आज फागुन १ गते महान जनयुद्धको थालनीको स्मरण दिवस मनाएर गरिदैँछ । जनयुद्ध थालनीको यतिका बर्ष पार हुँदा युद्धले नीतिगत रुपमा शान्तिप्रकृयामा सामेल भएको र युद्धरत पक्ष संसदीय राजनीतिमा प्रवेश गरि युद्धका नायकले नै सरकार चलाइरहेको अवस्था छ । तर यसबीचमा जनयुद्धका कार्यभारले कति तार्किक निष्कर्ष पाए ? जनयुद्धमा होमिएर देश र जनताका लागि प्राण आहुती दिनेहरुका सपना कति पुरा भए ? २०५२ साल फागुन १ गते गरिएका प्रतिबद्धताअनुसार कति पुरा भए कति अधुरा रहे निर्मम समिक्षा जरुरी छ । एकातर्फ युद्धरत एकपक्ष सरकारमा बसेर शासन गरेको छ भने अर्को पक्ष अझै युद्धको आवश्यकता महशुस गरि संसदीय राजनीति र संघिय शासन प्रणालीको वर्तमान व्यवस्थाको विरोध गरी संघर्षमै छ । सरकारले तत्कालीन युद्धका सहयात्रीलाई नै प्रतिबन्ध लगाएका बेला ऐतिहासिक जनयुद्ध पहलका प्रतिबद्धता स्मरण र आत्मसमिक्षा गर्नु जरुरी छ ।
यी हुन् जनयुद्धको ऐतिहासिक पहलका लागि सैद्धान्तिक प्रतिबद्धताहरू
(क) हाम्रो यो योजना क्रान्तिकारी हिसाब सम्बन्धी मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार “गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्ध” का रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना अपराजय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल नरहने प्रतिज्ञा गर्दछ ।
(ख) जनयुद्ध थालनीको हाम्रो योजना, “राज्यसत्ताबाहेक अरू सबै भ्रम हो” भन्ने यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो कटिबद्धता जाहेर गर्दछ ।
(ग) हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य–साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजान दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलार्ई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पूँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, सम्प्रदायिक एवम् जातिवादी विभ्रमबाट सम्पूर्ण रूपले मुक्त रहेनछ ।
(घ) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रियवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति सर्वहारा विश्वक्रान्तिको भिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको “क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम)” (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पुर्याउने कुरारालाई गम्भीरतापूर्वक लिन्छ ।
(ङ) यो योजना, नयाँ जनवादी क्रान्ति कालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारीलाई संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणका सैद्धान्तिक मान्यतमा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टीभित्र सङ्घर्षलाई द्वन्द्वात्मक तरिकाले ग्रहण गर्नु, त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्नु, जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
(च) हाम्रो यो योजना, सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई संयुक्त पारी सशस्त्र सङ्घर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी कुनै देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन ।
(छ) युद्धका आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन, जटिल बक्ररेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैँले आफ्नो विकास क्रममा सधैं नै असाधारण जटिल परिस्थितिको सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात् गरेर जानु अनिवार्य छ । जित र हारको उपलब्धि र क्षतिका चक्रहरू पर गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।
नेकपा (माओवादी) का ऐतिहासिक दस्तावेज, भाग १ मा प्रकाशित
२०६२ असोजमा चुनवाङ्गमा भएको केन्द्रीय समितिको बैठकमा पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समेत पास गर्यो । चुनवाङ्ग बैठकको जगमा टेकेर २०६२ मंशीर ७ गते निरङ्कुश राजतन्त्र विरुद्ध ७ संसदवादी दलहरुसँग १२ बुदे समझदारी कायम भयो । सोही समझदारीका बलमा २०६२ चैत्र २४ गतेबाट शशक्त जनआन्दोलन सृष्टि भयो ।
१९ दिनको लगातारको आन्दोलनपछि २०६३ बैशाख ११ गते संसद पुनस्र्थापनाको शर्तमा संसदवादी दलले दरवारसँग सम्झौता गरे । १९ दिने जनआन्लोलन उत्कर्षमा त पुग्यो । ०६३ बैशाखमा १४ गते माओवादी पार्टीले युद्धविराम गर्यो ।









































