पत्रपत्रिका ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका केही संक्रमित सम्पर्कबिहिन छन् । बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।
केही संक्रमितले मोबाइल अफ गरेको र केही गलत नम्बर रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालालाई उदृत गर्दै खबरमा जनाईएको छ ।
संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथाममा स्वयं व्यक्ति नै सचेत र सजग हुनुपर्ने बताए ।