काठमाडौं ।
आगामी तीन बर्षसम्म नेपालको आर्थीक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरिएको छ । विश्व बैँकले जारी गरेको प्रक्षेपणअनुसार सन् २०१९ मा ७ दशमलव १ मा पुगेको आर्थीक वृद्धिदर २०२० मा १ दशमलव ५ देखि २ दशमलव ८ मा ओर्लने विश्वबैंकको चेतावनी छ ।
कोरोना संकटका कारण विश्वको अर्थतन्त्र नै ओरालो लाग्ने छ । त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्नेछ ।
नेपालको आर्थीक वृद्धिदर सन् २०२१ मा १ दशमलव ४ देखि २ दशमलव ९ पुग्ने तथा २०२२ मा २ दशमलव ७ देखि ३ दशमलव ६ सम्म पुग्ने आँकलन गरिएको छ ।
सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ ।
यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।
विश्व बैंकका अनुसार भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ । माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।
लगानी आकर्षित गर्दै कोरानाको असर कम गर्न प्रभावित मुलुकका सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव विश्व बैंकले दिएको छ ।