रामहरि न्यौपाने
नुवाकोट ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गरेर अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।
दिवंगत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावर गर्दै अध्यक्ष प्रचण्डले अमेरिकी अनुदान सहयोग कार्यक्रम (एमसिसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानको लागीससत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोशिस गरिने बताउनुभयो ।
“केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचन केन्द्रित दुई महिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ ।” उहाँले भन्नुभयो “अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पाटीलाई बिजय गराउनको लागी अपिल गर्ने नीति पाटीले अवलम्वन गरेको छ ।”
स्थानीयतहको चुनावमा सकेसम्म एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तर, सत्तारुढ गठबन्धनबीच तालमेल कायम राख्न कोशिस गर्ने उहाँको भनाई छ । “जनतासंगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभ्भिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो । तर, सत्तारुढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसको लागी पनि नेतृत्वले प्रयास गरिराख्छ ।” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
दिवाकरको सम्झना:
नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी पाटीको संगठन निर्माण सहित सुद्धिढिकरणमा शालीन र शिष्ट नेता दिवाकरको निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खड्किरहेको अध्यक्ष प्रचण्डले बतउानुभयो । ‘पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’का संरक्षक समेत रहनुभएका प्रचण्डले विदुर–५ पिपलटार पार्कमा बनाइएको शालिक मात्र नभई उहाँको योगदानको शिक्षा ग्रहण गर्ने थलोको रुपमा विकास गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा रहनुभएका नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महत, नेका कार्यसम्पादन समितिका सदस्यहरु डा.रामशरण महत, अजुर्ननरसिंह केसी, नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य हितबहादुर तामाङ, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रकाश लाहनी लगायतका वक्ताहरुले दिवाकरलाई सामान्य जीवनशैली, देश र जनताको लागी इमान्दार व्यक्तित्व एवम् टुटफुट भन्दा पनि एकताको पक्षमा लगनशील व्यक्तित्वको रुपमा उहाँको योगदानको चर्चा गर्नुभयो ।
तत्कालीन पाटी उपाध्यक्ष समेत रहनुभएका दिवाकरको विसं २०७१ साल भदौ ३० गते हृदयघातको कारण निधन भएको थियो । पूर्वमन्त्री समेत रहनुभएका उहाँको स्मृतिमा नुवाकोटको पिपलटारमा स्थापना गरिएको पूर्णकदको शालिकको अनावरण गरिएसगैँ उहाँको जीवन झल्कने वस्तुस्थिती, लेख रचना, पाटीको लागी पुराएको योगदान लगायतका सामाग्रि समावेश गरेर पुस्तकालय समेत स्थापना गर्ने र उहाँको अधुरो सपना पूरागर्ने अभियानमा लाग्ने प्रतिष्ष्ठान अध्यक्ष हितराज पाण्डेले बताउनुभयो ।
दिवाकरको जन्म नुवाकोटको साविक तुप्चे गाविस–२ स्थित भित्रिनिटारमा विसं २०१० सालमा भएको थियो । नेपाली आन्दोलनको ऐतिहासिक चरणहरु विसं २०३६ सालको पञ्चायत सुधारको आन्दोलन, विसं २०४६ सालको बहुदल स्थापनाको आन्दोलन, विसं २०५२ सालदेखिको एक दशकसम्म चलेको जनयुद्ध (सशस्त्र) आन्दोलन, विसं २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गर्नुभएका दिवाकर पटक पटक दमन, गिफ्तार, यातना र चुनौतीमाझ पनि कहिल्यै नझुक्ने निडर क्रान्तिकारी योद्धाको रुपमा लिने गरिएको छ ।