काठमाडौं ।
धादिङको रोराङ गाउँपालिका २ को चेपाङबस्तीमा खानेपानीको हाहाकार भएको छ । खडेरीसँगै रोराङ २ ब्रोसबाङ साविक महादेवस्थान ३ को चेपाङ बस्तीमा खानेपानीको अभाव सुरु भएको हो । हरेक बर्षजस्तै यसबर्ष पनि खानेपानीको जोहो नभएपछि आकास हेरेर बस्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।
एक गाग्री पानी लिन ४ घण्टा उकालो धाउनुपर्ने बाध्यतामा रहेका स्थानीयले खानेपानीबाहेकको पानीका लागी आकासे पानीको भर पर्ने गरेका छन् । खेतीयोग्य जमिन नभएका कारण बर्षमा चार महिनामात्र खान पुग्ने अन्न उब्जाउने चेपाङ स्थानीय खानीखोला, महादेवबेसी, गल्छी, त्रिशूली नदीकिनारमा गिटी कुटेर जीविका चलाउँछन् ।
तत्कालीन एमालेका स्थानीय नेता टङ्क थापाले पनि गएको निर्वाचनमा आफू विजयी भएमा उक्त बस्ती स्थानान्तरण गर्ने नारा दिएर वडा अध्यक्ष जितेपनि बस्ती स्थानान्तरण हुन भने सकेन । स्वास्थ्य सुविधा, यातायात, शिक्षा कुनै पनि आधारभूत आवश्यकता उपलब्ध नभएको ब्रोसबाङमा कोरोना जीवाणुका कारण ज्यामी कामसमेत नपाउँदा भोकमरी लागेको छ ।