३२ जेठ २०८१
काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताउनुभयो । उहाँले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै गरिने उल्लेख गर्नुभयो ।
हवाई टिकटको अनावश्यक भ्याट हटाउँदा पर्यटकलाई नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने भन्दै उहाँले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरि कम्तीमा १६ लाख पर्यटक भित्राइने बताउनुभयो । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।