नेपाली समाजमा प्रचलित लोकोक्ति छ- रिसले आफू खा, बुद्धिले पर खा ! यस्तै एउटा “न्याउरी मारी पछुतो” भन्ने लोक कथा पनि छ । यी र यस्तै अन्य नेपाली वा विश्व साहित्य र समाजका घतलग्दा शिक्षाप्रद र उपदेशमूलक साहित्यिक-सांस्कृतिक सामाग्रीहरु हाम्रा पार्टी र राज्यका नेता-शासकहरुले नसुनेका र नजानेका छैनन् तर तिनको मूल्य, मर्म, ओज र गरिमालाई भने तिनले गुन्ने, मान्ने र लागू गर्ने अर्थात् बुझ्ने, बहन गर्ने र बदल्नेतिर लागेको त्यति पाइँदैन ।
अझ आफूलाई मार्क्सवादी बताउने र कम्युनिष्ट भन्न रुचाउने नेपालका राजनीतिक पार्टीहरुका शीर्ष पंक्तिका नेताहरुले त मार्क्सवादको गुदी भनेको “बुझ्नु र बदल्नु” हो भनी खुब भट्टाउँछन् तर खुद आफैले कि त बुझ्नै सक्दैनन्, किभने बुझेर पनि बूझ पचाउँछन् वा बहन गर्न र बदल्न चाहन्नन् अथवा सक्तैनन् । बुझ्न नसक्नु वा बुझेर बहन गर्न र लागू गर्न अर्थात् बुझाइ अनुसार आफू र अर्कोलाई (समाज र संस्कृतीलाई) समेत बदल्न कोसिस गर्दागर्दै पनि नसक्नु तिनका सीमा होलान् र त्यो स्वाभाविक पनि होला तर बुझेर बूझ पचाउनु वा बुझ्दाबुझ्दै पनि त्यस बुझाइलाई सही र इमान्दारीपूर्वक लागू गर्न न चाहनु बेइमानी हो, बदमासी हो र हो त्यही हो धोकाधडी, विश्वासघात र गद्दारी पनि ।
खैर जे होस्, सामान्यत: नेपाली राजनीतिक परिदृश्यमा र विशेषत: नेपाली वामपन्थी कम्युनिस्ट आन्दोलनमा एकता वा फुटका सन्दर्भमा वैचारिक विचलनदेखि व्यावहारिक विभाजन, विघटन र विसर्जनसम्मका घटना-दुर्घटनाहरु बग्रेल्ती छन् । यसो हुनुको वैचारिक कारण जे जस्ता भएपनि व्यावहारिक रुपमा यी शीर्षासनमा आसीन नेता-शासकहरुका संकीर्ण र स्वार्थी सोंच र सनक एउटा मुख्य कारणको रुपमा देख्न सकिन्छ ।
आग्रह, पूर्वाग्रह र मुढाग्रह अनि आवेग, आक्रोश, रिस र प्रतिशोधले भरिएको नेताहरुको चिन्तन अनि तत्काल, तीव्र र तिक्त विरोध, अवरोध र प्रतिरोधको भावावेश र चरित्र पनि आज पार्टी र आन्दोलनमा अनेकता र विभाजनका मूलमा रहेका कारण बनेका छन् । यिनै र यस्तै चिन्तन र चरित्रमाथी टेकेर नेपालका सच्चा देसभक्त र क्रान्तिकारी संघसंस्था र शक्ति-व्यक्ती वा नेता-नेत्रीहरु कसैलाई पनि सबल, सुदृढ, सक्षम र स्थायी हुन नदिने र सधै नेपाललाई अस्थीरता, अराजकता, अस्तव्यस्तता र अकर्मण्यतामा फसाएर आफ्ना स्वार्थहरु पूरागर्न सकिने भारतीय विस्तारवादी शासकहरुलगायतका साम्राज्यवादी शक्तिकेन्द्रहरुका कुदृष्टिहरुद्वारा भैरहेका निरन्तरका हस्तक्षेपहरुले पनि नेपालका शक्तिहरुमा आपसमा भ्रम, आशंका, अविश्वास र अन्तरविरोध बढ्ने र तिनै शक्तिकेन्द्रहरुको दलाल र दास बन्दै कतिपय नेताहरुले नै शक्तिपूजास्वरुप भक्तिस्तुती समेत गर्दै गरेका कारण पनि विचलन, विभाजन, विघटन र विसर्जन भएको समेत छर्लङ्ग नै छ ।
