नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले वैज्ञानिक समाजवादी अर्थतन्त्रको जगमा टेकेर सञ्चालन गरिने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै जनहित अनुकूलताको राष्ट्रिय संरचना निर्माण गर्नसक्ने बताउनुभएको छ । वैज्ञानिक समाजवाद स्थापनाका लागि शान्तिपूर्ण बाटो जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्ने, जनता तयार भए पनि सरकार तयार भएन भने त्यसको वैकल्पिक बाटो पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन मकवानपुरले शनिबार आयोजना गरेको ‘राजनीतिक समस्याको समाधान : संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेकपा नेता शर्माले उक्त धारणा राख्नुभएको हो । कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, सेक्रेटरी वाटर, बुद्धिजीवी तथा अर्थविद् दीपक शर्मा, नागरिक सरोकार समितिका संयोजक तथा अधिवक्ता केशव गौतम, बौद्धिक मञ्च मकवानपुरका अध्यक्ष तथा बन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्राध्यापक विमलकेसरी पौडेल, वामपन्थी बुद्धिजीवी भरत दुलाल राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौँडाका प्रमुख कृष्ण घिमिरेलगायतको सहभागिता थियो ।
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन मकवानपुरका संयोजक गोपीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न विचारगोष्ठीको सञ्चालन सागर कँडेलले गर्नुभएको थियो ।