जारी लकडाउन एक साता थप गर्ने बिषयमा निर्णय गर्ने बताईएको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रबिधिमन्त्री डा. युवराज खतिवडाले गत शनिबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनीक गर्ने क्रममा लकडाउनबारे अर्को बैठकले निर्णय गर्ने बताएका थिए ।
यसअघि चैत १६ गते बसेको मन्त्रीपरिषद्ले थपेको अकडाउनको अवधी भोली सकिने भएकाले आजको मन्त्रीपरिषद् बैठकले यसबारे निर्णय गर्न लागेको हो । कोरोना रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको हिजोको बैठकले लकडाउन एक साता बढाउन सरकारलाई सुझाव दिएको छ । आजको मन्त्रीपरिषद् बैठकले सो सुझाव अनुमोदन गरे जारी लकडाउन एक साता लम्बिने छ ।
कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेकाले जनस्तरबाट पनि लकडाउन थप्नुपर्ने आवाज उठेका छन् । मन्त्रीपरिषद् स्रोतका अनुसार सोही अनुरुप कम्तिमा एक साता लकडाउन थप्न मन्त्रीपरिषद्ले निर्णय गर्न लागेको छ ।









































