यो संसदवादी आसको भास भनेको गजबकै भास र त्रास रहेछ । कम्युनिस्ट क्रान्तिकारीहरु त झन् त्यसमा पसेपछी साँच्चिकै उठ्नै नसक्ने भास, उम्कनै नसकिने भास, झन् पछि झन् भासिदै जाने भास र त्यसमै चुर्लुम्म डुबेर सिद्धिने भास पो रहेछ । नेपालको संसदमा भाग लिएको एउटा शक्ति तत्कालीन नेकपा (एकताकेन्द्र) वा भनौं त्यसको खुला मोर्चा संयुक्त जनमोर्चा, नेपाल बाहेक दुई दर्जन बढी कम्युनिस्ट पार्टीहरुमधे अरु कुनै पनि वामपन्थी वा कम्युनिस्ट क्रान्तिकारी भनिने शक्ति संसदवादी भासमा फसेपछी त्यसबाट उम्केर सशस्त्र संघर्षरुपी दुखकष्टको क्रान्तिकारी मार्गमा लागेको रेकर्ड यो सत्तरी बर्षे नेपाली कम्युनिस्ट पार्टी र आन्दोलनको इतिहासमा छैन । विश्वस्तरमै भन्ने हो भने पनि रुसी बोल्सेभिक कम्युनिस्ट पार्टी बाहेक अन्य कुनै शक्तिले संसदलाई उपयोग गर्दै क्रान्तिकारी सशस्त्र विद्रोहको क्रान्तिकारी संघर्षद्वारा संसदीय व्यवस्थालाई नै ध्वस्त गरेर क्रान्ती सम्पन्न गरेको विश्व कम्युनिस्ट आन्दोलनको पौने दुईसय बर्षको इतिहासमा पाइंदैन ।
हुँदा, हुँदा त कस्तोसम्म देखियो भने हिजो संसदवादको चर्को विरोध गर्ने र सशस्त्र संघर्ष गरेर रगतको खोलो बगाएर आएका शक्ति र व्यक्तिहरु अझ भनौं तिनका नेता र नायकहरु पनि संसदको क्रान्तिकारी उपयोग, अल्पकालीन उपयोग, तत्कालीन उपयोग, विशेष उपयोग आदि-इत्यादि गर्ने भनेर नै संसदीय अभ्यासमा सिद्धान्ततः समाहित हुन्छन् तर उनीहरुले संसदको उपयोगभन्दा संसदले वा संदसवादले उनीहरुलाई नै उल्टै संसदीय विकृती र विसङ्गतिमा क्रमशः डुबाउँदै पार्टी र क्रान्तिबाट विचलित र बदनाम गराएको र यसरी उनीहरु पुँजीवादी संसदवादी विचार, विधि, व्यवस्था र व्यवहारका विकृती र विसङ्गतिमा चुर्लुम्म डुबेर अन्ततः विभाजन, विघटन र विसर्जनमा पुगेको विचित्र विडम्बना छ ।
हुन पनि कुनै वस्तु पतन हुने, कुहिने र सड्ने प्रक्रियामा पुगेपछि अन्ततः त्यो पूर्णरुपले सिद्धिएरै गएजस्तै अथवा तल झर्ने मेसोमा लागे पछि कुनै वस्तु, व्यक्ती, शक्ति, प्रवृत्ती वा घटना-परिघटना त्यसको अन्तिम गन्तव्यमा पुगेरै छाड्छ । जसरी पहाडको चुचुरोबाट खस्दै गरेको एउटा ढुङ्गोको झर्ने वा गिर्ने प्रकृयाको अन्तिम टुङ्गो पहाडको तल पिंधमै, फेंदीमै, नदीमै वा खाल्डोमै पुगेपछि मात्र हुन्छ, त्यसरी नै कुनै वस्तु वा व्यक्ती-शक्ति, विचार-प्रवृत्ति वा घटना-प्रक्रिया बिगृने, पतन हुने, कुहिने वा सड्ने क्रममा पुगेपछी त्यो क्रम उसको पूरै अस्तित्व समाप्त नभएसम्म रुक्दैन । यो कुरा नेपालका कथित कम्युनिस्ट पार्टी, तिनका नीति र नेता अनि नेताका नियत र नियती अनि विचार र व्यवहारका सन्दर्भमा पनि हुबहु सत्य साबित भएको देखिन्छ ।
