दश वर्षसम्म शसस्त्र युद्धमा होमिएका माओवादीका पूर्व सेनाहरु अहिले पनि शरीरमा गोलिका छर्रा लिएर बाँचिरहेका छन् । सेना समायोजनका बेला बहिर्गमनका परेकाहरु न त अहिले उपचार गरेर छर्रा निकाल्न सक्छन् न त छर्रा सँगै जिउन सजिलो छ ।
“सिन्धुपाल्चोकको चौतारामा व्यारेकमै हान्न जाने क्रममा घाइते भएको हो । सानातिना भिडन्तमा शरीरमा परेका गोलिका छर्रा कति त आफैँ चिरचार गरेरै निकालिन्थ्यो कति शरीरमै हुन्थे, यस्ता घटना कति सम्झेर साध्य हुन्छ र यो दायाँ आखाँको छेउमा छर्रा छ ।”
पूर्वजनमुक्ती सेना कर्ण बहादुर आग्रीले आफ्नो युद्धकालको समय सम्झँदै भने । रोल्पा करेती स्थायी घर भएका आग्रीलाई ती लडाईँहरु सम्झँदा विरक्त लाएर आउँछ । “०५८ सालमा घोराहीमा पनि उस्तै भिडन्त भयो । मकवानपुरको भिडन्त एकदम डरलाग्दो थियो । त्यती बेलाकै घाउ हो यो ।” उनले खुट्टाको घाउ देखाउँदै भने । “मान्छे हेर्दै डराउँछन यो घाउ देखेर आफूले पालेर बस्नुपरेको छ ।” उनले लामो सास फेरे ।
उनले मकवानपुर घटना वर्णन गर्न थाले, “मकवानपुरको फापरबारीमा भिडन्त थियो, रेञ्जर फोर्स सँग नेपाली सेनाको । त्यतिबेला हामी ४ जना मात्रै गएका थियौँ । मसँग गएका ३ जना साथी त त्यहीँ सहिद हुनुभयो । म मात्र घाइते भएर फर्केँ । साथीहरु त्यहीँ ढल्नु भो म के गरुँ कसो गरुँ भए । साथीहरुलाई त्यहीँ छोडेर भागेँ । त्यसरी बाँचेर फकेर्को ।” उनका आँखा रसाएका थिए ।
तत्कालीन माओवादी सशस्त्र युद्धमा ८, ९ कक्षा पढ्दै गर्दा २०५५ सालमा देशका लागि भनेर युद्धमा होमिए आग्री । युद्धताका बम र बारुद्धसँग खेलेका उनलाई अहिले शरीरभरिका गोलिका छर्राले पोलिरहन्छन् ।
“दायाँ आँखाको छेउमा भएको छर्राले हेर्दा पोल्छ आँखाबाट आँसु खसिरहन्छ । जब गर्मीले पसिना आउँछ अनि शरीरभरिका छर्रा सर्ने रैछन्, अचाक्ली भएर पोल्छ ।” उनले बेथा पोखे ।
“दाहिने कोखामा छर्रा छ छातिमा ठ्याक्कै अगाडी नभएपनी साइडबाट लागेको गोलिको घाउ यी, बाहिरैबाट देखिन्छ भित्र छर्रा छन् ।” उनले घाउहरु देखाउँदै भने ।
देशैभर पार्टीको निर्देशनअनुसार युद्ध लडेका उनी शान्तिप्रक्रिया सुरु भएपछी चितवनको शक्तिखोर शिविरमा पुगे । तर सेना समायोजनका बेला शिविरबाट बाहिरिएपछि जाने कहाँ रोल्पा जाँउ, गएर गर्ने के ? शरीरभरिका छर्रा निकाल्नु छ । साथमा युद्धकालमै जनवादी विवाह गरेकी श्रीमती छ अनि काखकी छोरी । उनी डेरा खोज्दै चितवनकै रत्ननगर जमुनापुर चोक पुगे । युद्धकालमै घाइते भएकी श्रीमतीसँग दिन कटाइरहेका उनलाई समस्याले थिचिरहेको छ । “दुई छोरा छोरी छन् हामी दुई जेनतेन पालिएका छौँ ।” उनले रुन्चे हाँसोमा भने ।बहिर्गमनका बेला सरकारले दिएको पाँच लाख उनलाई निल्नु न ओकल्नु भयो ।
“यस्तै छ समस्या त ५ लाख लिएर निस्क्या हो, हरको लुगो बाहेक अरु एक थोक थिएन, कोठाभाडा तिनुपर्छ, पेटमा अन्न हाल्नैपर्ने, हेर्दा सुन्दा पाँच लाख राम्रै हो । केही नभएका हामी नाङ्गालाई त नहुने रैछ हजुर ।” उनको दुखेसो तेर्सियो ।
सोधेँ “देशका लागि यत्रो दुःख गर्नुभयो अब देशले हेर्ला नि त ?” उनले पुलुक्क मेरो अनुहार हेरे । खै के सोचेर हो । उनी केही बोलेनन् म फेरि बोल्न थाले, “राज्यले नगरे पनि पार्टीले गर्ला ?”
