राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । पार्टीबाट सामेल सबै मन्त्रीलाई फिर्ता बोलाइएको छ । सरकारबाट बाहिरिए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन भने कायमै रहेको सो पार्टीका सभापति रवि लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरबारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि रास्वपाबाट गृहमन्त्री भएका लामिछानेको नागरिकता विवादमा सर्वोच्चबाट फैसला भएपछि उनको मन्त्री पद र सांसद पद गुमेको थियो । सांसद पद गुमेपनि पुन नागरिकता लिएपछि गैरसांसदका रुपमा गृहमन्त्रीकै लागि रवि प्रधानमन्त्री प्रचण्ड लगायतका नेतासँग लविङमा थिए । तर प्रधानमन्त्री प्रचण्डले राहदानी विवाद कायमै रहेको र सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआइसकेकाले उनैलाई गृहमन्त्री बनाउन अस्वीकार गरेका थिए ।
आजको निर्णयानुसार शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि बाहिरिने भएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिने भएकी छन् ।