भनिन्छ, भोकाएकोले भेटायो भने एकै गाँसमा क्वाम्मै धेरै र छिटै नै खान्छ अर्थात् हसुर्छ । सायद यसै भएर हो कि हाम्रा सत्ताका, सरकारका, सदनका अर्थात् संसदवादी सिस्टम, संयन्त्र वा तिनका शिरका वा सेरोफेरोका आसेपासे र गासेदासे क्रान्तिकारीहरु पनि जसरी पनि खाऊँ, जे पनि खाऊँ, जतिपनी खाऊँ, जहिले पनि खाऊँ र जहाँपनी खाऊँ भनेर हतारो र चटारो गरेका ? आज यसरी हतारो र चटारो गरेर चल्ने-चोइटिनेहरुले ग्वामग्वामती खाएको देखेर खाने गोल्डेन चान्स गुमाएका तर त्यसैगरी खाने डाइमण्ड चान्स कुर्दै र कुर्लँदै गरेका कथित क्रान्तिकारी कम्युनिस्टहरुको भैलो र रोइलोले पनि यही खतरनाक संसदवादी आस र भासमै डुबेर उनीहरु कथित विधि-विधान, पद्धति-प्रक्रिया, नीति-नियम र कानूनी राज आदिको आसको भासमा डुबेर पूरै सिद्धिने त्रास सिर्जना गरेको प्रमाणित भएको छ ।
जसको नीति उही नेता र जसको विधि उसकै व्यवस्था भन्ने कुरालाई भने हाम्रा क्रान्तिकारीहरुले बुझ्न नसकेर होला नयाँ जोगीले बढी खरानी घसेपछी सद्दे जोगी वा अझ त्यो भन्दा पनि उम्दा जोगी ठहर्ने धृष्टता गरेझैं हालको सरकारी नेकपाभित्रको गुटहरुबीचको लखनउ लुटको लागि राजनीतिक-वैचारिक आवरणमा भएका कुटाकुट र फुटाफुट हाल आएर कानूनी र प्राविधिक जुटाजुटको यो अद्वितीय हास्यास्पद प्रकृयामा छन् । यसरी आज उनीहरु भ्रष्ट, दुष्ट, निकृष्ट, स्खलित र पतित प्रमाणित भएर संसदीय भासमै सास छोडेर कुहिएको लास हुँदैछन् ।
उपरोक्त दुखद र दर्दनाक विडम्बनालाई कसैले अर्थात् क्रान्तिप्रेमी कम्युनिस्टहरुले त “भिरबाट लड्न लागेको गोरुलाई `राम-राम´ भन्नुभन्दा अरु के गर्न सकिन्छ र ” भन्ने नेपाली उखानको स्मरण र उच्चारण गर्दै दुख मनाउ मात्र गर्छन् भने सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले त उनीहरुको त्यो गिर्ने वा ढल्ने र गल्ने वा सड्ने प्रकृयालाई छिटोभन्दा छिटो पूर्णतामा पुराई त्यस्लाई अन्तिम संस्कारस्वरुप दफनाउँदै त्यसकै मलको बलमा क्रान्तिरुपी बिरुवा रोपेर जल चढाउँदै हुर्काउने र फुल्ने-फलाउने गर्दछन् र गर्नु नै पर्दछ । यही नै नेपालका सबै सच्चा कम्युनिस्टहरुको क्रान्तिकारी आस र त्यसै अनुसारको क्रान्तिकारी व्यवहार यतिबेलाको अहं महत्वको भूमिका र दायित्व हो । क्रान्तिकारी मार्क्सवादी चेतना भया !!









































