काठमाडौं ।
कन्चनपुरको गड्डाचौकीमा झिसमिसेमै भारतबाट आउने नेपाली आईसकेका थिए । हेल्थ डेक्समा जाँच हुँदै थियो केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट तीन हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भिड नियन्त्रण गर्नै हम्मे भयो । कामको खोजीमा भारत पसेकाहरु विसु पर्व नजिकिदैँ गर्दा घर फर्किने पुरानै चलन हो । आजका पत्रपत्रिकामा खबर छ ।
यसपटक कोरोनाको त्रासका कारण नेपाली कामदार चैते दशैँ र विसु पर्व अगाडी नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किरहेका छन् । ‘एकैपटक यती धेरै भिड आउला भन्ने हामीले सोचेकै थिएनौं । त्यसअनुसारको तयारी पनि थिएन ।’ हेल्थ डेक्सकी इन्चार्ज निर्मला जोशीले भनिन्, ‘एकपटक त हामीलाई स्वास फेर्नसमेत गाह्रो भयो ।’
उनका अनुसार शनिवार १३ हजार भन्दा बढि नेपाली कामदार घर फर्किएका छन् । हेल्थ डेक्समा अत्यावस्यक सामाग्री र जनशक्तिको अभावका कारण प्रभावकारी स्वास्थ्य जाँच तथा भिड व्यवस्थापन गर्न नसकिएको उनले सुनाईन । यहाँ बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म जाँच भइरहेको उनले बताईन । हेल्थ डेक्स राखिएको स्थानदेखी कन्चनपुर भन्सारको ब्यारियरसम्मै यात्रुको भिड बढेपछि सुरक्षाकर्मीलाई समेत नियन्त्रण गर्न समस्या भएको थियो ।
उनीहरुलाइ भन्सार कार्यालय परिसरमा राखेर जाँच गरिएको थियो । त्यसपछि थर्मोमिटर पनि थप भयो । भिडभाड कम भएपछि सहज भएको जोशीले बताईन । बिहानको दुई तीन घण्टा निकै अप्ठ्यारो भएको जाँचमा संलग्न चिकित्सकले बताए । जाँचका लागि यात्रुहरु घण्टौसम्म लाईन लागेका थिए ।