काठमाडौं ।
कोरोना संक्रमणको दर उच्च भएसँगै सरकारले रातको समयमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको हो ।
गृहमन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
यही असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको दर दिनहुँ उच्च हुँदै गएको छ । यस्तो अवस्थामा सरकारले सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारेको जनाएको छ ।
सरकारले विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ ।
उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।
जारी पत्रमा अत्यावश्यक कामबहाहेक आफू रहेको आवास/कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ । रातिमा हुने हिँडडुल गर्नेको अनुगमन प्रहरीले गर्नेछ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।