कुनै पनि काम गलत समयमा भए वा बेप्रसङ्ग अनुपयुक्त बेलामा भए भुतले खाना खाने बेला भन्ने गाउँले चलन छ । यो कथन यति बेला नुवाकोटका नेकपा नेताहरुलाइ ठ्याक्कै लागू भएको छ । नेकपा नुवाकोट जिल्ला सदस्य शिव पौडेलले फेसबुकमा लेखेका छन्ः
पार्टी नेतृत्वको निर्देशन र आफ्नै कमिटीको निर्णयविपरीत नेकपा नुवाकाेटका नेताहरुले पिकनिक खाएपछि चौतर्फी विरोध भएको छ ।
सरकारले र सरकारको नेतृत्व गर्ने आफ्नै माउपार्टी विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट सुरक्षाका भेला भोज भतेर जमघटमा रोक लगाएको छ । सरकार र पार्टीको निर्देशानुसार पार्टी जिल्लाकमिटीले पनि जिल्लाका सबै पालिकाका पदाधिकारी र सदस्यको लागि आयोजना गरेको सपथ कार्यक्रम कोरोना भाइरसविरूद्धको सतर्कताका लागि भन्दै स्थगित गर्ने निर्णय गरेको थियो ।
तर नेकपा नुवाकोटका नेताहरूले भने टोखाको भुतखेल चौरमा पिकनिकको नाममा सय जनाको हाराहारीमा भेला भएर शनिबार भोजभतेर गरेर रमाइलो गरेको बिषयले अहिले चर्चा मात्रै पाएको छैन् । विरोध पनि भएको छ ।। नुवाकोटका पूर्व सांसद समेत रहेका नेकपा वागमती प्रदेशका नेता राजेन्द्र प्रकाश लोहनीको अगुवाइमा भुतखेलको चौरमा खाना गाना र बजाना भएको हो ।
पिकनिकमा प्रदेश ३ की उपसभामुख राधिका तामाङ, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद वद्री मैनाली, नेकपा नुवाकोटका नेता बुद्धि प्रधान, विष्णु लोहनी, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकका अध्यक्ष रमेश वस्ती लगायतका नेताहरू सहभागी थिए ।
सामाजिक सञ्जालमा नेकपाकै कार्यकर्ताले भोज र नाचागानका विषयमा तीव्र असन्तुष्टी जनाएका छन् ।