यतिबेला भने उनले मेरो प्रश्न भुईंमा खस्न दिएनन्, “राज्यले उपचार गर्ला भन्ने त परै जाओस्, अब पार्टीले पनि के गर्ने हो र खै ? आफ्नै पार्टी सरकारमा हुँदा त केही भएन । अहिले अर्काको पार्टी सरकारमा छ । हामीलाई के वास्ता ? कस्ले गर्छ हिजो टाउकाको मुल्य तोकिएकाको उपचार ?” उनी अलि कड्किए ।
“अब जे भयो भयो सामान्य जीवन बिताउँछु भन्न नी गाह्रै रैछ ।” अरु त अरु युद्धबाट फर्किएको माओवादी लडाकुलाई समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेको दुुःखेसो उनले पोखे ।
“जसले पनि हिजोको इतिहास हेर्छ, हिजो लडेको, जंगल बसेको भन्छ, ए यो त माओवादी लडाकु हो भन्छन्, हेराइ नै फरक हुँदो रैछ, अझ अर्काको गाउँ ठाउँमा छु ।” उनी नरोकिई भन्दै थिए, “तिमीहरु द्धन्द्धकालमा यस्तो गरेको उस्तो गरेको भन्छन् ।”
उनलाई अब राज्यले कमसेकम युद्धकालमा घाइते अपांग भएका र समस्यामा बाँचिरहेकाहरुलाई उचित सम्बोधन गरोस् भन्ने चाहना छ । आफूभन्दा पनि समस्यामा भएका साथीहरुलाई पार्टी र राज्यले वेवास्ता नगरोस् उनी चाहन्छन् ।
अब त शान्ति प्रक्रियामा देश छ, संविधान बनेको छ, संघीय राज्य बनेको छ, हिजोका दिनमा देशका लागि भनेरै लडेको हो हामी । यती बुझेर युद्धकालका घाइतेलाई उचित उपचार, सहिद परिवारलाई व्यवस्थापन गरे हुन्थ्यो ।” उनी कुनै व्यक्तिका लागि नभई देशकै लागि लडेपनि राज्यबाट उपेक्षित बनेकोमा गुनासो गर्छन् । “बरु यो पाँच लाख नभएर कुनै सीप र रोजगारीको ग्यारेन्टी राज्यले गर्न सकेको भए जाती हुन्थ्यो ।”
उनले आफ्ना साथिहरु सम्झे, “म त हिँड्न सक्छु, बोल्न सक्छु, धेरै साथीहरु बोल्न हिड्न सक्नुहुन्न, उहाँहरुलाई पुरै स्याहार गर्न एउटा मान्छे नै चाहिन्छ । शरीरभरि घाउ नै घाउ र गोलीका छर्रा छन् । कति साथीका निकाल्नै नमिल्ने गरी छर्रा छन् । अब गर्ने के उपचार गर्न सकिन्न ।”
कर्ण मात्र होइन नेपालमा युद्धकालका हजाराैँ घाइते शरीरभरि छर्रा बोकेर बाँचिरहेका छन् । चितवनमा मात्रै ३ सय पूर्व लडाकु मध्ये करिब १ सय जनाको शरीरमा गोलीका छर्रा छन् । निकालाैँ पुग्ने पैसा छैन् ननिकालौँ कतिन्जेल यसरी बाँच्नु ? वर्षौ वर्ष युद्धमा होमिएर देशका निम्ति लडेकाहरुको घाउमा राज्यले मल्हम लगाओस् ।