सेयर
–सुमि ना
हरेक दिन हरेक अन्दाजमा
गरिरहन्छु म
आफ्नै प्रसोधित अनुहारको प्रचार
पहिलो दिन बनाएरै डिम्पल देखाउँछु
दोश्रो दिन बनावटी मुस्कुराएर दाँत देखाउछु
तेस्रो दिन ओठहरूको फरक प्रदर्शन गर्छु
आहा ,वाह , सुन्दर ,अद्भुत
हरेक दिन यसैगरी कथित सौन्दर्यताको प्रसंशा गरेर
बजार मेरो अनुहारको ब्याख्या गरिरहन्छ
मलाई बजारका प्रसंशाहरूको नशा चढ्छ
र म थप प्रचार गर्न थाल्छु –
अलिकति पारदर्शी कपडामा केही संवेदनशील अङ्गहरू
र अघोषित रुपमा भन्न थाल्छु-
‘आउ तिमीहरू अझ धेरै प्रसंशा गर’
बजार प्रसंशा गर्दै जान्छ ..
म प्रदर्शित हुँदै जान्छु …
आफ्नै शरिरलाई प्रदर्शनी बनाएर
थाह छैन म के -के देखाउछु
बजार प्रसंशाका तालीहरू पिटेर
मलाई निरन्तर प्रोत्साहित गरिरहन्छ
कुनै दिन म सर्वाङ्ग नाङ्गिन्छु
बजार तमासा हेर्दै भन्न थाल्छ
तँ अब मान्छे होइन बस्तु होस् बस्तु
तेरा प्रत्येक अङ्गहरू प्रदर्शनको निम्ती राखिएका
प्रदर्शित साधनहरू हुन्
ऊ मलाई प्रश्न गर्छ
तँलाई थाह छ ?
प्रसंशाहरूको मोहले कतिबेला बनिस् त नग्न ?
कतिबेला बनिस् चेतना गुमाएर
मान्छेबाट बस्तुमा रूपान्तरित ?
नङ्गाउनु बजारको चरित्र हो
तँ बजार चतुरताको गुलाम होस् गुलाम !
अन्ततः
बजार मेरो मस्तिष्कको कर्मलाई
निष्क्रिय पार्दै
चेतना बिहिन बिल्कुल शरीरधारी बस्तु बनाएर
मेरो स्खलित व्यक्तित्वको व्यापार गरिरहन्छ …!!
shere this









































