प्रपोजल शर्मा
म यो देशको नेता हेर्नुस्
राष्ट्रियताको भाषणमा रमाएको छु
किन बचाइ राख्नु अब देश
मेरो पुस्तौंलाई पुग्ने धन कमाएको छु।
केही भारतले खायो बाँकी
अमेरिकालाइ दिने हो
एमसीसी अनुमोदन गर्नुपर्छ
जनतालाई जेसुकै होस्
हामीले पैसा लिने हो।
अझै कमाउने हो
सकेसम्म मोज मस्ति गर्ने हो रमाउने हो
नेपाल त दूध दिने गाई न हो
दूध खाँदै विदेशीको हात समाउने हो ।
आफैँ खाने हो
आफ्नालाइ खुवाउने हो
जनतालाई खुवाएर
आखिर के पाउने हो ?
यो देशमा मात्रै कति घुम्नु
ठूल ठूला देश पनि घुम्ने हो
देश बेचेको पैसाले
चरम आनन्द लिँदै रम्ने हो ।
किन जोगाउने नेपाल !
किन बचाउने नेपाली
अब नेपाललाई नि सिरिया बनाउने हो
जनता मरे मर्छन्
आफ्नो सन्तान अमेरिका पठाउने हो।
किन जोगाउनु पहाड
किन जोगाउनु खनिज
सबै नष्ट गर्ने हो
डाँडाकाँडा खारेर
विद्युत लाइन बिस्तार गर्ने हो ।
किन उन्नती प्रगती गर्नु
देशलाइ बरु घाटामा पर्ने हो
अमेरिकी सेना ल्याउने हो
नेपाली सेनाको मेख मार्ने हो।
सधैँ कति गर्ने
साना मालिकहरुको सँगमात्रै साथ
अब त मिलाइन्छ ठूला ठूला
मालिकहरुसँग हात।
चिन्ता नगर अमेरिकी पैसो आउँछ
सुख पाइन्छ भनी लगाइन्छ नारा
त्यो त सम्झिने हो जनताहरु
चल्छ नेपालमा अब अमेरिकाको पारा।
हामीले किन गर्ने देशको विकास
जे गर्छ उसैले गर्छ
अब त नेपालमा केही गर्न पनि
अमेरिकालाइ सोध्नुपर्छ।
खुसी हुनुपर्छ नाच्ने हो नचाउने हो
हाँस्ने हो हँसाउने हो
नेपाली गीतसङ्गीत त्यस्तै हो
अब अमेरिकी गीत बजाउने हो ।
किन गर्छौ विद्रोह जनता
हामीले कमाउने बेलामा
चिन्ता लिनुहुँदैन अब
अमेरिकी सेनाको
परेड हेर्दै रमाउने बेलामा ।
कोहि केही नभन
जनताको पालो आउँछ
देशले कोल्टे फेर्छ
अमेरिका हाम्रो साथमा छ
जे भए नि चिन्ता छैन्
अब कस्ले के गर्छ।
चिन्ता छैन केही अब
अमेरिकाले चलाओस् देश
छिमेकीहरुलाइ ढोग्नुभन्दा
एउटैको दास बनेको बेस ।