गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे ।
उनले विश्व बैकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले गण्डकी प्रदेशको विकासमा पनि योगदान गर्दै आएकामा धन्यवाद दिए ।
प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उनले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा ८ प्रतिशत योगदान गर्ने जानकारी गराए । राजस्व परिचालन २ देखि३ अर्बको बीचमा रहेको भन्दै उनले प्रदेशमाआर्थिक क्रियाकलापहरु कम भएकाले स्रोत परिचालन न्यून रहेको उल्लेख गरे ।
सिमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अगाडि बढेको अवस्थामा आकस्मिकरुपमा आएको कोभिड महामारीले आर्थिक सामाजिक अवस्थालाई क्षत विक्षत पारेको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेश सरकारले एकातिर कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गर्नु आवश्यक रहेको भन्दै उनले भने, ‘अर्कोतर्फ हामीले तय गरेको १०.२ प्रतिशतको आर्थिक बृद्धि, समृद्ध प्रदेश सुखी नागरिकको सोच पूरा गर्न विशेष प्रयत्न गर्नु आवश्यक छ ।’
मुुख्यमन्त्री पोखरेलका अनुसार प्रदेशका निर्धारित लक्ष्य हासिल गर्न जम्मा १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने हुन्छ । तर हालसम्मको लगानी प्रक्षेपणको तुलनामा निकै कम रहेको उनले बताए । लगानीको लक्ष्य भेटाउन प्रदेशले विश्व बैंकजस्ता संस्थासँग सहयोगको अपेक्षा गर्नु पर्ने उनको भनाइ थियो ।
सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्ग प्रशस्त गर्ने भन्दै उनले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नु पर्ने वाध्यता रहेको जानकारी गराए ।
मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरुप नै फेरिने भन्दै मुख्यमन्त्री पोखरेलले छ । यो मार्गलाई गण्डकी प्रदेशले समृद्धि मार्गको रुपमा लिएको छ । पोखरादेखि काठमाडौंको यात्रा बढीमा २ घन्टामा पार गर्न सक्ने बनाउनका लागि विश्व बैंकको सहयोग रहेमा यो प्रदेश समृद्ध हुन ठूलो मद्धत मिल्ने मुख्यमन्त्री पोखरेलले बताए ।
पर्यटकीय पूर्वाधारहरु पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मादी नदी उपत्यका विकासको बृहत परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हिमाली जिल्ला मनाङमा गल्फ मैदान लगायतका पूर्वाधार कार्यान्वयनमा ल्याउन मद्धत गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलका अनुसार मस्र्याङ्दी उपत्यका विकासको बृहत परियोजना, कालीगण्डकी भ्याली विकास परियोजना, मुस्ताङ भ्याली विकास परियोजना, नवलपुरदेखि गजेन्द्रधामसम्म नारायणी नदी नियन्त्रण र संरक्षण सम्बन्धी बहुउद्देश्यीय विकास आयोजना प्रदेशका सपना हुन् । उच्च भूभागमा रहेको गोरखाको चुमनुम्री उपत्यकामा हाइ एल्टिच्युडमा अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङस्थल विकास गर्ने कार्यमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
यसैगरी सबै विद्यालयलाई डिजिटाइज गर्ने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्ने, व्यावसायिक शिक्षा तथा तालिमका कार्यक्रलाई प्रत्येक स्थानीय तहमा विस्तार गर्ने, गुणस्तर प्रमाणित गर्न र विदेशमा समेत यस्ता तालिमको मान्यता पाउने अवस्था सिर्जना गर्न आवश्यक परियोजना सञ्चालन गर्न गण्डकी सरकार लगानीको खोजिमा रहेको उनले बताए ।
उत्तरगंगा जस्तै जलासययुक्त ठूला जलविद्युत आयोजनामा सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा गरिएको उनले बताए । प्रदेशका सीमा नाका कोरला, लार्के भञ्ज्याङ, सुस्तासम्मको आवत जावत सहज बनाउन सडक यातायातको निर्माण तथा स्तरोन्नति गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि संस्थागत क्षमता विकासमा विश्व बैंकको सहयोग आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
खानेपानी सुविधा पुग्न बाँकी कठिन स्थानमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय पानी उपलब्ध गराउन खानेपानीका विशेष परियोजना सञ्चालन गर्ने, प्रदेशको प्राथमिकतामा परेका ठूला सिञ्चाई आयोजना सञ्चालनमा आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको उनले बताए । यसैगरी प्रदेशको एकीकृत प्रमुख प्रशासनिक भवन निर्माणमा सहयोगको अपेक्षा गरिएकोभनाइ राखे ।
मुख्यमन्त्री पोखरेलले विश्व बैंकबाट प्रदेशमा सिधा स्रोत उपलब्ध हुने र प्रदेश सरकारले नै परियोजना कार्यान्वयन गर्ने व्यवस्थालाई व्यवस्था अवलम्बन गरिनु पर्ने भन्दै यसले अपनत्व वृद्धि हुने, प्रदेशको क्षमता विकास हुने, गुणस्तर कायम हुने र विकास दिगो समेत हुने विश्वास व्यक्त गरे ।
विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको संघीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको भनाइ राखे । कनेक्टिभिटीलाई आफूहरुले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङ लगायत जिल्लामा उत्पादित अर्गानिक सामग्रीको ब्रान्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताए ।