सेयर
जसको मन सफा भएन
तिम्रो शरिरमाथि
जो लम्पट भयो
छली बन्यो, कपट गर्यो
त्यो पुरुष थियो
भलै देवताहरूको राजा किन नहोस !
न कुनै गल्ती
न कुनै भुल-चुक
महिला थियौ, धर्म निभायौ
फेरि पनि जो तिमीसँग क्रुद्ध भयो
श्राप दियो, मृत पत्थर बनायो
त्यो पुरुष थियो
भलै ऊ ऋषिहरूमै यशस्वी किन नहोस !
पतित ती थिए
जो लम्पट थिए, क्रोधी थिए
छली थिए, कपटी थिए
प्रताडित उनीहरूलाई गर्नु पर्थ्यो, गरिएन
तिम्रो उद्धार गरेर महान बनाइयो
त्यो पनि पुरुष थियो
भलै ऊ ठूलो कुलको राजकुमार किन नहोस !
ती पुरुष थिए
हरेक पटक श्रेष्ठ बनिरहे
कहिले लम्पट बनेर
कहिले क्रोधित बनेर
कहिले उद्धारक बनेर !
तिमी स्त्री थियौ अहल्या
हरेक पटक दिनु पर्यो तिमीले
आफ्नो बलि !
-अनुवादः बलराम तिमल्सिना
shere this