काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने काम नतिजामुखी बनाउन निर्देशन दिनुभएको छ । नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको प्रष्ट पार्नुभयो । उहाँले मन्त्रालय मातहत निकायलाई नतिजामुखी काममा ध्यान दिन निर्देशन दिनुभयो ।
मन्त्री तामाङले पर्यटन बोर्डलाई पनि प्रभावकारी ढङ्गले पर्यटन प्रवर्द्धनका कार्य अगाडि बढाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरूप अगाडि बढ्नुपर्ने भन्दै उहाँले रचनात्मक कार्यका लागि सरोकारवाला सबैसँग सहकार्य गरिने बताउनुभयो ।
“केही नीतिगत कुरा रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन्”, उहाँले भन्नुभयो ।









































