काठमाडौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले भारतले लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमिमा गरेको हस्तक्षेपको भण्डाफोर गर्न अपिल गरेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकालले आज एक प्रेस विज्ञप्ती निकालेर भारतले गरेको हस्तक्षेपका विरुद्ध चौतर्फि विरोध तथा भण्डाफोर गर्न बामपन्थी देशभक्त प्रगतीशिल विद्यार्थी शिक्षक प्राध्यापक पत्रकार सुरक्षाकर्मी लगायत सबैलाई अपिल गरेका हुन् ।
अखिल (क्रान्तिकारी)ले भारतले हालै लिपुलेक लिम्पियाधुराको नेपाली भूभागमा सडक निर्माण गरेर उद्घाटन गरेको घटनाप्रती संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय हस्तक्षेत्र घीनलाग्दो र निन्दनिय भएको भन्दै संगठनले नेपाली भूमिमा भारतले ८० किलोमिटर सडक बनाइसक्दा पनि नेपाल सरकारले कानमा तेल राखेर बसेको भन्दै विरोध गरेको छ । ‘आफ्नो देशको स्वाधीनता र राष्ट्रिय अखण्डतामाथि यति ठुलो हस्तक्षेप हुँदा पनि सामाजिक फाँसीवादी दलाल ओली सरकार बेखबर बनेको अभिनय गरिरहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
संगठनले भारतीय शासकलाई आफ्नो विस्तारवादी साम्राज्यवादी नीति नेपालमा तत्काल बन्द गर्न चेतावनी दिएको छ ।