नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालयमा बुधबार दिउँसो स्थानीयले धर्ना दिएका छन् । वडा नं ६ मा रहेको चौरलाई खेलमैदान बनाउन प्रदेश सरकारले विनियोजन गरेको बजेट नगरपालिकाले सम्झौता नगरी अन्यत्र खर्च गर्न थालेपछि स्थानीयले बुधबार नगरपालिकाको कार्यालय घेरेका हुन् । भैँसी काट्ने चौरलाई खैलमैदान बनाउन यस आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले रकम विनियोजन गरेको थियो । बजेटको सम्झौता गरी खेलमैदान निर्माण गर्न दबाब दिँदै नगरपालिका पुगेका स्थानीयलाई छलेर मेयर राजेन्द्ररमण खनाल भने फरार भए ।
स्थानीयलाई देखेपछि एकछिनमा आउने भन्दै गएका मेयर फर्केनन् बरु ठुलो संख्यामा प्रहरी नगरपालिकाको कार्यालयमा तैनाथ गरिए । प्रहरी आएपछि विरोधका लागि पुगेका स्थानीयले कार्यालय परिसरमै धर्ना दिएका थिए ।
बेलकोटगढी नगरपालिकामा एक वर्षदेखि वृद्धभत्ता वितरण नभएको भन्दै चर्को आलोचना भइरहेको छ । यस्तै नगरपालिकाभित्रका सामुदायिक विद्यालयको रकमसमेत नगरपालिकाले हिनामिना गरेको आरोप लागेको छ ।
खेलकुद मैदान निर्माणको सम्झौतामा मेयर खनाल र प्रशासकिय अधिकृत दिपकप्रसाद खतिवडाले आलटाल गरेपछि नेपाली काँग्रेसका वडासभापति रेवतीप्रसाद नेपाल, नेकपा एमाले वडा अध्यक्ष अम्बिका तामाङ, माओवादी केन्द्रका वडा अध्यक्ष कमल सुवेदी, झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपाल नेतृत्वको टोलीले खेलकुदको रकम खेलकुदमै लगाउनुपर्ने माग सहित नगरपालिका घेराउ गर्न पुगेका थिए ।
खेलकुद मैदान निर्माणका लागि गत माघमा नै इन्द्रबहादुर लामाको अध्यक्षतमा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । तर समिति बनेको ५ महिनासम्म पनि नगरपालिकाले निर्माण सम्झौता गरी काम अघि बढाउन चासो नदेखाएको लामाले बताए । नगरपालिकाले खेलमैदानका लागि आएको रकम अरु योजनामा रकमान्तर गर्न लागेको लामाको आरोप छ ।