जेहोस्, यिनै र यस्तै कारणले गर्दा नै आज अत्यधिक नेपाली जनमत वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीको पक्षमा भएपनी र जनताले यिनीहरुलाई बारबार आफ्नो बलिदान वा मतदानबाट अत्यन्त ठूलो योगदान गरेर संघर्ष र सत्तामा शक्तिशाली बनाउँदै दुईतिहाइको एकलौटी सरकारसम्म पुराए पनि पार्टी र आन्दोलनमा टुटफुट र विभाजन आउनाले आज देस र जनताको यसप्रकारको हाल-बेहाल भएको छ भने कम्युनिस्ट नामक पार्टी र संगठन अनि तिनका कैयौ, नेताकार्यकर्ता र जनताको पनि यो कन्तविजोग भएको छ ! यसले गर्दा कतिपय नेताहरुलाई आज र कतिपयलाई भोलि आफूहरुले बुद्धि नपुराएर पछुतो भएको वा आफ्नै रिसइवी र बदलाभावले नै आफैलाई हानीनोक्सानी भएर “कौन पुछे खेसरीका दाल” जस्तो हुनुपरेको छ र अझै पनि पर्नेछ ।
त्यसैले होला रिसाएर फुटेका पार्टीहरु कालान्तरमा पछुताउँदै पुन: एकता गर्छन् । त्यो एकता विचार, राजनीती, संगठन, संघर्ष र संस्कृतिमा समान समझदारी नभै गरिएकोले भाँडभैलो र भद्रगोल भएर हाल-विहाल भएपछी पुन: फुट्न बेर लगाउँदैनन् ! यसरी के स्पष्ट हुन्छ भने अस्वाभाविक खुस वा रिसले हौसिएर वा हतारिएर अथवा हठात् र बलात् गरेको एकता वा विभाजन दुवै अस्थायी र अस्थीर हुन्छन् । यसरी जुटेका पनि फुट्छन भने फुटेका पनि जुट्छन् ! यस्ता जुट र फुटको खासै अर्थ र महत्व पनि हुदैन ! यसरी रिसले फुट्ने र इखले जुट्ने गरेको यो चक्र जबसम्म चलिरहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलन आफ्नो लक्ष-गन्तव्यमा पुग्न सक्दैन र आजसम्म नपुगेको पनि यस्तै कारणले गर्दा नै हो ।
नभन्दै लक्ष्यको नजिक पुगेको आशा गरिएको फेरिपनी रिसाएर फुट्ने र पछुताएर जुट्ने यो प्रकृया लक्ष्यको नजिक पुगेको आशा गरिएको डबल नेकपामा हालै आएको फुट र विप्लवसँग नेकपाका दुवै गुटले एकताको लागि गरेको प्रयास तथा विप्लवले पनि पछिल्लोपटक गैरक्रान्तिकारीको बात लगाउँदै आफैले लात हानेर हिंडेका उनै किरणसँग गरेको संयुक्त मोर्चा निर्माणका साथै भैरहेको पार्टी एकताको पहल यही पछुतोको परिणति त हैन भन्ने आशंका उत्पन्न भैरहेछ ।
स्मरणीय छ कि विवेकलाई गुमाएर खाली आवेग, आक्रोश र आक्रमणको आधारमा भए-गरेका वा हुने-गर्ने विभाजन अनि विचारलाई बिर्सिएर खाली पश्चात्तापको पीडामा जलेर आफ्ना आकांक्षा र आवश्यकतालाई आरक्षण गर्ने गरी भए-गरेका वा हुने-गर्ने एकता दुवै दमदार, दीगो, दह्रो र दीर्घकालीन देखिदैनन् ! त्यसैले रिसाएर फुट्ने वा पछुताएर जुट्ने गर्नु अघि फुट्ने वा जुट्ने पार्टी र नेताहरुका सिद्धान्त र व्यवहार, रणनीती र कार्यनीती, आदर्श र आवश्यकता, सोंच र संकृती अनि चिन्तन र चरित्र मिल्ने वा नमिल्ने निर्क्यौल गर्नु प्राथमिक र निर्णायक महत्वको कुरा भएकाले यतातर्फ ध्यानदिनु पर्छ कि भन्ने लाग्दछ ।
बुद्धी पलाया ! विवेक भया !
Recent Comments